सेनाको १५ हजार जनशक्ति राहत र उद्धारमा

काठमाडौं, श्रावण १ । नेपाली सेनाले वर्षापछिको विपद् उद्धार तथा राहत वितरणका लागि १५ हजार जनशक्ति खटाएको छ । बाढीपहिरो र डुबान प्रभावित क्षेत्रमा नेपाली सेनासँग भएका विपद् उद्धारका सामग्रीसहित १५ हजार जनशक्ति खटाइएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको हो । त्यस्तै, सेनाले बाढीपहिरो र डुबानमा परेकाको खोजी, उद्धार र राहतका लागि सातवटा हेलिकोप्टरसमेत तयारी अवस्थामा राखेको छ ।

काठमाडौंमा दुईवटा एमआई १७, एउटा एएलएच, एउटा अगस्टा, एउटा इक्युरेल तथा इटहरीमा एउटा बेल र धनुषामा एउटा एमआई १७ गरी सात हेलिकोप्टर तयारी अवस्थामा रहेको जनाइएको छ । हेलिकोप्टरमार्फत प्रभावित क्षेत्रमा सरकार र जिल्ला विपद् व्यवस्थापन समितिले वितरण गर्न तयार गरेको राहत सामग्री ढुवानी गरिएको छ ।

अविरल वर्षासँगै गएको पहिरोका कारण अवरुद्ध विभिन्न राजमार्ग सुचारु गरी यातायात सञ्चालनमा सहयोग गर्ने, तटीय क्षेत्रमा तटबन्द निर्माण, नाला सफाइजस्ता कार्य जारी राखिएको पनि निर्देशनालयले जनाएको छ । यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

कमेन्ट गर्नुहोस्