रिमोट च्यापिँदा धनगढी बम बिष्फोट

कैलाली, साउन ४ । बिहीबार बेलुकी सहिदगेट नजिकै रहेको निलम होटलमा पसे राम सिंह र लक्ष्मण सेरेला। भित्तातर्फका बेच्नमा बसेर उनीहरुले चिया र समोसा खाइसकेका थिए। त्यहीबेला होटलका नियमित ग्राहक जितेन्द्र यादव र छिमेकी मासु पसले जग्गु चौधरी पनि चिया पिउन त्यहाँ पुगे। यादव पोल्ट्री तथा माछामासु व्यवसायी संघका अध्यक्ष हुन्। छेवैको बेन्चमा बसेर यादव र चौधरी माछामासुको विषयमा कुराकानी गर्दै चिया पिउन थाले।

प्रसंगवश यादवले सशस्त्र प्रहरीको एसपीको कुरा झिके। प्रहरीको कुरा आउनेबित्तिकै छेवैमा बसेका सिंहले यादवलाई चियाउन थाले। आफूलाई चियाएको देखेपछि यादव पनि झस्किए। यादवले चौधरीलाई इशारा दिँदै त्यहाँबाट आफूहरू निस्कन थालेको घाइते यादव बताउँछन्। ‘जग्गु चौधरी हिँडिसकेका थिए, म पनि उठेर जानै लाग्दा एक्कासि पड्केको आवाज सुनियो,’ यादवले भने, ‘त्यत्तिकैमा म बेहोस भइसकेको रहेछु।’

यादव र चौधरी उठ्न थालेपछि छेवैमा बम र पेस्तोल बोकेका सिंह सुरक्षा खतरा हुने डरले सम्हालिन खोजे। त्यही समयमा उनको हात झोलामा प-यो र बम विष्फोट भयो। ‘म बेच्नबाट उठेर केही वर पुगिसकेको थिएँ, यादव उठ्नै लागेका थिए, त्यहीबेला पुगेका ग्यारेजका मजदुर मोविन खान यादवसँग हात मिलाउँदै भलाकुरासी गर्न थाले,’ घटनाबाट जोगिएका जग्गु चौधरीले नागरिकन्यूजसँगको कुराकानीमा भने, ‘होटल सञ्चालक चिया ल्याएर ढोका नजिकै पुगेका थिए, त्यही बेला बम पड्कियो।’ सिंह र यादवबीच हेराहेरले दुवैतिर शंकाको वातावरण बनेपछि आफूहरु हिँड्न खोज्दा सिंह पनि निस्कनका लागि तयार हुन खोज्दा बम विष्फोट भएको यादव बताउँछन्।

सिंहसँग झोलामा स्टिलको टिफिन बक्समा फिट गरेको ‘रिमोट बम’ थियो। रिमोट च्यापिँदा बम विष्फोट भएको खुलेको छ। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेपाल कम्युनिष्ट पार्टीका सेती–महाकाली व्युरो इन्चार्ज निर्माणले असावधानीपूर्वक रिमोट च्यापिँदा आफ्नै सुरक्षार्थ बोकेको ‘रिमोट बम’ विष्फोट भएको बताएका छन्।

कैलाली प्रहरीको अनुसन्धानले पनि रिमोट बम विष्फोट भएको जनाएको छ। मृतक सिंहका साथबाट रिमोट टेस्टर, विष्फोटनमा प्रयोग गरिने तार, तीनवटा सीम र एक चाइनिज पेस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दक्ष बस्नेतले बताएका छन्।

बिहीबार बेलुकी धनगढीको सहिदगेट नजिकै भएको बम विष्फोटनमा परी घाइते हुने मध्ये एकजनाको मृत्यु भएको छ। मायामेट्रो अस्पतालमा उपचार गराइरहेका घाइते राम सिंहको बिहीबार राति सवा ११ बजे मृत्यु भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। घटनामा परी घाइते लक्ष्मण सेरेला, जितेन्द्र यादव र मोविन खानको माया मेट्रो अस्पतालमै उपचार भइहेको छ भने होटेल सञ्चालक केशवराज पाण्डेलाई थप उपचारका लागि नेपालगन्ज लगिएको छ। याे समाचार नागरिक दैनिकबाट लिइएकाे हाे ।

कमेन्ट गर्नुहोस्