शिक्षक त्रसित भएका समाचार कसले लेखिदिने?

जनक रसिक । केही तथ्यहरु बाट सुरु गरौं :
१. भुवनेश्वरी मावि, गन्यापधुरा डडेल्धुरा । गणित विषयका शिक्षक गंगाराम फुलाराले गृहकार्य नगरेका केही विद्यार्थीलाई सामान्य सजाय दिए । अन्य सबै विद्यार्थीले आत्मालोचित हुदैै सजाय स्विकार गरे तर अलि उट्पट्याङ स्वभावका एक विद्यार्थीले प्रतिवाद गरे । कक्षाकोठामै अपशब्द र गाली गरे । तत्पश्चात स्वभावैले निज विद्यार्थीमाथी दुई झापड थप सजाय भयो । विद्यार्थी झनै आक्रामक भए । घटनाले विस्तारित रुप लियो । हल्ला गाउँटोल सम्म पुग्यो ।

संयोगले ती विद्यार्थी दलित समुदायका थिए । दलित अधिकारकर्मी भनिने गाउँकै एक युवाले घटनामा हस्तक्षेप गरे । विद्यालयमा शिक्षकले चरम जातीय विभेद गर्ने गरेको र दलित भएकै कारण विद्यार्थीमाथी निर्घात कुटपिट, दुव्र्यवहार भएको आसयको मुद्दा बनाइयो । कान्तिपुर लगायत देशका ठूला मिडिया र स्थानीय संचार माध्यममा समाचार प्रकाशन प्रशारण भयो । अन्ततः शिक्षक निर्दोश सावित त भए तर त्यसअघि नै उनी दोषी भएको हल्ला व्यापक रुपमा फैलाइसकिएको थियो । घटना अघिसम्म फुलारा विद्यालयमा सवैभन्दा इमान्दार, दक्ष र मेहनती शिक्षक मानिन्थे । यो घटनाले फुलाराको मनोवल त गि¥यो नै तत्पश्चात उनले पहिले जस्तो मेहनत गर्न पनि छोडे ।

२. लक्ष्मी मावि, कैलारी कैलाली । अंग्रेजी विषयका शिक्षक लक्ष्मीकान्त जोशीले कक्षामा झगडा गरिरहेका एक विद्यार्थीलाई सजायस्वरुप गलामा एक झापड हिर्काए । अकस्मात विद्यार्थीको कानमा रगत बगिरहेको देखियो । शिक्षकको कुटाईबाट कानमा गम्भीर चोट लागेको र रगत बगेको आरोप विद्यर्थीले लगाए । घटना अभिभावक र व्यवस्थापन समितिसम्म पुग्यो । संयुक्त बैठक र छलफल पछी निज शिक्षकले विद्यार्थीको कानको उपचार गराउनुपर्ने नत्र शिक्षकलाई समेत ज्यानको खतरा हुनसक्ने धम्कीपूर्ण एकतर्फी निर्णय सुनाइयो ।

करीव एक महिना पछी नजिकका विद्यार्थी र छिमेकीबाट सत्य बाहिर आयो – विद्यार्थीको कान पाक्ने समस्या रहेको, केही दिन पहिले देखि नै कानबाट निरन्तर पीप र रगत बगिरहेको थियो । विद्यार्थीले शिक्षकलाई झुटा आरोप लगाएका रहेछन । पछि यो पङ्क्तीकारको समेत पहलमा निज शिक्षकले विद्यार्थीको उपचार नगराउने निर्णय सुनाए ।
केही दिन अघी मात्रै शिक्षक सेवा आयोग उत्तिर्ण गरी आएका उर्जावान युवा शिक्षक थिए जोशी । मेहनत गरी काम गरिरहेको तर गल्ती नगर्दा पनि आफ्नो आत्मसम्मानमा चोट पुगेको महसुस उनले गरे । केही दिनमै उनले सदरमुकाम धनगढीको सुरक्षित महसुस हुने विद्यालयमा सरुवा मिलाए । लक्ष्मी मावि भने एक वर्षसम्म शिक्षक विहीन भयो । विद्यार्थीहरुले नपढेरै परिक्षा दिए ।

