इन्टरनेटको मूल्य नबढ्ने

काठमाडौं, साउन ७ । सरकारले दूरसञ्चार नियमावली संशोधन गरेपछि इन्टरनेटको मूल्य वृद्धि नहुने भएको छ । सो संशोधनमार्फत् सरकारले तारबाट चल्ने इन्टरनेटको मूल्य बढ्न नदिन विभिन्न छुट तथा सहुलियको व्यवस्था गरेको छ । यो व्यवस्थासँगै दूरसञ्चार सेवा प्रदायक कम्पनीहरु साउन एक गतेदेखि बढाएको मूल्यबाट ब्याक हुने पक्षमा देखिएका छन् ।

राउटर, इन्ट्रानेट लिज डाटा कनेक्टिभीटी, मर्मत शुल्कमा नियमावली संसोधनमार्फत छुट दिने व्यवस्था गर्न लागिएपछि व्यवसायीहरु मूल्य बृद्धिबाट ब्याक हुने संकेत गरेका हुन् । इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठनका आइस्पानका अध्यक्ष भोजराज भट्टले मन्त्रिपरिषद्ले नियमावली संशोधन गरेर छुट दिएको रहेछ भने आफुहरुले मूल्य नबढाउने बताए । उनले भने, ‘मन्त्रिपरिषद्ले दुरसञ्चार नियमावली संशोधन गरेको भन्ने अनौपचारिक जानकारी आएको छ । सोबारे सञ्चारमन्त्रीले विहीबार निर्णय सार्वजनिक गर्लान् । यदि त्यसो हो भने हामी मूल्य बढाउँदैनौ । स्टप हुन्छौँ ।’

सरकारले गत आर्थिक वर्षदेखि इन्टरनेट सेवामा दुरसञ्चार सेवा शुल्क लगाउने निर्णयलाई यस वर्षको बजेटमा पनि निरन्तरता दिएपछि व्यवसायीहरु मूल्यवृद्धि गर्न अगाडी सरेका थिए । साउन एक गतेदेखि सो कर थपी समायोजन गर्ने निर्ण गरेका थिए ।

कमेन्ट गर्नुहोस्