हेर्नैपर्ने चलचित्र– ऋतिक रोशनको “सुपर ३०” (भिडियोसहित)

त्यसो त कसैले भनेका थिए– सपना पनि वर्गीय हुन्छन् । गरीबले देख्ने सपना दैनिक जीवनका दुख, सुखसँग जोडिएका हुन्छन भने धनीहरुले जीवनको ऐश्वर्य भोग्ने, पद, प्रतिष्ठा र शक्ति आर्जन गर्ने सपना साँच्छन् ।

अभाव र गरिबीको दुश्चक्र झेलिरहेका र साँझ बिहान के खाउँ के लाउँ हुने, परिवारका जीवनमा कहिल्यै स्कूलको मुख नदेखेका बच्चाले के सपना देख्लान ? डाक्टर, इन्जिनियर पढ्ने सपना, ठूलो बनेर एकदमै सुखी जीवन बाँच्ने सपना ?

सपनामा कसको बस छ र ? परिस्थितिजन्य हुन्छन् सपनाहरु । यदि हामीले परिस्थिति फेर्यौं भने कल्पना पनि नगरेका सपना यिनै गरीब परिवारका बच्चाले देख्न सक्छन् । र, सफल हुन सक्छन् ।

सुपर–३० । यस्तै सपनाहरु वरिपरि घुमेको एउटा चलचित्र हो ।

गरीबी र अकालमा बाँचिरहेका बच्चाहरुलाई निशुल्क शिक्षित गर्न र उनीहरुको बसोबासका लागि एकजना व्यक्तिले जिम्मेवारी लिन्छन् । जबकि ऊ आफै गरिबीको दुश्चक्रमा फँसेको हुन्छ ।

बिहार निवासी आनन्द कुमारले यो अदभूत काम गरेका छन् र उनले सपना देखाएका बच्चाहरु आज ठूला पदमा पुगेका छन् । आनन्द कुमार साँच्चिकै हिरो हुन । सुपरहिरो बन्न मुहार हैन, काम र मनले अर्थ राख्छ ।

वास्तविक नायक गणितज्ञ आनन्द कुमारको जीवनमा घटेका प्रमुख घटनाहरुमा आधारित चलचित्र हो सुपर ३० । यसको निर्देशन गरेका छन् विकास बहलले । चलचित्रले एउटा व्यक्तिको संघर्ष र जीतलाई प्रस्तुत गरेको छ ।


चलचित्र वर्ष २०१७बाट शुरु हुन्छ । चलचित्रमा फुग्गा नाम गरेका एकजना व्यक्ति (विजय बर्मा)ले लण्डनमा बसेको बेला आनन्द कुमारको कथा वर्णन गर्छन् । त्यहाँबाट कथा फ्ल्यासब्याकमा जान्छ र सन् १९९७ को समयमा पुग्छ । गणितमा अब्बल आनन्द कुमारलाई क्याम्ब्रिज विश्वविद्यालयमा भर्ना त पाइन्छ तर आर्थिक संकटका कारण उनको यो सपना अधुरो नै रहन्छ ।

बुवाको मृत्युपछि आनन्द र उनको भाईमाथि दुखको पहाड बज्रिन्छ र उनी पापड बेच्ने काम गर्न थाल्छन्, यसै बीच एउटा कोचिङ सेन्टरका मालिकले आनन्द कुमारलाई आफ्नो सेन्टरमा पढाउने काम दिन्छन् । उसले पैसा पनि मनग्य नै कमाउँछ ।

तर राजनीति न हो, के पो छोडेका छ र यसले ? एकदिन आनन्दलाई लाग्छ, यो कोचिङका नाममा पनि माफियाहरु सक्रिय रहेछन् र यिनीहरुलाई राजनेताहरुको आशिर्वाद हुँच्दो रहेछ । प्रतिभावान छात्रहरु कोचिङबाट वञ्चित भएको उसले देख्छ । त्यसपछि उसले बच्चाहरुलाई निशुल्क पढाउने घोषणा गर्छ ।

तर यो त्यति सजिलो काम हुँदैन, उसलाई कोचिङ बन्द गर्न धम्की पाइन्छ तर उसले संघर्ष गर्न छोडदैन ।

चलचित्रमा यसपछि के हुन्छ, त्यसका लागि पुरै चलचित्र हेर्नैपर्ने हुन्छ ।

सञ्जीव दत्ताले लेखेको कथामा निर्देशक विकास बहलले निर्दशन गरेका छन् । यद्यपी जुन गहिराई आनन्द कुमारको जीवनमा देखिन्थ्यो, त्यो पुरै चलचित्रमा उतार्न भने केही कमी भएको समीक्षकहरुले टिप्पणी गरेका छन् ।

चलचित्रको शुरुआत राम्रो छ । आनन्दको प्रेम कहानी, बाआमाको आर्थिक अवस्था र त्यसपछि आनन्दको संघर्ष । चलचित्रमा आनन्द र बच्चाबीचको सम्बन्धलाई भन्दा पछिल्लो भागमा माफियासँगको संघर्षलाई बढी जोड दिइएको देखिन्छ
चलचित्रका कतिपय दृश्यहरु निकै मार्मिक छन् ।

ऋतिक रोशनले निकै कुशल अभिनय गरेका छन् । उनको लुक्स र उनको अभिनय बेजोड देखिन्छ । आदित्य श्रीवास्तव, पंकज त्रिपाठी और वीरेन्द्र सक्सेनाले समेत चलचित्रमा अब्बल अभिनय गरेका छन् । मृणाल ठाकुरको रोृल लामो नभएपनि राम्रो छ ।

 

कमेन्ट गर्नुहोस्