खानेपानी मन्त्रालयको प्रगतिः देशभर ५४५ वटा आयोजना सम्पन्न

काठमाडौं, साउन २ । खानेपानी मन्त्रालय मातहत रहेका विभिन्न निकायले असार मसान्तसम्म देशैभरि साना ठूला गरी ५ सय ४५ वटा खानेपानी आयोजना सम्पन्न गरेका छन् । आर्थिक वर्ष २०७५-०७६ को बजेट कार्यान्वयनको सन्दर्भमा मन्त्रालय मातहतका निकायहरुले ५ सय २६ वटा साना तथा आधारभूतस्तरका र १९ वटा ठूला गरी ५ सय ४५ वटा आयोजनाहरु सम्पन्न भएको प्रगति विवरण जारी गरेका छन् । यी आयोजनाहरु सम्पन्न भईसकेकाले यसबाट करिब ५ लाख ३३ हजार जनसंख्या खानेपानी सेवाबाट प्रत्यक्ष लाभान्वित हुने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले २ सय ४२ वटा भूकम्पबाट प्रभावित आयोजनाहरु, २ सय ५० वटा ग्रामीण खानेपानी आयोजनाहरु र ३४ वटा वर्षात्को पानी संकलनमा आधारित आयोजनाहरु गरी ५२६ वटा आधारभूतस्तरका खानेपानी आयोजनाहरु सम्पन्न भएको जानकारी दिए । त्यस्तै खानेपानी विभाग अन्तर्गत तेस्रो साना सहरी खानेपानी आयोजना कार्यालयले १० वटा आयोजनाहरु सम्पन्न गरेको छ भने सहलगानी खानेपानी आयोजना अन्तर्गत ९ वटा आयोजनाहरु सम्पन्न भएका छन् ।

याे पनि पढ्नुस  बिना मगरले गरिन मतदान

तेस्रो साना सहरी खानेपानी आयोजना अन्तर्गत सुर्खेतको बाबियाचौर, रुकुमको मुसिकोट, कपिलवस्तुको चन्द्रौटा, चितवनको बिरेन्द्रनगर, कास्कीको निर्मलपोखरी, कञ्चनपुरको सुडा, तनहुँको डुम्रे र आबुँखैरेनी, रौतहटको कटहरिया र उदयपुरको कटारी खानेपानी आयोजनाहरु सम्पन्न भएका छन् ।

त्यस्तै सहलगानी अन्तर्गत मोरङको मानगढ र उर्लाबारी, रुपन्देहीको प्रगतिनगर र नयाँगाउँ, चितवनको रत्ननगर, पर्सा र धनगढा, नवलपरासीको जलुके, र दाङको नारायणपुर गरी नौ वटा खानेपानी आयोजना सम्पन्न भईसकेका छन् । तेस्रो साना सहरी र सहलगानी अन्तर्गत सम्पन्न भएका आयोजनाहरु ठूला आयोजना भित्र पर्दछन् ।

मन्त्रालयका प्रवक्ता शाक्यले एक घर एक शौचालयको अवधारणा बमोजिम साढे ९९ प्रतिशत जनसंख्या आधारभूतस्तरको सरसफाइ सुविधाबाट लाभान्वित भएको र आगामी असोज मसान्त सम्ममा नेपाललाई खुला दिसा मुक्त राष्ट्र घोषणा गर्ने गरी मन्त्रालयले कार्य गरिरहेको जानकारी दिए । खानेपानी विभागले खानेपानीको गुणस्तर सुधार कार्यक्रम अन्तर्गत निर्माणाधीन २८ वटा आयोजनाहरुमध्ये चालू आर्थिक वर्षभित्र १२ वटा आयोजनाहरु सम्पन्न हुने चरणमा रहेको जानकारी दिएको छ ।

याे पनि पढ्नुस  बिना मगरलाई शक्तिशाली मन्त्री बनेको देख्ने मतदाताको चाहना

मन्त्रालयको अर्को निकाय आयोजना कार्यान्वयन निर्देशनालय ९पिआइडी० अन्तर्गत काठमाडौं उपत्यकाको रिङरोडभित्र लक्षित ७७ किलोमिटर थोक वितरण प्रणाली पाइप लाईन कार्यमध्ये ७५ किलोमिटर पाइप लाइन निर्माण सम्पन्न भएको छ भने उपत्यकामा १० वटा पानीपोखरी निर्माण गर्ने भनिएकोमा ९ वटाको निर्माण कार्य सम्पन्न भईसकेको पिआइडीले जनाएको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयुकेएलले काठमाडौं उपत्यकाभित्र १७ किमी खानेपानी पाइप लाइन विस्तार गर्ने भनिएकोमा २० किमी सम्पन्न गरेको प्रगति विवरणमा उल्लेख गरेको छ । राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको पहिलो चरणको निर्माण कार्य अन्तर्गत सुरुङ मार्ग र हेड वक्र्स निर्माण कार्यको बोलपत्र खोली मूल्यांकन भईरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

याे पनि पढ्नुस  मेलम्चीको काम अगाडि बढाउन मन्त्रालयलाई बाटो खुला

मेलम्ची आयोजना दोस्रो चरणको लागि याङ्ग्री र लार्केसम्म पहुँच सडक निर्माण कार्य सुरु भएको छ भने दोस्रो चरणको आयोजनाका लागि मुआब्जा वितरणको प्रक्रिया सुरु भएको समितिले जानकारी दिएको छ । मेलम्ची खानेपानी आयोजनाको गत २०७४ चैत २७ गते सुरुङ मार्गको ब्रेक थ्रु भएको थियो ।

खानेपानी मन्त्रालयले यस अवधिमा खानेपानी तथा सरसफाईको क्षेत्रमा पहिलो पटक मुल विधेयक तयार गरेर प्रतिनिधि सभामा दर्ता गराई पेश गरेको छ । खानेपानी मन्त्री बिना मगरको सक्रियतामा खानेपानी तथा सरसफाई विधेयक तयार भई संसदमा पेश भएको हो ।

कमेन्ट गर्नुहोस्