महिनावारी हुँदा रगत रोक्न प्रयोग हुने ‘कप’बारे नयाँ खुलासा

काठमाडौँ, साउन ५ । महिलाहरूले महिनावारीका समयमा कपडाको सट्टा स्यानिटरी प्याड, मेन्सट्रुअल कप प्रयोग गर्दै एका छन्  ।

धेरैले स्यानिटरी प्याड मेन्स्ट्रुअल कप र ट्याम्पुनको तुलनामा बढी सुरक्षित मान्ने गरेका छन्  । कतिपय महिलाहरूले मेन्सट्रुअल कपबाट रगत चुहिने गरेको र यसबारे ट्याम्पुन र प्याडप्रति जस्तै ढुक्क हुन नसकिने बताउँदै आएका थिए  ।

तर वातावरणीय चासोका दृष्टिले हेर्ने हो भने प्याड र ट्याम्पुन दुइटैको तुलनामा कप निकै वातावरणमैत्री रहेको छ  । यस्तोमा कम भरपर्दो मानिएको कप लगायत महिनावारीका समय पयोग हुने अन्य सामग्रीको पहिलोपटक बृहत् वैज्ञनिक समीक्षा भएको छ  ।

उक्त वृहद समीक्षाका अनुसन्धानकर्ताहरूले भने मेन्स्ट्रुअल कप पनि ट्याम्पून र प्याड जस्तै रगत नचुहिने भन्दै त्यसबारे महिलाहरू ढुक्क हुनसक्ने बताएका छन्  ।

कप र अन्य सामग्रीमा फरक

प्याड र ट्याम्पुनले महिनावारीका समय बगेर जाने रगतलाई सोस्ने गर्छन् भने मेन्स्ट्रुअल कपले यसलाई जम्मा गर्ने गर्छ  ।

मेन्स्ट्रुअल कप योनिमा राखिन्छ र पुन: प्रयोग पनि गर्न सकिन्छ । जबकि ट्याम्पून र प्याडलाई भने पुन: प्रयोग गर्न मिल्दैन  ।

मेन्स्ट्रुअल कप प्रयोगकर्तामाझ लोकप्रिय बन्दै गएको छ तर त्यससम्बन्धी जनचेतनाचाहिँ महिलाबीच तुलनात्मक रुपमा कम भएको पाइएको छ  ।

‘द ल्यान्सेट पब्लिक हेल्थ जर्नल’मा प्रकाशित एउटा लेखले ४३ वटा अध्ययनलाई समेटेको छ जसमा गरिब र धनी देशका ३३ सय किशोरी र महिलालाई समावेश गरिएको छ  ।

उनीहरूका साझा चासो भनेको मेन्सट्रुअल कप लगाउन र निकाल्न कठिन अनि पीडादायी हुने र रगत चुहिने भन्ने छ  ।

तर उक्त अध्ययनमा जटिलता नगण्य भएको पाइएको बताइएको छ  ।

१३ वटा अध्ययनको परिणामले मेन्स्ट्रुअल कपले कसरी काम गर्छ भन्ने विषयमा अभ्यस्त भएपछि ७० प्रतिशत महिलाहरूले त्यसकै प्रयोगलाई निरन्तरता दिन चाहेको देखाएको छ  ।

तीनसय महिला सहभागी भएको चारवटा अध्ययनले मेन्स्ट्रुअल कप र ट्याम्पुन्स, प्याडबीच चुहावटको तुलना गरेको थियो ।

तीनवटा अध्ययनले चुहावटको अवस्था उस्तै देखाएको थियो र एउटा अध्ययनले चाहिँ मेन्स्ट्रुअल कपबाट निकै कम भएको देखाएको थियो  ।

कपले कसरी काम गर्छ?

