बिपी र पिएलका ‘उत्तराधिकारी’

काठमाडौं, साउन ७ । नेपाली आधुनिक राजनीतिक इतिहासमा सर्वाधिक प्रभाव राख्ने बिपी कोइराला र पुष्पलाल (पिएल) श्रेष्ठ ४ वर्षको अन्तरमा साउन ६ र ७ गते बिते। पुष्पलालको निधन २०३५ साउन ७ गते भारतको नयाँदिल्लीस्थित गोविन्दबल्लभ पन्त अस्पतालमा भयो। पञ्चायती राजतन्त्रले उनको पार्थिव शरीरसमेत देशमा ल्याउन दिएन। तर उनको अस्तु–जुलुस पञ्चायतकालको प्रतिपक्षीय पहिलो विशाल जुलुस बन्यो, जसले ०३५/०३६ को राजनीतिक हलचलको एकीकृत आधार तयार गर्यो। कोइरालाको देहवसान २०३९ साउन ६ गते काठमाडौंमा भयो।

यस साता बिपी र पिएल सम्झँदै गर्दा यिनका उत्तराधिकारीले उनीहरूका कर्म, मर्म, आदर्श, चिन्तन, मार्गचित्र र राजनीतिक संस्कृति आत्मसात् गरिरहेका त छन् भन्ने प्रश्न उठ्छ। कि ‘ब्रान्ड’ र ‘टे«डमार्क’ मात्र बनाएर ‘राजनीतिक पसल’ चलाइरहेका छन् ? बिपी र पिएलका उत्तराधिकारी अहिले उनीहरूका विचार, सिद्धान्त र आर्दशमा चलेका छैनन्। समाजवादी भने पनि उनीहरू नग्न उदारवादका पक्षधर र बजारवादको अभ्यासमा लागेका छन्। इतिहास छाड्न नसक्नु, थेग्न पनि नसक्नु चुनावी जनमतको बाध्यता हो। बजारको नियम ब्रान्डअनुसार उत्पादन चल्छ र टे«डमार्कअनुसार पसल। अंश र वंशका त हकवाला हुन्छन्, तर सोच, विचार र कर्ममा भने हुँदैन भन्ने कुरा बिपी र पिएलका उत्तराधिकारीले अहिले नेपाली राजनीतिमा प्रस्ट्याएका छन्।

यस साता बिपी र पिएल सम्झँदै गर्दा यिनका उत्तराधिकारीले उनीहरूका कर्म, मर्म, आदर्श, चिन्तन, मार्गचित्र र राजनीतिक संस्कृति आत्मसात् गरिरहेका त छन् भन्ने प्रश्न उठ्छ।
बिपी र ‘उत्तराधिकारी’
१० अहिले कांग्रेसभित्र धर्मको राजनीति चलेको छ। बिपी कोइरालाले २०३६ साउन ४ मा ‘विक्ली मिरर’ पत्रिकालाई दिएको लिखित अन्तर्वार्तामा, नेपाललाई धर्मनिरपेक्ष मुलुक बनाउन चाहने व्यक्तिका रूपमा तपाईंलाई लिइन्छ नि भन्ने प्रश्नको जवाफमा भनेका छन्– ‘नेपाल हिन्दु राज्य हुँदै होइन। कसैले हो भन्छ भने त्यो झेली मात्र हो। नेपाल निश्चय पनि धर्मनिरपेक्ष राज्य हो। धर्मनिरपेक्ष राज्यमा धार्मिक आस्था राख्ने स्वतन्त्रता हुन्छ। तसर्थ मन्दिर वा प्रार्थनास्थल कुन हो भनेर छुट्याउनुपर्ने प्रश्नै उठ्दैन।’ उनको सोच र जीवन–व्यवहार धर्मनिरपेक्ष थियो। आडम्बरी थिएन। त्यसो त नेपाली कांग्रेसले २०१२ माघ १० र ११ गते वीरगन्जमा सुवर्णशमशेरको अध्यक्षतामा भएको छैठौँ महाधिवेशनले नै समाजवादी र धर्मनिरपेक्षता नीतिसहित १८ वटा प्रस्ताव पारित गरेको थियो।

२० उनले सोसलिस्ट डेमोक्रेटको अभ्यास वनको राष्ट्रियकरण, बिर्ता उन्मूलन र राजारजौटा खारेज गरेर सुरु गर्न थालेका थिए। पार्टीभित्रै विभीषण पैदा भएपछि राजभक्त बन्न थाले। झन् कांग्रेसी समाजवादी अथर्तन्त्रको हविगत डा. रामशरण महतले ०४८ सालमा देखाइदिए। विदेशीले बनाइदिएका आधारभूत उद्योगको कांग्रेसी निजीकरणको लिलाम र अहिलेको अवस्था के छ ? त्यो बहुमते दम्भमा ‘समाजवादी’ नीतिगत महाभ्रष्टाचार बहस विषय बन्न सकेको छैन।