३. दुर्गालक्ष्मी मावि, अत्तरिया कैलाली । कक्षामा पढाई चलिरहदा एक छात्रा विद्यार्थी घरमा जरुरी काम परेको भन्दै शिक्षकसँग विदा मागेर हिडिन । करीव दुई घण्टा पछि अकस्मात हल्ला फैलिदै आयो– विद्यालयभन्दा केही पर बजारमा ती छात्रा माथी अपरिचित युवा समुहले कुटपिट गर्दै यौन दुव्र्यवहारको प्रयास गर्यो । युवती ( विद्यार्थी ) न्याय माग्दै प्रहरी कार्यालयसम्म पुगिन । अत्तरियाका नागरिक अगुवा भनिने केही व्यक्तिले घटनामा दखल राखे । विद्यालय समयमै विद्यार्थीमाथी दुव्र्यवहार हुदा विद्यालय के हेरी बसेको छ भन्ने जवर्जस्त प्रश्न तयार गरे उनीहरुले ।

दोषी पत्ता लगाउने काम विद्यालयको हो, हैन भने प्रशाषक र शिक्षकहरुलाई कारवाही हुनुपर्छ भन्ने आवाज उनीहरुले उठाए । यही कारण प्रधानाध्यापकले महिनाभर प्रहरी कार्यालय धाउनुपर्यो, सास्ती खेप्नुपर्यो । निकै दिन अन्य शिक्षकहरु र विद्यार्थी समेत वयानका लागि झिकाइए । महिनाभर शिक्षकहरु त्रसित अवस्थामा रहे । विद्यालय तनावग्रस्त रह्यो । केही हप्तापछि तथ्य खुल्यो– निज छात्राको कुनै केटा साथीसँग विवाद झगडा परेछ । आफू वदनाम हुने डरले ती छात्राले यौन दुव्र्यवहारको भ्रामक नाटक रचेकी रहिछन ।

४. परिक्षमा फेल गरेको कारण विषय शिक्षकलाई वा अन्य कुनै रिसिवी साँधेर विद्यार्थीले हतियार भिरेर शिक्षकको बाटो कुरेका, कतिपय शिक्षकको ज्यानै मारेका घटनाहरु धेरै छन् । यी केवल प्रतिनीधि उदाहरण मात्र हुन । विभिन्न कारणहरु देखाई शिक्षकहरुमाथी दुव्र्यवहार हुने गरेका यस्ता कैयन उदाहरणहरु हामीमाझ छन् ।

प्रसंगमा जाउँ :
कंंचनपुरमा शिक्षकको कुटाईबाट विद्यार्थीको ज्यान गएको घटनाले समाज र सञ्चारमा सनसनी मच्चाइरहेको छ । सबैजसो सञ्चार माध्यमले यो घटनालाई महत्वका साथ प्रकाशन प्रशारण गरेका छन । सबैका समाचारमा शिक्षकले मरणाशन्न हुने गरी कुटेको, अमानवीय व्यवहार गरेको, काल बनेको, वालकको जीवन समाप्त पारेको, गरीव बावुआमाका सपना चकनाचुर पारेको, सबै अभिभावक त्रसित बनेको, सबै विद्यार्थी त्रसित बनेको, अपराधी शिक्षकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको, बचाउन राजनीतिक चलखेल सुरु भैसकेको जस्ता गहन तथ्यहरु समावेश छन । शिक्षकले कसरी कुटे, कुन सामग्री प्रयोग गरे, कुन अङ्गमा प्रहार गरे जस्ता मिहिन तथ्यहरु समेत समाचारमा उल्लेख गरिएका छन । तर शिक्षकले किन कुटे भन्ने सवालमा कसैले एक लाइन पनि खर्च गरेका छैनन् । घटना बारे अपराधी भनिएका शिक्षकको स्पष्टीकरण के छ, त्यो कसैले उल्लेख गरेका छैनन् । सामाजिक सञ्जालमा शिक्षकहरु प्रति भएभरका गालीवेइज्जती र अपशव्द प्रयोग भएका मात्र छैनन शिक्षकहरुलाई फाँसीको सजाय समेत माग गरिएको छ । तर यी सबै चेतनशील विचारक विश्लेषकहरुले शिक्षकले किन कुटे भन्ने सवाल कसैले गरेका छैनन ।

राष्ट्रिय सञ्चार माध्यम र बिबिसीमा समेत उस्तै एकतर्फी समाचार प्रशारण भए । केश प्रहरी अनुसन्धानमा नपुग्दै अपराधी बचाउन राजनीतिक चलखेल सुरु भैसकेको तर्कहरुको प्रचार व्यापक गरिएको छ । माहौल यस्तो बनिसकेको छ की अव बास्तविक र निश्पक्ष अनुसन्धान बाट वालकको ज्यान शिक्षकको कुटाईबाट नभै कुनै अन्य कारणबाट गएको वैज्ञानिक प्रमाणसहितको तथ्य सार्वजनिक भएमा समेत कसैले स्वीकार गर्नेवाला छैन बरु आक्रोसको अर्को आगो दन्किन सक्छ ।

देशका दशौं हजार शिक्षकहरु सबै एकै स्वभावका, भद्र, सभ्य, नैतिकवान, वालमैत्री पक्कै नहोलान । कंचनपुर घटना निश्चय नै पीडादायी छ, त्यसको निश्पक्ष छानविन हुनुपर्छ । शिक्षकहरु साँच्चिकै अपराधी हुन भने उनीहरुलाई अपराध गरेको र पेशागत मार्यादा विरुद्ध काम गरेको दोहोरो सजाय हुनुपर्छ यसमा कसैको विमति छैन । तर हाम्रा समाचार, विचार, विश्लेशण, प्रचारप्रसार किन यति एकतर्फी र पूर्वाग्रही हुदैछन ? यो चिन्ताको विषय हो । यो लेखको उद्देश्य बास्तविक अपराधी शिक्षकहरुका पक्षमा वकालत गर्नु कदापी हैन, बरु समाजमा आम शिक्षकहरु प्रतिको बौद्धिक प्रर्वाग्रहका विरुद्ध र शिक्षकहरुको मनोवल गिर्दै गएमा भविष्यमा समग्र सामाजिक व्यवस्थामा पर्न सक्ने असरबारे सचेतनास्वरुप हो ।

आज समाजमा सबैको एउटै आवाज र एउटै चिन्ता अभिव्यक्त भैरहेको छ – शिक्षकहरु अपराधी हुन, शिक्षकहरु दिनानुदिन गलत गर्दै गैरहेका छन्, अभिभावकहरु शिक्षकहरुसँग त्रसित छन, विद्यार्थीहरु विद्यालय जान डराइरहेका छन, शिक्षकहरुलाई कडा निगरानीमा राख्नुपर्छ, आदि आदि । तर यी आवाजहरुमा शिक्षकका पीडा र शास्तीको धून रत्तीभर सुनिदैन ।

शिक्षकहरुका तर्फबाट गम्भिर प्रश्न यो छ की – के यी घटनाहरुबाट शिक्षकहरु त्रसित भएका छैनन् ? यी एकाध विरल घटनाहरुले दशौं हजार शिक्षकहरुको शीर निहुरिएको त छ नै यसबाहेक विद्यालय भित्र र वाहिर दिनहू हैरानी खेप्नुपर्ने विषयहरु अथाह छन । कक्षाकोठामा विद्यार्थीसँगका झमेला, प्रशासनमा ज्यालामजदुरीका झमेला, अभिभावक सँग गुणस्तर र नतिजा बारेका झमेला, घरपरिवारमा छाक टार्ने सम्बन्धी झमेला, समाजमा आत्मसम्मानका झमेला, ….. झमेला कति हुन कति । अझ वेलामौकामा हुने यस्ता दुश्प्रचार र पुर्वाग्रही व्याख्याविश्लेषणले शिक्षकहरुमा आफ्नो पेशाप्रति नै वितृष्ण जगाइदिने गरेको छ ।

सञ्चार संयन्त्र र समाजको वौद्धिक जमातले यस्ता कुरामा गम्भिर हुनु आवस्यक छैन ? कानूनका विश्वव्यापी मान्यता हेर्नेहो भने प्राकृतिक न्यायको सिद्धान्त सवै मानिसमा समान रुपमा लागु हुन्छ । जसअनुसार कुनै देवानी वा फौजदारी मुद्दामा निर्णय गर्नु अघि पर्याप्त सुनुवाईको मौका दिइनुपर्छ, विवादका दुवै पक्षलाई आफ्नो कुरा भन्ने कानून वमोजिम सुनुवाई र प्रतिरक्षाको मौका दिई निष्पक्ष सुनुवाई गर्नुपर्छ । नेपालमा मुलुकी ऐन १९१० देखि नै यसको व्यवस्था गरिएको छ । वर्तमानमा मुलुकी देवानी कार्यविधि संहिता ऐन, फौजदारी कार्यविधि संहिता ऐन र सञ्चार कानूनमा यस कुरालाई अझ वढी महत्वका साथ व्यवस्था गरिएको छ । कानूनी प्रक्रियामा महत्वका साथ लागु हुने यी तथ्यहरु राज्यको चौथो अङ्ग मानिने सञ्चार माध्यम र सामाजिक अगुवा कहलिएका वौद्धिक वर्गले मनन गर्नु पर्दैन ? के नेपालका शिक्षकहरु प्राकृतिक न्यायका लागि लायक छैनन ?

वर्तमान नेपाली समाजका हरेक व्यख्या विश्लेषण अनौठा लाग्छन । समसामयिक घटनाक्रमका लागि हरेक मान्छे सचेत छन, हरेक मान्छे विद्वान छन, हरेक मान्छे विश्लेषक छन । अझ रमाइलो कुरा के भने हाम्रो वौद्धिकता यति अद्भूत छ की राम्रो कसरी पढाउने भन्ने कुरा शिक्षक वाहेक अरु सबैलाई थाहा हुन्छ, सवारी राम्रो कसरी चलाउने भन्ने कुरा ड्राइभर बाहेक अरु सबैलाई थाहा हुन्छ, नापनक्सा डिजाइन राम्रो कसरी बनाउने भन्ने कुरा इन्जिनियर बाहेक अरु सबैलाई थाहा हुन्छ, उपचार राम्रो कसरी गर्ने भन्ने कुरा डाक्टर बाहेक अरु सबैलाई थाहा हुन्छ र खेल राम्रो कसरी खेल्ने भन्ने कुरा खेलाडी बाहेक अरु सबैलाई थाहा हुन्छ ।

दूखद कुरा के छ भने अन्य निकायहरुसँग खास शक्ति निहित हुन्छ जसको कारण आमजनमानस र आमसञ्चारमा उनीहरुको आलोचना कम हुन्छ, भए पनि त्यसको प्रभाव न्युन हुन्छ । शक्तिसीमा कजोर भएकै कारण सबैभन्दा बढी आलोचना, दुष्प्रचार र अपव्याख्या शिक्षकहरुकै भैरहेको छ । शिक्षकहरुले पढाउदैनन, राजनीति मात्रै गर्छन, वालमनोविज्ञान बुझ्दैनन, वालवालिकालाई अनावस्यक दूख र सजाय मात्रै दिन्छन । वौद्धिक मानिएको वर्गमा यस्ता अलोचना वढी हुने गर्छन ।सञ्चार र सामाजिक सञ्जालका यी दुष्प्रचारहरुले वालवालिकामा आफ्ना शिक्षकहरुप्रति कस्तो धारणा सिर्जना होला ? अहिले नै हाम्रो सामाजिक सँस्कार र सभ्यता त्यो अवस्थामा पुगिसकेको छैन जहाँ कसैलाई रत्तिभर सजाय नगरी सुव्यवस्था निर्माण गर्न सकियोस् ।

