सकियो धनगढी उप–महानगरको नगरसभा, संरचना आफै भत्काउनेदेखि उत्कृष्ट करदातालाई सम्मान

कैलाली, असार ३० । धनगढी उप–महानगरपालिकाको चौथो नगरसभा सोमबार सम्पन्न भएको छ । उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले नगरसभालाई सफल बनाउन सहयोग गर्ने नगरसभा सदस्य, कर्मचारी, आम नगरबासी तथा संचारकर्मीलाई धन्यवाद दिँदै नगरसभा सम्पन्न भएको हो । नगरप्रमुख वडले अब कार्यक्रमको तयारी तथा कार्यान्वयनका लागि निरन्तर छलफल तथा अभ्यासमा जुट्न नगरप्रतिनिधीलाई निर्देशन दिए ।

उप–महानगरपालिकाको आर्थिक बर्ष २०७६÷०७७ को बार्षिक नीति, कार्यक्रम तथा बजेट आइतबार सर्वसम्मत रुपमा पारित गरिएको थियो । असार ८ गतेबाट उप–महानगरपालिकाको चौथो नगरसभा सुरु भएको थियो । धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशिला मिश्र भट्टले पेश गरेको बार्षिक नीति, कार्यक्रम तथा बजेटमा नगसभा निरन्तर सदस्यले छलफल गरेका थिए । छलफलमा नगरसभाका ७० जनाले भन्दा बढीले छलफलमा भाग लिएका थिए ।

उप–प्रमुख भट्टले असार ८ गते नगरसभामा १ अर्ब ५८ करोड ४८ हजार बजेट पेश गरेकी थिइन् । जसमध्य चालुतर्फ ७६ करोड ३६ लाख ४२ हजार १६६ रुपियाँ ३८ पैसा रहेको थियो । पुँजीगततर्फ ८१ करोड, ६८ लाख ५ हजार ८ सय ३३ रुपैयाँ ६२ पैसा रहेको थियो । नगरपालिकामा कार्यान्वयन हुने तर रातो किताबमा समावेश गर्न नपर्ने अनुदान तर्फको ५७ करोड ४२ लाख यस बजेटमा नसमेटिएको बताइएको छ । यस अघि अनुदानको अनुमानित रकमलाई पनि बजेटमै जोडर राख्ने प्रावधान थियो ।

नगरको नीति कार्यक्रम तथा बजेट पूर्वाधार विकासमा सुधारिएको सडक, कृर्षिमा आधुनिकिकरण तथा ब्यवसायिकरणलाई जोड दिएको छ । शिक्षा क्षेत्रमा गुणस्तर ल्याउने, गुणस्तर तथा सर्वसुलभ स्वास्थ्य सेवामा सुधार, सूचना प्रविधी तथा सञ्चारमा विकास, उद्यम र सहकारीको विकास, मानव संशाधन र सामाजिक विकास, पर्यटन प्रवद्र्धनको क्षेत्रमा बिशेष जोड, सामुदायिक बनको संरक्षण तथा ब्यबस्थापन र प्राकृतीक बिपद् तथा पूर्व तयारी, राहत वितरण, पुर्नस्थापन, पुनःनिर्माणलाई प्राथमिकतामा राखेको छ ।

कषितर्फ जैविक खेतीलाई प्रोत्साहन गर्ने, बगरखेतीलाई प्रोत्साहन गर्ने, एक घर दुई बिरुवा कार्यक्रमलाई निरन्तरता दिने, वडा नं १२ मा द्धारिका देवी कृषी अनुसन्धान केन्द्र स्थापना गर्ने लगायतका कार्यक्रम समावेश गरिएका छन् । पशु विकासतर्फ छाडा पशुचौपयामा भ्याक्सीनेशन, पशुको नश्ल सुधार, पशु विमा लगायतका कार्यक्रम समेटिएका छन् । पर्यटन विकासतर्फ कैलाली नाला, सुकुटी नाला, मोहना नदी किनारमा साइकल ट्रयाक निर्माण गर्ने, धनगढीका पर्यटकीय स्थल जोड्न खरिडोर तयार पार्ने, धनगढीका तालतलैयाको विकास, संरक्षण तथा पर्यटन प्रवद्र्धनका लागि काम गर्ने, भादागाउँ होमस्टेको पवद्र्धन गर्ने लगायतका कार्यक्रम रहेका छन् ।