बिपी र पिएल महामानव नभई समयको नाडी छामेर वाणी दिन सक्ने अगुवा नेपाली नेता र विचारक थिए। उनीहरूमा वर्ग पक्षधरता बेजोड थियो। तर शीतयुद्धको ‘ह्याङओभर’बाट दुवै मुक्त थिएनन्।
३० बिपी, महेन्द्र र शीतयुद्धः सानो देश, ठूलो महत्व– शीतयुद्धको चरमकालमा पहिलो संसद्को आमचुनाव प्रभावित पार्न सिआइएका नेपाल प्रतिनिधिले कांग्रेसलाई राम्रै आर्थिक सहयोग गरे। दरबारले थाहा पाएपछि दुवैलाई गोप्य आर्थिक सहयोग पुर्याउनाका साथै खम्पा काण्डमा चीनलक्षित कस्तो खेल खेलेका थिए र नेपालको रणनीतिक महत्व बुझ्न सिआइए एजेन्ट जोन नेथ नसको अरफेन अफ कोल्ड वार र डुअन आर। क्लारिज को अ स्पाई फर अल सिजन्सः माई लाइफ इन द सिआइए पुस्तक सान्र्दभिक हुन्छन्। अमेरिकी सत्तासँग बिपी कोइराला नजिक भएपछि भारतीय सोसलिस्ट राममनोहर लोहियासँग भने उनको सम्बन्ध चिसियो। कालान्तरमा लोहियाले बिपीलाई भेट समेत दिएनन्, जयप्रकाश नारायणसँग भने नजिकियो। उक्त गुण एसियामै पहिलोपटक निर्वाचित कोइराला सरकारले इजरायलसँग कूटनीतिक सम्बन्ध कायम गरेर तिर्यो। कोइरालाले चुनावमा पराजित सूर्यप्रसाद उपाध्यायलाई त्यसै गृहमन्त्री बनाएका होइनन्, प्रजातान्त्रिक कांग्रेसकोे उपस्थिति गराउने ‘प्रजातान्त्रिक दिल’ नभई त्यो काठमाडौंको दिल्ली म्यानेजको अस्त्र थियो। अमेरिकी लबिइङ र इजरायल प्रसंगको मूल्य १७ सालको घटनामा भने तिर्न प¥यो। जहावरलाल नेहरू र माओत्से तुङले निर्वाचित बिपी सरकार अपदस्थ र निर्वाचित संसद् भंगमा दरबारलाई दबाब दिएनन्। कालान्तरसम्म फ्रि तिब्बत मोभमेन्टमा सक्रिय जर्ज फर्नान्डिजसँग कांग्रेसको सुमधुर सबन्ध भने रहिरह्यो। सोभियत रुसको सहयोगी इन्दिरा गान्धीको अमेरिकी लबिइङ, बिपीप्रतिको व्यवहार र क्षेत्रीय हैकमवादको प्रतिकारमा राष्ट्रिय मेलमिलाप नीति जन्मियो। सिक्किम र बंगलादेश प्रसंग शीतयुद्ध र आक्रामक भारतीय ‘राष्ट्रवाद’ कै नतिजा थियो। तर बिपी बाबुले ३० को दशकमा अडिट फर्मुलाको नयाँ ‘न्यारेटिभ’ सिर्जना गरे। सो अवस्थामा नेपाल कम्युनिस्ट पार्टीको हैसियत इन्डोनेसियन कम्युनिस्ट पार्टी र डि.एन. अडिटको जस्तो थिएन। असंलग्न परराष्ट्र नीति अनुसरण गर्ने स्वीकार्नो सोसलिस्ट सरकार अपदस्थ गराउन सिआइएको भूमिकामा सुहार्तो सैन्य कुको नरसंहार प्रजातन्त्रवादी बिपीले वकालत गर्नु आफैँमा आश्चर्य थियोे। त्यत्रो ठूलो सोसलिस्ट र प्रजातन्त्रका लागि प्रवासमा लडिरहेको उच्च कदको नेताले भयदोहन गर्दै अडिटवादीका निमित्त तर्क कथ्नु शीतयुद्धको सोभियत रुस/अमेरिकाको राजनीतिक खेलको रणभूमि नेपाल पनि थियो।

