व्यवसाय दर्ताबाट भरतपुर महानगरले उठायो पौने ५ करोड

चितवन, असार ३१ । भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७५–७६ मा व्यवसाय दर्ताबाट भरतपुर महानगरले ५ करोड ७६ लाख ७९ हजार ४ सय १६ रुपैयाँ राजश्व संकलन गरेको छ । व्यवसाय दर्ता दस्तुर वापत उठेको कूल रकमको ५ प्रतिशत उद्योग वाणिज्य संघ चितवन र तीन प्रतिशत चितवन उद्योग संघलाई दिइएको छ ।

भरतपुर महानगर प्रमुख रेनु दाहालले मंगलबार एक समारोहबीच उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठलाई ५ प्रतिशतले हुन आउने २३ लाख ७३ हजार ९ सय ७० रुपैयाँको चेक हस्तान्तरण गरिन् । यसैगरी महानगर प्रमुख दाहालले चितवन उद्योग संघका वरिष्ठ उपाध्यक्ष राजु पौडेललाई तीन प्रतिशतले हुन आउने १४ लाख ३० हजार तीन सय ८२ रुपैयाँको चेक हस्तान्तरण गरिन् ।

भरतपुर महानगरपालिका नगर कार्यपालिकाले गत वर्ष साउनमा उद्योग वाणिज्य संघ चितवनलाई व्यवसाय दर्ता दस्तुर वापत संकलित रकमको ५ प्रतिशत रकम उपलब्ध गराउने निर्णय गरेको थियो । यसैगरी भरतपुर महानगरले चितवन उद्योग संघलाई व्यवसाय दर्ता दस्तुर वापत संकलित रकमको ३ प्रतिशत रकम उपलब्ध गराउने निर्णय गत वर्ष कात्तिकमा गरेको थियो ।

रकम हस्तान्तरण समारोहलाई सम्बोधन गर्दैै महानगरपालिका प्रमुख दाहालले महानगरपालिकाले निजी क्षेत्रसँगको सहकार्यमा महानगरको आन्तरिक आय वृद्धि गरेको बताइन् । महानगरपालिकाले निजी क्षेत्रसँगको सहकार्यको उत्कृष्ट नमुना प्रस्तुत गरेको भन्दै महानगर प्रमुख दाहालले यसलाई भविष्यमा पनि कायम राखिने बताइन् ।

उनले समयमै कर तिर्न आफ्ना उद्योगी तथा व्यवसायीलाई प्रेरित गर्न दुबै संघका पदाधिकारीलाई आग्रह गरिन् । मेयर दाहालले उद्योग वाणिज्य संघ तथा उद्योग संघलाई हस्तान्तरण गरिएको रकम संघ र महानगरको सहकार्यमा करदाता शिक्षा र महानगरको भौतिक पूर्वाधार विकासमा खर्च गरिने जानकारी दिइन् ।

कमेन्ट गर्नुहोस्