भोलीदेखि हिमालयले ढाका उडान भर्ने

काठमाडौं, साउन ५ । हिमालय एयरलायन्सले नयाँ गन्तव्यको रुपमा सोमबारदेखि काठमाडौं–ढाका–काठमाडौं उडान गर्ने भएको छ ।

नयाँ गन्तव्यको खोजीमा रहेको हिमालयले छोटो दुरीको अन्तर्राष्ट्रिय गन्तव्यको रुपमा बंगलादेशको राजधानी ढाकालाई छनौट गरेको बताएको छ । नेपाली विद्यार्थीहरु बंगलादेशमा विशेषगरी मेडिकल शिक्षाका लागि जाने गरेको र बंगलादेशीहरु नेपालमा घुम्न आउने भएकाले उक्त क्षेत्रमा यात्रुको अभाव नहुने विश्लेषण गरिएको छ ।

यसअघि ढाका–काठमाडौं रुटमा विमान बंगलादेश र युएस बंगालाले दैनिक उडान भर्ने गरेको थियो । युएस बंगालाको विमान फागुन २८, २०७४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना परेयता उक्त एयरलायन्सले नेपाल उडान बन्द गरेको छ ।

विमान बंगलादेशले समयमै उडान नभर्ने तथा यात्रु सुविधामा ध्यान नदिने गर्नाले हिमालयले यस क्षेत्रमा राम्रो गर्न सक्ने यस क्षेत्रका जानकारहरुले बताइरहेका छन्।

सातामा तीन उडान भर्ने तालिका सार्वजनिक गरेको हिमालयले सोमबार, बुधबार र शनिबार यस क्षेत्रमा उडान भर्ने यसअघि नै बताइसकेको छ । उडान हुने दिन बिहान ११ः१० मा काठमाडौंबाट उडेर १३ः१० मा ढाका पुग्ने र १४ः१० मा ढाकाबाट उडेर १५ः२० मा काठमाडौं फर्कने तालिका रहेको छ ।

हिमालयले ढाका बाहेक, युएईको अबुधाबी, साउदी अरबको दम्माम, कतारको दोहा र मलेसियाको क्वाला लुम्पुरमा उडान भर्दै आएको छ ।

यसअघि श्रीलंकाको कोलम्बो, म्यानमारको यांगुन र चीनको चङकीङमा उडान सुरु गरेपनी यात्रु अभाव भन्दै हिमालयले ती क्षेत्रको उडान बन्द गरेको छ । भारतको दिल्ली, चीनको ग्वाङझाउ जस्तो आकर्षक गन्तव्यमा उडान भर्न लामो समयदेखि प्रयास गरेपनी हिमालयले ती क्षेत्रको लागि स्वीकृती नपाएको बताईन्छ । अन्तर्राष्ट्रिय उडान भर्दै आएपनि हिमालय चरम घाटामा रहेको बताईएको छ ।

कमेन्ट गर्नुहोस्