बिपी र पिएल महामानव नभई समयको नाडी छामेर वाणी दिन सक्ने अगुवा नेपाली नेता र विचारक थिए। उनीहरूमा वर्ग पक्षधरता बेजोड थियो। तर शीतयुद्धको ‘ह्याङओभर’बाट दुवै मुक्त थिएनन्।
३० दुर्गा सुवेदीले ‘विमान विद्रोह’मा ओखलढुंगा प्रसंग, सशस्त्र संघर्ष, विमान अपहरणलगायत पार्टीका आन्तरिक प्रजातन्त्रका विषयमा गम्भीर विषय उठाएका छन्। तर उत्तराधिकारीहरू मौन छन्। कांग्रेस इतिहासको निर्मम समीक्षा गर्दैन।
पिएल र ‘उत्तराधिकारी’

१० पुष्पलालले शासकीय क्षमताको परीक्षा दिन पाएनन्, तर ‘आफन्त’बाट प्रताडित नेपाली नेताहरूमा पहिलो उनी नै पर्छन्। इतिहासले कहिलेकाहीँ भद्दा ठट्ठा गर्छ। जिउँदो हुन्जेल पिएल (पुष्पलाल) जोबाट खेदिए, मरेपछि उनकोे साँच्चैको हकवाला दाबी उनीहरू नै गर्दै छन्। संस्थापक महासचिवलाई डा. केशरजंग रायमाझी र मनमोहन अधिकारीका ‘उच्च बौद्धिक’ र ‘शिक्षित गुट’ ले लखेट्यो अनि त्यसपछि ‘क्रान्तिका आतुर नयाँ जनवादी’ हरूले। अपहरित संसद् पुनस्र्थापनाका लागि नेपाली कांग्रेससँग संयुक्त आन्दोलन र सहकार्यका लागि गरेको प्रस्तावका कारण उनले कांग्रेसपरस्त र भारतपरस्तका आरोप जीवनभर खेप्नुपर्यो। चौथो महाधिवेशनका महामन्त्री मोहनविक्रम सिंहले आनन्दबहादुरका नाममा ‘गद्दार पुष्पलाल’ किताबै लेखे। कालान्तरमा आत्मालोचित भए पनि सो पुस्तक ‘क्रान्ति कि भ्रान्ति रु’ नाममा पुनः प्रकाशन भयो। प्रचण्ड–किरणको राजनीतिक जीवन पनि ‘गद्दार पुष्पलाल’ भन्दै हुर्किएको हो।

२० ३०को दशकमा पिएलले क्रान्ति गरेर ‘गरिखाने’ भएनन् भनेर उनीबाट मुक्तिमोर्चा समूह (जीवराज आश्रित, मदन भण्डारी, मोदनाथ प्रश्रित, वामदेव गौतम) अलग्गिए। तीसको मध्यमा सोही समूहले पुष्पलालका १२ अपराध पर्चा–अभियान देशैभर चलायो, जेलमा समेत। मुक्तिमोर्चा र कोअर्डिनेसन केन्द्र मिलेर बनेको नेकपा मालेको पहिलो राष्ट्रिय सम्मेलन (११ पुस, २०३५) भन्दा ५ महिनाअघि (७ साउन) बितेका संस्थापक महासचिवलाई श्रद्धाञ्जलि दिनसमेत आवश्यक ठानेन यो पार्टीले, बरु आफ्नो मुखपत्र ‘वर्ग संर्घष’ अंक १ को पृष्ठ ५५ मा– पुष्पलाल गुटः २०१३ पछि यो गुटले विधानसभा निर्वाचनको लाइन ग्रहण गर्यो। २०१७ पछाडि विघटित संसद्को पुनस्र्थापना लाइन पक्रियो। २०२५ तथाकथित तेस्रो सम्मेलनपछि साझा दुश्मनविरुद्ध संयुक्त मोर्चाको रायमाझी गुटकै झण्डा उठाउँदै कांग्रेससँग संयुक्त भई राजाविरुद्ध सशस्त्र संर्घष गर्नुपर्छ भन्छ। वर्ग दृष्टिकोण लिन नसकेका हुनाले यो गुट वर्ग–शत्रु दुई विरोधी दल राजा र कांग्रेसी, जो अमेरिकी, रुसका दलाल हुन्, आपसी विरोध बुझ्दैन र राजाविरुद्ध काग्रेसीसँग एकजुट भएको छ। यसरी यो गुट रुसी सामाजिक सम्राज्यवादको दलाल, भारतीय विस्तारवादको छद्मभेषी दलाल भएर नेपालमा सम्राज्यवादी हस्तक्षेप र आक्रमणको सहयोगी भएको छ’ भन्दै सकेजति हुर्मत काढ्यो ९त्यस सम्मेलनमा सिपी मैनाली, माधव नेपाल, मदन भण्डारी, जीवराज आश्रित, मोदनाथ प्रश्रित, वामदेव गौतम, अमृत बोहरा, मुकुन्द न्यौपाने, प्रदीप नेपालहरू त मुख्य थिए नै, जेलमै रहेर पनि दस्तावेज अनुमोदन गर्नेमा केपी ओली र राधाकृष्ण मैनालीहरू०।

