सांसद महर्जनले दिए पत्रकार कार्कीलाई बेपत्ता पार्ने धम्की

ललितपुर, साउन ४ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रदेश सांसदले पत्रकार रामहरि कार्कीलाई बेपत्ता बनाइदिने चेतावनी दिएका छन् । शनिबार बिहान पुष्पलाल स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा सहभागी भएका बेला पत्रकार कार्कीलाई प्रदेश तीन ‘क’का प्रदेश सांसद राजकाजी महर्जनले एकान्तमा बोलाएर लचारपछार पार्दै बेपत्ता बनाइदिने चेतावनी दिएका हुन् ।

चेतावनीबारे नेकपा पत्रकार निकट प्रेस संगठनका सहसंयोजक गणेश बस्नेतलाई जानकारी गराउँदा संयोजक महेश्वर दाहाललाई भन्नू भन्दै पन्छिए । ‘दैनिकीन्युज डटकम’ का सम्पादकसमेत रहेका कार्कीलाई समाचारको विषयलाई लिएर प्रदेश सांसद महर्जनले विभिन्न अश्लील शब्द प्रयोग गर्दै जे पनि गरिदिने चेतावनी दिए । उनले भने, ‘तेरो त कलम मात्र चल्छ, मेरो त सबै चल्छ ।’ सिन्धुलीको मान्छेलाई ललितपुरको समाचार लेख्ने कुनै अधिकार नभएको भन्दै सांसद महर्जनले कार्कीलाई धम्की दिए ।

नेपाल पत्रकार महासंघ ललितपुर शाखाका कोषाध्यक्ष समेत रहेका कार्कीमाथि जुनसुकै बेला जे पनि गर्ने सांसदको चेतावनीले स्वतन्त्र प्रेसमाथि थप चुनौती थपिएको छ ।

प्रकाशित समाचार चित्त नबुझे खण्डन गर्न पाउने स्वतन्त्रता हुँदा हुँदै सार्वजनिक कार्यक्रममा एकजना सम्पादकमाथि ‘गायब’ गराउने भनेर महर्जनले धम्की दिएपछि ललितपुर जिल्लाका पत्रकारहरुमा त्रास फैलिएको छ ।

यसबारेमा नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले सत्तारुढ दलकै जिम्मेवार जनप्रतिनिधिले दिएको धम्कीले स्वतन्त्र प्रेसकै खिल्ली उडाएको भन्दै विधि र प्रक्रिया मिचेर दिएको धम्कीप्रति आपत्ति जनाए । फोटोः पत्रकार कार्की

कमेन्ट गर्नुहोस्