Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

कोट र टाइ नलगाएको भन्दै प्रिन्सिपलले कुटे शिक्षक

भोजपुर, असार ३० । सदरमुकामस्थित सगरमाथा इङ्लिस बोर्डिङ्ग स्कूलका एक शिक्षकलाई आफ्नै विद्यालयका प्रिन्सिपलले कुटपिट गरेका छन् । आइतबार विद्यालयमा टाइ र कोट नलगाएको निहुँमा कुटपिट गरेको पीडित शिक्षक अतित अधिकारीले बताए ।

आइतबार विद्यालयको पहिलो त्रैमासिक परिक्षाको नतिजा प्रकाशित गर्ने दिन थियो । ‘पढाइसकेपछि म स्टाफ रुममा टाइ र कोट झुण्ड्याएर जान्थे भोलिपल्ट विद्यालय समयमा लगाएर आउँथे, हिजो खाना खाएर सर्ट र पेन्ट लाउँदै गर्दा सहयोगीमार्फत बोलाएकोे खबर आयो, आलेको चेम्बरमा गएँ खलासीजस्तो भएर आउने भनेर गाली गर्नुभयो । म कसैको गाली खान आको हैन मलाई खलासी नभन्नुहोस् भन्दा एक्कासि बाहिर कार्यालयको प्यासेजमा ल्याएर कुट्नुभयो ।’ पीडित अतित अधिकारीले बताए । योभन्दा अघि पनि पटक–पटक धम्की दिने गरेको भन्दै उनले आफूलाई हातले गालामा र ढाडमा कुटपिट गरेको बताए ।

अधिकारी अहिले न्यायका लागि प्रहरी प्रशासन, पत्रकार गुहारिरहेका छन् । अधिकारीले शिक्षक महासंघ, नेपाल पत्रकार महासंघ र जिफन्टलाई वोधार्थमार्फत लिखित निवेदन दिएका छन् । भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले आफू कहाँ कारवाहीको माग गर्दै निवेदन लिएर आएकाले शिक्षा समन्वय इकाईमा समन्वय गरि समाधान गरिदिन लेखि पठाएको बताए ।

ताप्लेजुङ्ग जिल्ला सिरिजंघा गाउँपालिका वडा नं. १ घर भएका २८ वर्षीय अधिकारी पाँच महिनादेखि सो विद्यालयमा कक्षा ७ देखि १० सम्म अनिवार्य गणित र ऐच्छिक गणित विषय पढाउँथे । आफ्नो साथमा विद्यालयको नियुक्तिपत्र पनि नभएको अधिकारीले बताए । आफ्नो एक महिनाको पारिश्रमिक ३५ हजार पनि रोक्का गरिदिएको र विदा गरेको उनको भनाइ छ । जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख रुद्र राईले दुवै पक्षलाई बोलाएर छलफल गरि समस्याको समाधान खोजिने बताए । राताेपाटीबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: