प्राविधिक गडबडीपछि भारतको महत्वाकांक्षी अन्तरिक्ष परियोजना स्थगित

काठमाडौँ, असार ३० । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो)ले एउटा महत्त्वाकाङ्क्षी अन्तरिक्ष परियोजना सुरु हुनु एक घन्टाभन्दा कम समयअघि प्राविधिक कारणले स्थगित भएको जनाएको छ।

परियोजनाअन्तर्गत चन्द्रयान-२ लाई पहिलो पटक अन्तरिक्षको दक्षिणी ध्रुवमा अवतरण बताइएको थियो।

इसरोका अनुसार चन्द्रयान-२ प्रक्षेपण गर्नु ५६ मिनेटअघि प्रक्षेपण समयको गन्ती रोकिएको थियो।

अन्तिम समयमा प्राविधिक समस्या उत्पन्न भएपछि अत्यन्त सावधानी अपनाउँदै प्रक्षेपण रोकिएको इसरोले जनाएको छ।

के यो यसको लक्ष्य?

भारतको आन्ध्रप्रदेश राज्यस्थित श्रीहरिकोटा अन्तरिक्ष केन्द्रबाट चन्द्रयान-२ लाई सोमवार स्थानीय समयानुसार बिहान २ बजेर ५१ मिनेटमा प्रक्षेपण गर्ने तय गरिएको थियो।

झन्डै १५ करोड डलर खर्च गरिएको उक्त परियोजनाअन्तर्गत चन्द्रयान-२ चन्द्रमाको दक्षिणी ध्रुवमा उतारिने पहिलो अन्तरिक्षयान हुने भारतको अपेक्षा थियो।

यो खासगरी चन्द्रकम्पको मापन र चन्द्रमाको सतहमा रहेको पानी र खनिज पदार्थ आदिको खोजीमा केन्द्रित हुनेछ।

यदि यो परियोजना सफल भए चन्द्रमाको सतहमा अवतरण गर्ने भारत चौथो देश हुनेछ।

अमेरिका, चीन र पूर्व सोभियत सङ्घ यसअघि चन्द्रमामा पुगिसकेका छन्।

के हुन् यसका विशेषता?

भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठनका प्रमुख के सिभानले यो परियोजना अहिलेसम्मकै सबैभन्दा कठिन रहेको बताएका छन्।

चन्द्रयान-२ भारतीय अन्तरिक्ष कार्यक्रमका लागि एकदमै महत्त्वपूर्ण भएको ठानिएको छ।

त्यसैले पनि त्यसको प्रक्षेपणका लागि राष्ट्रपति रामनाथ कोविन्द प्रक्षेपण गरिने स्थल रहेको श्रीहरिकोटा पुगेका थिए।

चन्द्रयान-२ प्रक्षेपण गरेको झन्डै दुई महिनामा ३.८४ लाख किलोमिटरको यात्रा पार गरेर चन्द्रमामा पुग्नेछ।

भारतले यो परियोजनामा आफ्नो सबैभन्दा शक्तिशाली रकेट जियोसिन्क्रोनस स्याटलाइट लन्च भेहिकल मार्क तेस्रो प्रयोग गर्दैछ।

यसको तौल ६४० टन रहेको छ भने उचाइ १४४ फिट अर्थात् चौथतले भवन बराबार रहेको छ।

अन्तरिक्षयानको तौल झन्डै दुई हजार तीन सय ८० किलो छ र यसमा तीन भिन्न भाग छन् – अर्बिटर, ल्यान्डर र रोभर।

यो परियोजनाको विशेषता भनेको यी तिनैवटा भाग भारतमै बनेका हुन्।

अर्बिटरको आयु एक वर्षको हुन्छ र उसले चन्द्रमाको सतहको तस्बिर लिन सक्छ।

विक्रम नाम दिइएको ल्यान्डरले चाहिँ चन्द्रमामा माटोको विश्लेषण गर्ने उपकरण बोकेको छ।

आफ्नो १४ दिने जीवनकालमा प्रज्ञान नाम गरेको रोभरले ल्यान्डरबाट झन्डै आधा किलोमिटर यात्रा गर्न सक्छ। सङ्कलन गरिएका सूचना र तस्बिरलाई त्यसले विश्लेषणका लागि पृथ्वीमा पठाउँछ।

“रोभरले काम थालेसँगै चन्द्रमाको सतहबाट पहिलो सेल्फी खिच्न सक्ने भारतले अपेक्षा गरेको छ,” डाक्टर सिभनले भने।

प्रक्षेपण कहिले?

भारतले चाँडै प्रक्षेपणको नयाँ मिति घोषणा गर्ने बताएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशको अन्तरिक्ष कार्यक्रमको अग्रसरता लिएका छन्।

तर आलोचकहरूचाहिँ देशमा भएको भोकमरीलाई पहिला सम्बोधन गरिएको हेर्न चाहन्छन्।

चन्द्रमामा पुग्ने भारतको पहिलो परियोजना सन् २००८ मा सम्पन्न भएको थियो।

चन्द्रयान-१ भने चन्द्रमाको सतहमा अवतरण भएको थिएन, तर उसले रेडारको प्रयोग गरेर चन्द्रमामा पानीबारे पहिलो र निकै बृहत् खोज गरेको थियो। बिबिसी

 

कमेन्ट गर्नुहोस्