नयाँ पेट्रोलपम्प सञ्चालनका लागि नौ सय ३९ आवेदन

काठमाडौँ, साउन २ । नयाँ पेट्रोलपम्प सञ्चालनका लागि नौ सय ३९ आवेदन परेका छन् ।

नेपाल आयल निगमलले नयाँ पम्प सञ्चालनका लागि खुलाएको आवदेनमा देशभरका व्यवसायीले आवेदन दिएका हुन् । निगमले गत वैशाख १६ देखि असार १६ गतेसम्म नयाँ पम्प सञ्चालनका लागि आवेदन खुला गरेको थियो । आवेदनउपर छानिवन गरी स्वीकृति दिइने निगमले जनाएको छ ।

निगमका प्रवक्ता वीरेन्द्र गोइतले भने, आवेदन सिलबन्दी छ, अब हामी केही दिनमा सिलबन्दी खोली छानबिन गर्छौैं अनी मापदण्ड अनुसार प्रक्रिया अघि बढ्छ । प्रवक्ता गोइतका अनुसार आवेदनमध्ये सबैभन्दा धेरै प्रदेश २ बाट तीन सय २७ वटा आवेदन परेका छन् । सबैभन्दा थोरै कर्णाली प्रदेशबाट १६ वटामात्र परेका छन् ।

त्यस्तै, प्रदेश एकबाट एक सय ८९, तीनबाट एक सय २१, गण्डकी प्रदेशबाट २७, प्रदेश पाँचबाट दुई सय सात र सुदूरपश्चिम प्रदेशबाट ५२ वटा आवेदन परेका छन् । निगमले जिल्लाहरूमा सडक विस्तार तीव्र भएको तर पम्पहरूको असुविधा रहेकाले नयाँ पम्प सञ्चालनका लागि आवेदन खुलाएको हो । प्रमुख सहरहरूमा भन्दा पनि हुलाकी सडकहरूमा पम्प सञ्चालनका लागि स्वीकृति दिइने प्रवक्ता गोइतको भनाइ छ ।

निगमले बिक्रेता नियमावली २०७५ संशोधन गरी नयाँ मापदण्ड अनुसार पम्पहरू सञ्चालन गर्न लागेको हो । नयाँ विनियमावली अनुसार तीनवटा वर्गीकरणमा पम्प राखिएको छ । पहिलो वर्गीकरण नमुना पेट्रोल पम्प छ । यसमा पहिल्यैका प्रावधानहरू यथावत राखी एउटा सुविधा थप गरिएको छ । नमुना पेट्रोल पम्प सञ्चालन गर्न बाह्रै महिना निवेदन दिन सकिने र स्वीकृत गर्नसक्ने व्यवस्था गरेको छ । दोस्रो वर्गीकरणमा साधारण पम्पलाई राखिएको छ । हाल नमुनाबाहेक जति पम्प सञ्चालनमा छन् तीनको पहिचान गरी सुरक्षा मापदण्ड थप गरिएको छ ।

प्रवक्ता गोइत भन्छन्, ‘दोस्रो वर्गीकरणमा साधारण पम्पको पहिचान गरी, जुन अवस्थामा छन् तीनलाई सुरक्षाको मापदण्ड थप भएको छ त्यो भनेको आगालीबाट बच्ने, चुहावट तथा मिसावट रोक्ने र सडक सुरक्षाको कुराहरू समेटिको छ ।’ तेस्रो वर्गीकरण नयाँ दर्तामा लाउनेलाई लागू गरिने छ । सडकको हिसाबले तीन किसिमको मापदण्ड राखिएको छ । गोईतको भनाइ छ, सडकको हिसाबले तीन किसिमका भौतिक पूर्वाधार बनाउने गरी पहिचान गरेका छौँ, पूर्वपश्चिम राजमार्गमा नयाँ पम्प खोल्न चाहनेले १० का जमिनसहितको पूर्वाधारहरू तोकिएको छ ।

व्यापारिक सडकहरूमा आठका जमिन र त्योबाहेकमा सडकहरूमा चारका जमिन हुनुपर्ने प्रावधान छ । उपभोक्ताको सुविधा ध्यानमा राखेर नयाँ पम्प सञ्चालनमा ल्याउन लागिएको प्रवक्ता गोइतको भनाइ छ । निगमले दुई वर्षअघि नमुना पेट्रोल पम्म सञ्चालनका लागि आवेदन खुलाउँदा ९७ वटा परेका थिए तर हालसम्म जम्मा छवटामात्र नमुना पम्प निर्माण भएका छन् । हाल नेपालमा १५ सय पेट्रोल पम्प सञ्चालनमा छन् । गोरखापत्रदैनिकबाट

कमेन्ट गर्नुहोस्