भीमदत्त नगरपालिकामा पुरानै पटके व्यवसाय कर

महेन्द्रनगर, साउन ४  । कञ्चनपुरकाे भीमदत्त नगरपालिकामा पटके व्यवसायीहरुले गत वर्षकै व्यवसाय कर तिर्ने भएका छन् । नगरपालिकाकाको पाँचौ नगर सभाले पटके व्यवसाय करलाई हेरेफर नगरी गत वर्षको दरलाई निरन्तरता दिएको छ ।

पटके व्यवसाय कर सहितको आर्थिक ऐन २०७६ गत असारमा पाँचौ नगर सभाबाट पारित गरिएको थियो । आर्थिक ऐनको अनुसूची ३ मा व्यवसाय दर्ता तथा नविकरण दस्तुर अन्र्तगत पटके व्यवसाय कर तोकिएको छ । त्यसमा ७ व्यवसायलाई पट्के व्यवसाय अन्र्तगत राखिएको छ । पटके व्यवसायीका लागि न्यूनतमा ८ रुपैँयादेखि अधिकतम ९० सम्म व्यवसाय कर तोकिएको छ ।

सबैभन्दा कम हरियो तरकारी बिक्री गर्ने व्यवसायीलाई ८ रुपैँया तोकिएको छ । यसैगरी चाट, गोलगप्पा व्यवसाय ९०, फलफूल तरकारी वा अन्य ठेला ४५, इन्जिनद्वारा फलफूलको रस र उखुको रस बेच्ने व्यवसायका लागि ४५, डि फ्रिज आइसक्रिम व्यवसाय ३१, मेनरोडमा रेडिमेड कपडा व्यवसाय ४५ र चाडपर्वमा मिठाई, मालापोते, पोष्टर बिक्री गर्ने फड ठेलालाई ७० रुपैँया तोकिएको छ ।

सब्जीमण्डी तथा अन्य स्थानमा तरकारी लिलाम बढाबढ गरी बिक्री वितरणका लागि दैनिक सात सय रुपैँया कर तोकिएको छ । पटके व्यवसाय करलाई फडकर पनि भन्ने गरिन्छ । भीमदत्त नगरपालिका राजश्व नीति तथा प्रशासन उप शाखाका नयाब सुब्बा नरेन्द्रदेब भट्टले गत पटके व्यवसाय कर पूरानोलाई निरन्तरता दिएको बताए ।

‘यस वर्षका लागि गत वर्षको करका दरलाई निरन्तरता दिएका छौ’ उनले भने । भीमदत्तमा गत वर्ष २७ लाखमा पटके व्यवसाय करको ठेक्का दिइएको थियो । नगरपालिकाले यस वर्ष आन्तरिक स्रोतबाट १३ करोड ३४ लाख राजश्व संकलन गर्ने लक्ष्य लिएको छ ।

कमेन्ट गर्नुहोस्