जिल्ला सचिवमा घटुवा भएका ४ नेतालाई इञ्चार्ज ‘पुरस्कार’ !

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जिल्ला इन्चार्ज र सहइन्चार्ज घोषणा गरिएपछि यसबारे मिश्रित प्रतिक्रिया देखिएको छ । कतिपय स्थानमा विगतमा सचिव बनेका तर असन्तुष्टहरुलाई अहिले इन्चार्जको जिम्मेवारी दिइएको छ । कतिपय जिल्लामा भने इन्चार्ज बनेकाहरुले असन्तुष्टि जनाएका छन् ।

गत वैशाख १० गते भागवण्डा मिलाउने क्रममा तत्कालीन एमाले र माओवादीका जिल्ला अध्यक्षहरूलाई नै अध्यक्ष र सचिव बनाइएको थियो । त्यतिबेला भागबण्डामा ९ जना केन्द्रीय सदस्य सचिव बने । उनीहरूमध्ये अधिकांशले असन्तुष्टि जनाए । केहीले त पद नै अस्वीकार गरे ।

त्यतिबेला सचिव तोकिएका तर असन्तुष्ट बनेका जिल्ला सचिवहरूमध्ये ४ जना अहिले जिल्ला इन्चार्ज बनेका छन् । इन्चार्ज बनाइएपछि खाली रहेको सचिव पद के हुन्छ भन्ने विषयमा नेकपाले कुनै निर्णय गरेको छैन ।

पहिले सचिव तोकिएका प्रदेश ३ का आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराज जम्कट्टेल अहिले जिल्ला इञ्चार्ज बनेका छन् । यसरी सचिव बनेका तर असन्तुष्ट भएपछि आज इन्चार्जमा बढुवा बनेर आउनेहरूमा डाचाराम वाग्ले सर्लाही, युवराज भट्टराई रौतहट र जोगकुमार बर्बरिया यादव (श्रवण) धनुषा छन् ।

यसैगरी पहिले सचिव तोकिएका २ नेताले सह(इञ्चार्जको जिम्मेवारी पाएका छन् । दधिराम न्यौपानेलाई रुपन्देही र गोपी अछामीलाई मोरङमा सह(इञ्चार्ज तोकिएको हो । तर पहिले घटुवामा परेका काठमाडौंका हिमाल शर्मा, सिरहाका प्रमोद नारायण यादव र सिन्धुपाल्चोकका दावा तामाङको नाम भने आज सार्वजनिक भएको इन्चार्ज र सह(इन्चार्जको सूचीमा छैन ।

कमेन्ट गर्नुहोस्