सामाजिक विकासतर्फ वालबालिका किशोर–किशोरीसँग उप–मेयर कार्यक्रम, शिक्षातर्फ असहाय र बिपन्न संग मेयर कार्यक्रम, विद्यालयको पहुँच भन्दा बाहिर रहेका बालवालिकालाई ‘झिकाउ, टिकाउ र सिकाऊ’ कार्यक्रम सञ्चालन गर्ने भनिएको छ । नगरवासीका मागहरुलाई स्रोत–साधनले भ्याएसम्म समेट्ने प्रयत्न गरिएको छ ।

संरचना आफै भत्काउने देखि उत्कृष्ट करदातालाई सम्मान
धनगढी उप–महानगरपालिकाले सडक क्षेत्रमा पर्ने आफ्नो संरचना आफै भत्काउनेदेखि नगरका उत्कष्ट करदातालाई सम्मान गरेको छ । सोमबार चौथो नगरसभा समापन कार्यक्रममा सडक क्षेत्रमा परेको संरचना आफै भत्काएर विकासमा सहयोग गर्ने सचेत नागरिकको रुपमा धनगढी उप–महानगरपालिका–२ की डम्बरा देबी भट्ट र धनगढी उप–महानगरपालिका–१ एलएन चौकका प्रकाश जंगबहादुर स्वाँरलाई सम्मान गरेको छ । उनीहरुलाई दोसल्ला र कदरपत्रका साथ नगर प्रमुख नृपबहादुर वड र उप–प्रमुख सुशिला मिश्र भट्टले सम्मान गरेका थिए ।

त्यसैगरी धनगढी उप–महानगरपालिकामा सबैभन्दा बढी कर तिर्ने ब्यक्तिको रुपमा किशोर सिलवाल र नियमित कर तिर्ने ब्यक्तिको रुपमा अन्नपूर्ण देखि गुप्तालाई सम्मान गरिएको छ । धनगढी उप–महानगरपालिका–६ को वडा कार्यालय भवन निर्माणका लागि जग्गा प्रदानगर्ने धनगढी उप–महानगरपालिका–६ का अशोक पन्तलाई कदरपत्र र दोसल्ला ओढाएर नगरसभामा सम्मान गरिएको धनगढी उप–महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रशाद सापकोटाले बताए ।

उप–महानगरपालिकाका १९ वटै वडाहरु मध्य सबैभन्दा बढी राजश्व उठाउने वडा नं ४ का वडा अध्यक्ष दिपक कुमार थापा क्षेत्रीलाई दोसल्ला र कदरपत्रका साथ सम्मान गरिएको छ । उप–महानगरपालिकाले आन्तरिक लेखा परिक्षण शाखाका आन्तरिक लेखा परिक्षण सहायक हेमराज भण्डारी, वडा नं १ की लेखापाल कमला चन्द, प्रशासन शाखाका खरिदार महेश प्रसाद दाहाल, योजना शाखाका एसिष्टेन्ड सव ईन्जिनियर निर्मल कुमार देउवा, स्वास्थ्य शाखाका अनमी पुष्पा ओझा, बारुणयन्त्र इकाईका काशीराम अर्याल, सरसफाई शाखाका पुष्पा भण्डारी, कार्यालय सहयागी भोजराज भट्ट, छोटुलाल चौधरी, र टेकबहादुर कामीलाई सम्मान गरेको छ ।

कमेन्ट गर्नुहोस्