धोनीका बा–आमाले भने, ‘अब पुग्यो, सन्यास लिएर घर सम्हाल’

नयाँ दिल्ली । भारतीय क्रिकेट टीमका पूर्वकप्तान महेन्द्र सिंह धोनीले एक दिवसीय क्रिकेटबाट सन्यास लिने विषयमा निकै चर्चा चलेको छ । विश्वकपमा धोनीको उत्कृष्ट प्रदर्शनसँगै उनका फ्यानहरुले धोनीसँग सन्यास नलिन आग्रह गरेका छन् । धोनीले भने सन्यास लिने या नलिने भन्ने विषयमा केही बोलेका छैनन् । यसअघि उनले टेष्ट फम्र्याटबाट सन्यास लिएका थिए ।

निकै शान्त स्वभावका मानिने धोनीलाई माया गरेर ‘माही’ र क्याप्टन कूल पनि भनिन्छ । यसैबीच क्याप्टन कूलले आफूले सन्यास लिने विषयमा नबोले पनि उनका बुवा आमाले भने धोनीले सन्यास लिनुपर्ने धारणा राखेको समाचार सार्वजनिक भएको छ । क्रिकेट खेलमा उत्कृष्ट कप्तानी गरेर सन् २०११ विश्वकप जिताउन सफल भएका धोनीले सन्यास लिने विषयमा उनको परिवारको धारणाले धेरै प्रशंसकहरुलाई भने निराश पारेको छ ।

भारतको उत्तराखण्डमा जन्मेका धोनी बुवाको जागिरसँगै झारखण्ड बसाई सराई गरेका थिए । धोनीका बाल्यकालका कोच केशव बनर्जीको भनाई उदृत गर्दै भारती मिडियामा प्रकाशित समाचार अनुसार, धोनीका बुवाआमाले धोनीले सन्यास लिएर घर सम्हाल्नुपर्ने धारणा राखेको उल्लेख गरेका छन् ।

उमेरले ३८ वर्ष पुगेका धोनीका बाल्यकालका कोच बनर्जी भने धोनीले एक वर्ष अझै र अष्ट्रेलियामा हुने टी–२० विश्वकपसम्म खेल्नुपर्ने बताएका छन् । तर उनको परिवारको चाहना भने अर्कै छ ।

“गत आईतबार म धोनीको घर गएँ । बुवाआमासँग पनि कुरा भयो ।” कोच बनर्जीले भनेका छन, “मैले धोनीले आगामी टी–२० विश्वकपसम्म धोनीले खेल्नुपर्ने धारणा राख्दा उनीहरुले बिरोध गरे । यति ठूलो घर छ, यसको देखभाल अब धोनीले गर्नुपर्छ, अब खेल्नु राम्रो हुन्न भनेर उनीहरु धोनीले अब खेल्न छोडनुपर्ने धारणा राखे ।”

यसपटकको विश्वकपमा धोनीको प्रदर्शनमाथि मिश्रित प्रतिक्रिया देखिएको थियो । त्यसो त न्यूजिल्याण्डविरुद्ध भने उनले अर्धशतकीय पारी खेले र रविन्द्र जडेजासँग मिलेर टीमलाई एउटा गतिरोधबाट अगाडि ल्याउन सफल भएका थिए । तर उनी रन आउट हुन पुग्दा भारतको पनि हार भयो ।

कतिपयले धोनीले खेल्न चाहेको हेर्न खोजेपनि उमेर र उनको योगदानको कदर गर्दै उनलाई आराम दिएर विकेट कीपरमा ऋषभ पन्तलाई अघि सार्नुपर्ने धारणा समेत धेरैले राखेका छन् । ऋषभ पन्त पनि धोनीकै शिष्यका रुपमा चिनिन्छन् । उनी पनि उत्तराखण्डकै मूल निवासी हुन ।

कमेन्ट गर्नुहोस्