भारी वर्षाको सम्भावना, बाढीपहिरोबाट जोगिन मौसमविद्को आग्रह

काठमाडौं, साउन ७ । आज देशका विभिन्न स्थानमा भारी तथा एकरदुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको बताउँदै बाढीपहिरो तथा डुबानबाट सजग रहन मौसमविद्ले आग्रह गरेका छन्।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जजु बासीले अहिले देशका अधिकांश स्थानमा मौसम बदली भएको र काठमाडौं उपत्यकासहित केही स्थानमा वर्षा भइरहेको जानकारी दिइन्।

दिउँसो देशका केही स्थानमा भारी तथा एक/दुई स्थानमा अति भारी वर्षा हुने सम्भावना रहेको उनले बताइन्। जसका कारण पहाडमा पहिरो, नदीनालामा बाढी तथा तराईमा डुबान हुने जोखिम रहेकाले सतर्क रहन उनको आग्रह छ। मौसम महाशाखाले पनि २४ घण्टे चेतावनी तथा परामर्श जारी गर्दै बाढीपहिरो जाने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाले भनेको छ- देशका पूर्व तथा मध्यका थोरै स्थानमा साथै पश्चिमका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ जसका कारणले ती क्षेत्रका पहाडी भू-भागमा पहिरो जान सक्ने तथा पहाड तथा चुरेबाट बहने खोलाहरुमा जल सहत हल्का बढ्न सक्ने भएकाले सामान्य सतर्कता अपनाउन अनुरोध गरिन्छ। साथै यसका कारणले हवाई तथा सडक यातायातमा समेत प्रभाव पर्न सक्ने भएकोले सतर्कता अपनाउनु पर्ने देखिन्छ।

अहिलेसम्मको मौसमी अनुमानअनुसार आगामी तीन दिन अर्थात् बिहीबारसम्म वर्षा जारी रहने सम्भावना रहेको मौसमविद् बासीले बताइन्।

कमेन्ट गर्नुहोस्