अम्पायरको यस्तो त्रुटिपूर्ण निर्णय, जसका कारण न्यूजिल्याण्डले गुमायो विश्वकप

काठमाडौं, असार ३० । अत्यन्त रोमान्चक पाराले विश्वकप क्रिकेटको १२ औं संस्करण सम्पन्न भइसकेको छ । क्रिकेटको अभिभावक मानिने इङ्ल्याण्ड न्यूजिल्याण्डलाई हराउँदै पहिलो पटक विश्वविजेता बन्न सफल भएको हाे । यो विश्वकपको फाइनल खेल यसको रोमान्चकताका लागि क्रिकेटप्रेमीहरू माझ सधैँ सम्झन लायक  भयाे ।

क्रिकेट विश्वकपमा फाइनल खेलको नतिजा सुपर ओभरसम्म गएको यो पहिलो पटक हो । दुवै टीमले स्कोर बराबरीमा पुऱ्याएपछि खेलको नतिजाका लागि सुपर ओभर  खेलाइने गरिन्छ । तर, सुपर ओभरमा पनि खेलको रोमान्च कम भएन । त्यसमा पनि दुवै टीमले बराबर स्कोर बनाएपछि बढी बाउन्ड्री हानेको आधारमा इङ्ल्याण्डलाई विजेता घोषित गरियो । तर, भर्खर मात्र विश्वविजेता बनेको खुशी साँटासाँट गर्दै गरेको इङ्ल्याण्डको जीतमाथि भने धेरैले प्रश्न उठाउन थालेका छन् ।

क्रिकेटका नियमहरूलाई मात्र आधार मान्दा पनि इङ्ल्याण्डलाई विश्वविजेता बन्न उसको खेलले भन्दा पनि अम्पायरहरूका त्रुटिपूर्ण निर्णयहरूले बढी सघाएको चर्चा हुन थालेको छ । यस्तै एउटा परिघटना इङ्ल्याण्डको पारीमा ५०औँ ओभरमा भएको थियो । घरेलु टीमलाई ३ बलमा ९ रन आवश्यक थिए । अन्तिम ओभरको चौथो बलमा बेन स्टोक्सले मिड विकेटतर्फ ‘सट’ खेले र चाँडो-चाँडो एक रन लिएर दोस्रो रनको लागि कुदे । त्यही बेला गुप्टिलको ‘थ्रो’ उनको ब्याटमा लग्यो र बल बाउन्ड्री पार पुग्न गयो । यसले गर्दा इङ्ल्याण्डलाई सित्तैमा ४ रन बढी मिल्यो जुन खेलको नतिजाका लागि समेत निर्णायक बन्न पुग्यो ।

यस पटक बेन स्टोक्सले दौडेर २ रन पूरा गरे भने ४ रन उनीहरूलाई ओभर थ्रो बापत मिल्यो । सुरुमा अम्पायरहरू यस्तो अवस्थामा कति रन दिने भन्नेमा दुविधामा थिए । पछि दुवै अम्पायरले एकापसमा कुरा गरेर इङ्ल्याण्डलाई ६ रन दिए । अब उसलाई २ ओभरमा मात्र ३ रनको अवास्श्यकता रह्यो ।

क्रिकेटको नियम संख्या १९.८ अनुसार यदि बल ‘ओभरथ्रो’का कारण बाउन्ड्री पार जान्छ भने (चाहे त्यो भवितव्यवश ब्याटमै लागेर किन नहोस्) दौडेर प्राप्त गरेका रनमा ४ रन जोडिने छन् । ओभरथ्रो र फिल्डरले जानीजानी गरेको गल्तीका कारण बल सीमारेखा पारी गएको खण्डमा त्यसको फाइदा विपक्षी टीमलाई दिइने हुन्छ ।

रन लिँदा अतिरिक्त रनको लाभ ‘थ्रो’ हुनु अगावै दौडेर रन पूरा गरेको खण्डमा मात्र मिल्ने हुन्छ अर्थात यस दुवै ब्याट्सम्यानले रन लिने क्रममा एक अर्कालाई पार गरेको अवस्थामा मात्र यस अतिरिक्त रनको लाभ लिन सकिन्छ । तर गप्टिलले ‘थ्रो’ गर्ने बेलासम्म बेन स्टोक्स र आदिल रसिदले दोस्रो रनका लागि दौडेर एकअर्कालाई पार गरेका थिएनन् । यदि नियम हेर्ने हो भने उक्त समय इङ्ल्याण्डलाई ६ नभई ५ रन मात्र मिल्नु पर्ने थियो ।

म्याच समाप्तिपछि भएको पुरस्कार वितरण समारोहको क्रममा विजेता टोलीका कप्तान इयान मोर्गनले सुपर ओभर खेल्ने ब्याट्सम्यानहरूलाई यस जीतको श्रेय दिए । उता न्युजिल्याण्डका कप्तान केन विलियम्सले भने अन्तिम ओभरको चौथो बलमा अतिरिक्त ४ र रन जानु दुर्भाग्यपूर्ण रहेको बताए । उनले यस्तो घटना विश्वकपमा दोहोरिनु हुन्न । स्टोक्सले पनि आफूलाई यस घटनाको कारण जीवनभरि अफसोच रहने बताए । एजेन्सी

कमेन्ट गर्नुहोस्