यसरी आयो पहिलो पटक पाइपलाइनबाट डिजेल

बारा, साउन ३ । भारतको पटनाबाट पाईपलाईन परीक्षणका लागि पठाईएको इन्धन शुक्रवार बिहान अमलेखगञ्ज आइपुगेको छ । नेपाल आयल निगमको पेट्रोलियम पाइपलाइन परियोजनाका प्रमुख प्रदीप यादवका अनुसार पटना–मोतिहारी–अमलेखगंज पेट्रोलियम पाइपलाइनको परिक्षणका लागि इन्डियन आयल काँर्पोरेशन लिमिटेड (आईओसी) ले बिहीबार बिहान १० बजे पटना डिपोबाट पहिलोपटक पठाएको डिजेल शुक्रबार बिहान ६ बजे आईपुगेको हो ।

परियोजनाका प्रमुख यादवले पाइपलाइनबाट पठाएको पानी बिहीबार राती २ बजे अमलेखगञ्ज आई पुगेपछि परीक्षणको लागि एक हजार किलोलिटर लिटर डिजल पठाइएको बताए । सो डिजेल शुक्रबार १ बजेसम्म आइपुगेको आज पत्रकार सम्मेलनमा प्रमुख यादवले जानकारी दिए ।

नेपाल आयल निगमका सूचना अधिकारी वीरेन्द्र गोईतका अनुसार जमीन मुनि बिछ्याईएको पाईपसहितको परीक्षणकालागि इन्डियन आयल निगमले डिजेल पठाउनु अघि पानी पठाएर पाइपको फोहोर सफा गरिएको हो । पटनाबाट डिजेल अमलेखगञ्ज डिपोमा आएसँगै विधिवत पाईपलाईनको उद्घाटनको मिति तय गरिने आयल निगमले जनाएको छ ।

१५ अगस्त अर्थात साउन ३० गतेभित्र नेपाल र भारतबीच उच्च स्तरीय नेतृत्वबाट पाइपलाइन उदघाट्न गर्ने योजना रहेको परियोजनाका प्रमुख यादवले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो भारत भ्रमणका बेला दुबै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा स्वीच थिचेर पाईपलाईन निर्माण कार्यको शिलान्यास गरेका थिए ।

कमेन्ट गर्नुहोस्