नेकपाले टुंग्यायो युवा संगठनको नाम र झण्डा

काठमाडौं, साउन २ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले युवा संगठनको नाम र झण्डाको अन्तिम टुङ्गो लगाएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले युवाको नाम र झण्डा विवाद सुल्झाएका हुन् । स्रोतका अनुसार छलफलमा महासचिव बिष्णु पौडेल र सचिवालय सदस्य राम बहादुर थापा ‘बादल’ समेत उपस्थित थिए ।

छलफलपछि नेकपाको युवा संगठनको नाम ‘राष्ट्रिय युवा संघ नेपाल’ टुङ्गो लगाइएको छ । यस अघि साविक नेकपा (माओवादी केन्द्र) को सहायक संगठनको रुपमा योङ्ग कम्युनिष्ट लिग नेपाल (वाइसिएल) थियो । यस्तै साविक नेकपा एमालेको युवा संगठनको नाम युवा संघ नेपाल थियो ।

हाल पार्टी एकीकरण पछि बनेको युवा एकता कार्यदलले दुवै संगठनको पुरानो नाम नराख्ने सहमति गरी नयाँ नामका रुमा राष्ट्रिय युवा संगठन नेपाल वा युवा संगठन नेपाल नाम राख्ने लिखित सहमति गरेको थियो । तर, कार्यदलले प्रस्ताव गरेको नाम अनुमोदन नगरी जेठ ३ गते युवा संगठनको संयोजक रामप्रसाद सापकोटा ‘दिपशिखा’ र सहसंयोजक रमेश पौडेललाई घोषणा गर्नुका साथै संगठनको नाम युवा संघ नेपाल घोषणा गरेको थियो ।

उक्त नामलाई तत्कालिन वाइसिएल नेपालले असहमति जनाउँदै कार्यदलले सिफारिस गरेको नाम लागु गर्ने कुरामा अडान लिएको थियो भने साविकको युवा संघले पार्टीले घोषणा गरेको नाम लागु गर्नु पर्ने कुरामा अडान राखेको थियो । नेतृत्व टुङगिएको २ महिना पछि नाममा सहमति जुटेसंगै तत्कालिन युवा संघ नेपालले प्रयोग गर्दै आएको झण्डा नै कायम भएको छ ।

त्यस्तै स्थापना मिति २००८ साल जेठ १ गते हुनेछ । संघको कार्यालय साविकको वाइसिएल नेपालको कार्यालय पेरिसडाँडा कोटेश्वरमा रहने छ भने कमिटी संख्या २५१ जनाको हुनेछ । संयोजक दिपशिखाका अनुसार अबका केही दिनमै एकताका बाँकी काम सम्पन्न हुने छन् । केन्द्र, प्रदेश र जिल्ला कमिटि, आयोगहरु, विभागीय जिम्मेवारी बाँडफाँटका कामहरु आजैदेखि थालिने बताए ।

कमेन्ट गर्नुहोस्