मेन्स्ट्रुअल कप रबरजस्तै एकदमै नरम र लचिलो सामग्रीबाट बन्छ ।

योनिमा राखेपछि रगत बाहिर ननिस्कियोस भनेर त्यसले बिर्को बन्द गर्ने जस्तो (सिलबन्दीको) काम गर्छ  ।

ट्याम्पून्स वा स्यानिटरी प्याडले भन्दा मेन्स्ट्रुअल कपले धेरै रगत जम्मा गर्छ । तर त्यसलाई निरन्तर खाली गर्दै जानुपर्छ र सफा गर्नुपर्छ  ।

मेन्स्ट्रुअल कप दुई प्रकारका हुन्छन् । एउटा ‘भजाइना कप’ जो योनिको तल बस्छ र घन्टी आकारको हुन्छ । अर्को चाहिँ ‘सर्भिकल कप’ हो जो अलिमाथि बस्छ  ।

एउटै कप २० वर्षसम्म प्रयोग  

स्पेनकी ६२ वर्षीया क्याथरिन पेटिट-भ्यान होइले आफूले सन् १९८० को दशक अन्त्य यतादेखि एउटै मेन्स्ट्रुअल कप प्रयोग गरेको बताइन् । उनले सुरुमा त्यसबारे आफ्नी साथीबाट थाहा पाएकी थिइन् ।

“सुरुमा बानी पार्न केही समय लाग्यो तर जब म यसको प्रयोगमा अभ्यस्त भएँ मैले पछाडि फर्किएर हेर्नै परेन,” उनले भनिन् ।

“यो सजिलो हुन्थ्यो । मैले पैसा पनि बचाएँ र पर्यावरण जोगाउन पनि थोरै केही गरेँ ।”

उनले थपिन्: “मैले २० वर्षभन्दा बढी समय आफू महिनावारी हुँदा एउटा मात्रै कप प्रयोग गरेँ । मैले साबुनले राम्रोसँग पखालेँ तर जीवाणु रहित बनाउने अरु उपायचाहिँ गरिनँ । त्यसमा सम्भवत प्रश्न उठाउन सकिन्छ ।”

सार्वजनिक शौचालयमा मेन्सट्रुअल कप सफा गर्दा चाहिँ कहिलेकाहिँ हात धुने धारामा कोही नभएको समय कुर्नुपरेको वा अपाङ्गता भएका व्यक्तिले प्रयोग गर्ने शौचालयमा जानुपरेको उनले बताइन् ।

म्यान्चेस्टरकी ३१ वर्षीया मर्टिना फ्राटेरनलीले पनि आफूले झण्डै १० वर्षयता मेन्स्ट्रअुल कप प्रयोग गर्दै आएको बताएकी छन् ।

“हो कुनैकुनै बेला जब सफा पानी भएको धारा पाइँदैन शौचालयमा त्यतिबेला झन्झटिलो हुन्छ तर यसलाई कम खर्च लाग्ने र यसको पर्यावरणीय फाइदाले त्यो झन्झट्‍लाई जित्छ ।”

“यो यस्तो सजिलो र सुविधाजनक छ कि धेरैजसो त यो लगाएको जस्तो नै महसुस हुँदैन ।”

“म त एकदमै सुझाउँछु र अहिलेजस्तो पर्यावरणको धेरै चिन्ता भइरहेको बेला यसमा कर घटाएर महिनावारीका बेला प्रयोग गरिने अन्य सामग्री जस्तै यसको पनि प्रचारप्रसार गर्नुपर्छ ।”

कसरी प्रयोग गर्ने?

आफ्नो शरीरलाई मिल्ने आकारको कप छान्नुहोस् । तपाईँको शरीरबाट कति रक्तस्राव हुन्छ भन्नेसँग यसको सम्बन्ध छैन ।

तर कप प्रयोग गर्नुअघि त्यो सफा र सुख्खा हुनुपर्छ ।

कपलाई दोबार्नुस् र योनिभित्र राख्नुस् । त्यसपछि त्यो आफैँ खुल्छ र रगत नचुहिने गरी सिल गरेर बस्छ ।

