विश्वकपमा हारपछि भारतीय कप्तान कोहलीको पद गुम्ने सम्भावना

काठमाडौँ, असार ३० । विश्वकप क्रिकेटका सेमिफाइनलका खेलहरू सम्पन्न नहुँदासम्म यस पालिका दुई प्रमुख दाबेदार टीम मानिएका भारत र अस्ट्रेलियाले सेमिफाइनलमै चित्त बुझाउनु परेपछि हार्कोसमिक्षा सुरु भएको छ ।

यसैबीच न्युजिल्याण्डविरुद्ध सेमिफाइनलमा हार व्यहोरेको भारतीय टीममा खेलाडीहरूको फेरबदल हुने संकेत देखिएको समाचार भारतीय मिडियामा आएको छ । भारतको क्रिकेट नियामक निकाय बिसिसिआई टीमका सदस्य र नेतृत्वबारे पुनर्विचार गर्नुपर्ने अवस्थामा पुगेको भारतीय समाचार मध्यमहरूले जनाएका छन् ।

यस फेरबदलमा भारतीय टीमको तीन ओटै प्रारूपका कप्तान रहेका विराट कोहलीले समेत आफ्नो पद गुमाउन सक्ने आकलन गर्न थालिएको छ । बिसिसिआईका एक अधिकारीलाई उद्धृत गर्दै समाचारमा भनिएको छ, “विराट कोहलीलाई हटाएर रोहित शर्मालाई एक दिवसीय र टि-ट्वेन्टीको कप्तान बनाइन सक्छ । टेस्टको हकमा भने विराटको पद यथावत रहने बताइएको छ ।

बिसिसिआईले अर्को वर्ष अस्ट्रेलियामा हुने टी-ट्वेन्टी विश्वकप र भारतमा २०२३ मा हुने एकदिवसीय क्रिकेट विश्वकपका लागि रोहित शर्मालाई भारतीय टीमको नेतृत्व दिने मानसिकता बनाएको बताइन्छ ।
उसरी पनि कोहलीको अनुपस्थितिमा हाल भारतीय टीमका उपकप्तान रहेका शर्माले नै टीमको नेतृत्व गर्ने गरेका छन् । गत वर्ष उनकै नेतृत्वमा भारतले एसिया कप हात पारेको थियो । शर्मा आइपिएलमा मुम्बई इन्डियन्सको नेतृत्व सम्हाल्ने गर्छन् । उनको नेतृत्वमा मुम्बईले चार पटक आइपिएलको उपाधि हात परिसकेको छ ।

बिसिसिआईले यस अघि पनि दुई कप्तान सिद्धान्त अपनाई सकेको छ । सुरुमा महेन्द्र सिंह धोनी एकदिवसीय टीम र टी-ट्वेन्टीका कप्तान हुँदा टेस्ट कप्तान अनिल कुम्बले थिए । पछि पनि धोनीले टेस्ट क्रिकेटबाट सन्यास लिँदा टेस्ट टीमको नेतृत्व विराट कोहलीलाई दिइएको थियो ।

एजेन्सी

कमेन्ट गर्नुहोस्