३० आफूलाई पुष्पलालको उत्तराधिकारी मान्ने सरकारी नेकपाले अहिले उनलाई क्यालेन्डर र मूर्तिमा सम्झे पनि उनका विचार, आर्दशसँग कुनै साइनो राख्दैन। जिउँदो हुँदा खेद्ने, तर मरेपछि अंश र वंश दाबी गर्ने छोराले श्राद्ध गरेजस्तो उसका लागि ब्रान्ड र ट्रेडमार्क भने बनेका छन्– पुष्पलाल। यस अर्थमा मोहनविक्रमहरू इमान्दार छन्, किनकि उनीहरू पुष्पलालबारे कुनै कार्यक्रम गर्दैनन्।

४० पुष्पलालले अघि सारेका र बिपीले सदा अस्वीकार गरेका वाम–प्रजातान्त्रिक संयुक्त मोर्चा र आन्दोलनका लागि भने ०४५÷४६ सम्म गणेशमान सिहंलाई नै कुर्नुपर्यो। त्यसैको निरन्तरता ०६२÷६३ जनआन्दोलन बन्यो।
अन्तमा,

हरेक नयाँ पार्टी, आन्दोलन वा विद्रोहका लागि नयाँ तर्क, कथ्य, सौन्दर्य सिर्जना अनिवार्य हुन्छ। पञ्चायतले विरोधीलाई अराष्ट्रिय तत्व, बिपीले कम्युनिस्टविरोधी अडिटवाद र कम्युनिस्टले कांग्रेसलाई भारतीय दलाल र पिएलविरोधी ‘अर्धय–नौलो जनवादी’ कम्युनिस्टले उन(पुष्पलाल)लाई कांग्रेसपरस्त भनेर ‘न्यारेटिभ’ नै तयार गरे। आफ्नो औचित्य, आवश्यकता र आफूलाई क्रान्तिकारी देखाउन अर्काको मानमर्दन मात्रै हैन, स्थापित व्यक्तिलाई खलपात्रका रूपमा पनि प्रस्तुत गरिन्छ। पञ्चायतकालमा यस्ता खेल प्रशस्त भए। ती स्वविवेकले हुन्थे वा ‘गुरुवाणी’ ले रु अध्ययनकै विषय हो। तर ती न्यारेटिभलाई आन्दोलनले कालान्तरमा पत्याएन, खारेज गरिदियो।

साउन पहिलो हप्ता नेपाली राजनीतिमा दर्शन, विचार, मूल्य, आर्दश, अभ्यास र इतिहास सम्झने वा श्राद्ध गर्ने समय हो। इतिहास तत्काल लेखिँदैन, तर शक्तिले यसको व्यवस्थापन गर्छ। आफ्नो औचित्य साबित गर्न नयाँ शक्तिले स्थापित पक्षलाई बीभत्स रूपमा चित्रण गर्छ वा भूमिका खारेज गरिदिने प्रयत्न गर्छ। खारेज गर्न खोज्नेलाई पनि इतिहासले ऊर्जा र शिक्षा दिँदै ऐना भने देखाइरहेको हुन्छ। नेपाली राजनीतिको केन्द्र भागमा अहिले बिपी र पिएलका हकवाला त छन्, तर सत्ताको राजनीतिक संस्कृति भने ‘रिमिक्स’ छ। अहिले बिपीवाद र पिएलवादको मार्गदर्शनअनुसार नेपाली कांग्रेस तथा सरकारी नेकपा चलेका छैनन्। दुवैको समाजवादी राजनीतिक ऐनामा अन्तर्राष्ट्रिय मुद्राकोष निर्देशित आर्थिक र परराष्ट्र नीतिमा सार्कको बदला बिमस्टेक, असंलग्न परराष्ट्र नीतिको साटो इन्डोप्यास्याफिक देखिन्छन्। त्यसैले उनीहरू राजनीतिक ट्रेडमार्कमा मात्र रहन पुगे।

बिपी र पिएल महामानव नभई समयको नाडी छामेर वाणी दिन सक्ने अगुवा नेपाली नेता र विचारक थिए। उनीहरूमा वर्ग पक्षधरता बेजोड थियो, अनि थियो– मूल्यको राजनीति र दृढता। उनीहरूका विचार सांगठनिक ऊर्जा र पुँजी बन्थे। तर शीतयुद्धको ‘ह्याङओभर’बाट दुवै मुक्त थिएनन्। नागरिक दैनिकबाट साभार

कमेन्ट गर्नुहोस्