सिल हटाउनका लागि चाहिँ कपको तलको भाग हल्लाउनुपर्छ र तान्नुपर्छ ।

कपमा जम्मा भएको फोहोरलाई शौचालयमा फाल्नुस् र राम्रोसँग पखालेर पुछ्नुस् ।

प्रत्येक महिनावारीका बेला कपको किटाणु मर्ने गरी त्यसलाई सफा गर्नुस् ।

प्रयास गर्नका लागि थुप्रै प्रकारका ब्राण्डहरू उपलब्ध छन् । तर मेन्स्ट्रुअल कप सबैका लागि नहुन सक्छ । त्यसको प्रयोगबारे सहज अनुभव गर्न केहीपटक प्रयास गर्नुपर्ने हुनसक्छ ।

रोयल कलेज अफ नर्सिङकी सदस्य एवं स्त्रीरोगकी परामर्शदाता डेब्रा होलोवेले भनिन्: “यहाँ थुप्रै प्रकारका सामग्रीहरू छन् । आफूलाई मिल्ने राम्रो खोजेर प्रयोग गर्नुपर्छ ।”

विज्ञहरू भन्छन्, के प्रयोग गर्ने भन्ने कुरा महिलाहरूको व्यक्तिगत छनोटको विषय हो ।

तर उनीहरूलाई राम्रो सुझाव र प्रमाणहरू दिन आवश्यक छ ताकि उनीहरूले यस विषयमा निर्णय लिन सकुन् ।

अनुसन्धानका प्रमुख लेखक तथा लिभरपुल स्कुल अफ ट्रपिकल मेडिसिनका प्राध्यापक पेनेलोप फिलिप्स-होवार्डले भन्छन्: “विश्वव्यापी रुपमा १ अरब ९० करोड महिलाहरू महिनावारी हुने उमेर समूहका भए पनि स्यानीटरी उत्पादनबारे राम्रा अध्ययनहरू कमैमात्रै भएको छ । ती महिलाले वर्षमा सरदर ६५ दिन महिनावारीसँग जुझ्नुपर्छ ।”

कुन सस्तो ?

बजारमा प्याड र ट्याम्पुनको तुलनामा कम निकै महँगो छ । तर रगत सोस्ने सामग्री चाहे त्यो ट्याम्पुन होस् या प्याड एक पटक प्रयोग गरिसकेपछि फेरी प्रयोग गर्न मिल्दैन ।

तर कपलाई धोएर बारम्बार प्रयोग गर्न सकिने भएकोले लामो प्रयोगको क्रममा यो नै सुपथ पर्न जान्छ ।

न्याशनल हेल्थ साइन्सका अनुसार १२ देखि ५२ वर्ष उमेर समूहका महिलाहरूको जम्मा ४८० पटक महिनावारी हुन्छ ।

एउटा कपको दुईदेखि तीन हजार पाउण्डसम्म पर्छ जुन ट्याम्पुन र प्याडको तुलनामा धेरै नै महङ्गो हो । तर यो प्रत्येक महिना पुन: प्रयोग गर्न सकिन्छ र १० वर्षसम्म पुग्छ ।

त्यसैले लामो समयलाई हेर्ने हो भने आर्थिक रुपमा यो निकै प्रभावकारी हुन्छ ।

फाल्ने भन्दा पुनर्प्रयोग गर्ने भएकाले पनि मेन्स्ट्रुअल कपलाई ट्याम्पुन वा स्यानीटरी प्याड भन्दा पर्यावरणीय दृष्टिकोणबाट पनि राम्रो विकल्पको रुपमा हेरिएको छ ।

महिनावारीका बेला धुन मिल्ने र पुनर्प्रयोग गर्न मिल्ने कट्टु पनि उपलब्ध छ ।

विश्वव्यापिरुपमा मेन्सट्रुअल कप उपलब्ध गराउन सके त्यसले महिनावारीसँग सम्बन्धित सङ्क्रमणलगायतका स्वास्थ्य समस्या र गरिबीसँग जुध्न पनि सघाउ पुग्ने अनुसन्धानकर्ताहरू विश्वास गर्छन् । बीबीसी

कमेन्ट गर्नुहोस्