प्रचण्ड निवासमा पूर्व माओवादी नेताहरुको बैठक

काठमाडौं, साउन ५ । नेकपा अध्यक्ष प्रचण्डको निवास खुमलटारमा अहिले पूर्व माओवादी नेताहरुको अनौपचारिक बैठक बसिरहेको छ । बिहान ७ बजेबाट जारी बैठकमा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ, गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापा (बादल), उर्जामन्त्री समेत रहेका स्थायी समिति सदस्य वर्षमान पुन (अनन्त) लगायतका नेताहरु सहभागी छन् ।

आज दिउसो १ बजे पार्टी सचिवालय बैठक बस्दैछ । पार्टी एकताको सम्पूर्ण प्रक्रिया आजको सचिवालय बैठकबाट टुंगो लगाउने तयारी नेकपाले गरेपछि केन्द्रीय विभागमा आफुनो पूर्व समुहलाई परेको भागबन्डामा कुन नेतालाई के जिम्मेवारीमा लैजाने, आफ्नो पूर्ववत पार्टीका तर्फबाट स्कुलिड विभागमा गरिरहेको दाबीका विषयमा के गर्ने भन्ने विषयमा यो अनौपचारिक छलफलमा एजेण्डा बन्ने नेताहरुले बताएका छन् ।

नेकपाका ३२ विभागमध्ये १८ पूर्व एमाले र १४ पूर्व माओवादीलाई भागबन्डामा परेको छ । संगठन, विदेश र नीति अध्ययन प्रतिष्ठान लगायतका विभागको जिम्मेवारी पूर्व एमालेले पाएको छ । माओवादी तर्फले प्रचार, अर्थ लगायत विभाग पाएको छ ।

स्कुलिङ विभागको विवाद अझै कायमै छ । यो विभागको नेतृत्व दुवै पक्षले मागेका छन् । ओलीले उपप्रधान तथा रक्षामन्त्री समेत रहेका इश्वर पोखरेललाई यो जिम्मा दिन खोजेका छन भने प्रचण्डले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई ।

यो विवाद मिल्न नसकेपछि यसमा के गर्ने लगायतका विषयमा धारणा तय गर्न पूर्व माओवादी नेताहरु अहिले प्रचण्ड निवास खुमलटारमा छलफलमा बसेका हुन् । पूर्व एमालेले पनि बिहिवार र शुक्रवार बालुवाटारमा आफ्नो समुहको बैठक बसेर आफनो भागमा परेको विभागको नेतृत्व करिब टुंगो लगाएको थियो । जसमध्ये संगठनमा बामदेव गौतम, विदेश विभागमा माधव नेपाल र नीति अध्ययन प्रतिष्ठानमा झलनाथ खनाललाई जिम्मा दिने तय पूर्व एमाले समुहको बैठकले गरिसकेका छन् ।

दुई अध्यक्षबीच विभागहरुको भागबन्डा टुंगो लाग्दा नै दुवै पक्षले अब आ–आफनो समुहमा छलफल गरी विभागिय नेतृत्व गर्नेहरुको नाम टुंगो लगाउने समझदारी बनेको थियो । त्यही आधारमा अहिले बिहान खुमलटारमा पूर्व माओवादी नेताहरुको अनौपचारिक छलफल जारी रहेको हो ।

कमेन्ट गर्नुहोस्