नेपालको जनवादी क्रान्ति मौलिकढंगले पूरा भएको छः अध्यक्ष प्रचण्ड (भिडियोसहित)

काठमाडौं, साउन ७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको जनवादी क्रान्ति मौलिकढंगले पूरा भएको बताएका छन् ।

४१ औं पुष्पलाल स्मृति दिवसका अवसरमा पुष्पलाल प्रतिष्ठानले मंगलबार कीर्तिपुरको चम्पादेवीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन् ।

अध्यक्ष प्रचण्डले पार्टी एकता गरेर नेतृत्वलाई अझ परिपक्व बनाउने ठाउँमा आफुहरु आईपुगेको स्पष्ट पारे । पार्टी एकता निक्कै सुझबुझपूर्ण निर्णयका आधारमा गरिएको उनको भनाई थियो । स्पष्ट विचार, राजनीति, विधि पद्दतिका आधारमा संगठनको निर्माण, कम्युनिष्ट मूल्य मान्यताका आधारमा कम्युनिष्ट पार्टीलाई अझ एकताबद्ध बनाएर लैजाने काममा सबै लाग्नुपर्नेमा अध्यक्ष प्रचण्डको जोड थियो ।

अहिलेका कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ता पुष्पलालका सन्तान र उत्तराधिकारी भएको अध्यक्षको भनाई थियो । अध्यक्ष प्रचण्डले विभाजन भएको पार्टीलाई एकताबद्ध गर्ने र सशस्त्र किसान संर्घष मार्फत जनवादी क्रान्ति पूरा गर्ने पुष्पलालको योगदानको चर्चा गर्दै पुष्पलालको सोच अनुसारकै विभाजित कम्युनिष्ट पार्टीलाई एकताबद्ध बनाएर उत्तराधिकारी बन्ने काम गरेको बताए ।

पार्टी एकताका काम करिव निष्कर्षतिर पुगेको भन्दै उहाँले अब केही बाँकी रहेका कामलाई औपचारिकता दिनमात्र बाँकी रहेको बताए । एकताको काम सक्ने बित्तिकै स्थायी समिति र केन्द्रीय समितिको बैठक बसेर देशब्यापी अभियानमा जाने पनि अध्यक्ष प्रचण्डको भनाई थियो । उनले भने, ‘कार्यकर्तालाई, जनतालाई उत्साहित गर्ने गरी र सुशासन र विकासको एउटा मोडेल प्रस्तुत गर्ने गरी अब पार्टीले अभियान चलाउँछ ।’

कमेन्ट गर्नुहोस्