५ जना श्रीलंकाली नागरिकलाई निष्काशन गर्ने सरकारको निर्णय

काठमाडौं, साउन २ । मन्त्रीपरिषद्को बैठकले पाँच जना श्रीलंकाली नागरिकलाई निष्काशन गर्ने निर्णय गरेको छ । गैरकानुनी रुपमा नेपालमा बसिरहेका ५ जना श्रीलंकन नागरिकलाई निष्कासन गरेको जानकारी सरकारका प्रवक्ता तथा सूचना एवं सञ्चार मन्त्री गोकुल बास्कटोले दिएका छन् ।

असार २९ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै मन्त्री बास्कोटाले अवैध रुपमा बसिरहेका ती नागरिकले तिर्नुपर्ने जरिवाना र भिसा शुल्क मिनाहा गरी निस्कासन गर्ने निर्णय गरिएको जानकारी गराए ।

उनका अनुसार ५ जना श्रीलंकन नागरिकले २ लाख ५० हजार जरिवाना र ३७ हजार ३ सय ८० अमेरिकी डलर भिसा शुल्क तिर्नुपर्नेथियो।

यस्तै, प्रदेशमा हस्तान्तरण भएका १४ वटा सडक डिभिजन कार्यालयलाई सडक विभागको कामसमेत निरन्तर गर्न लगाउने निर्णय गरिएको छ। बैठकले प्रत्येक प्रदेशका नगरपालिका प्रमुख र उपप्रमुखमध्येबाट कम्तीमा तीन जना महिलासहित सात जनालाई नगर विकास कोष सञ्चालक समितिको सदस्य पदमा मनोनयन गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले जानकारी दिए।

बैठकले राष्ट्रिय आवास कम्पनी लिमिटेडको महाप्रबन्धक पदमा नारायणप्रसाद बास्तोलालाई नियुक्त गरेको छ।

कमेन्ट गर्नुहोस्