राजनीतिक संयन्त्र, कर्मचारीतन्त्र, चिकित्सा, उद्योग व्यापार, सुरक्षा संयन्त्र, यातायात, प्रविधि, कृषी, मजदुरी चाहे जुनसुकै क्षेत्र होस्, सजायको व्यवस्था विना कामकाज व्यवस्थित रुपमा अघी बढ्ने सँस्कार निर्माण कतै भएको छैन । यही सँस्कार सम्वन्धित क्षेत्रका अभिभावक, वालवालिका हुदै विद्यालय भित्र पनि जाने हो । विविध सँस्कार, परिवार, पृष्ठभूमि र विविध शैक्षिक धरातलबाट आएका विद्यार्थीहरु कक्षामा हुन्छन । साधारण परिस्थितिमा उनीहरुलाई सजाय नगर्नु उत्तम तर कैलेकाहीँ सजाय गर्नैपर्ने परिस्थिति सृजना हुन्छ । तर त्यो सिमित र स्वभाविक मात्रामा हुनुपर्छ ।

अन्य कुरामा सुधारसँगै सजायमा पनि न्युनीकरण हुदै जानुपर्छ । तर अन्य कुराहरुमा सुधार नगरी आजको आजै सजाय व्यवस्था पूर्ण रुपमा बन्द गर्नुपर्छ भन्ने तर्कले सुव्यवस्था हैन झन नयाँ समस्याहरु निम्त्याउँछ । राष्ट्रिय अन्तराष्ट्रिय गैरसरकारी सँस्थाहरु नेपालमा धेरै छन । वाल अधिकार सचेतनाका नाममा तिनका प्रतिनीधिहरु विद्यालयहरुमा छिर्छन । तिनीहरुले विद्यार्थीहरुलाई शिक्षकका हरेक गतिविधिमा कडा निगरानी राख्न सिकाउछन । शिक्षकहरुका व्यवहारका वारेमा सकेजति नकारात्मक धारण जगाउछन ।

शिक्षकबाट थोरै पनि चित्त नबुझ्ने व्यवहार भए प्रतिकार गर्न, उजुरी गर्न सल्लाह दिन्छन । तर विद्यार्थीलाई मेहनत गरेर पढ्न, शिक्षकलाई आदरसत्कार गर्न सल्लाह कसैले पनि दिदैनन । कथित अधिकारकर्मीहरुका व्यवहार बाट पनि धेरै शिक्षकहरु त्रसित बनेका छन ।
राष्ट्र बिकासको पहिलो र महत्वपूर्ण आधार शिक्षा हो, विद्यालयहरु हुन । शैक्षिक स्तर मजवूद र समृद्ध भए मात्र राष्ट्र समृद्धीतिर अघि बढ्छ । तर विद्ययलयमा काम गर्ने शिक्षकहरु भने निकै दयनीय अवस्थामा छन । वर्षेनी हजारौं विद्यार्थीलाई व्यक्तित्व विकास र जीवनोपयोगी शीप सिकाइरहेका शिक्षकहरुको आफ्नै व्यत्तिगत अवस्था भने नाजुक अवस्थामा गुज्रिरहेको छ ।

अधिकृत तहको एक शिक्षक र सोही स्तरको कुनै निजामती कर्मचारी वा डाक्टर, इन्जिनियर, एनजीओकर्मीको पारिश्रमिक, सेवासुविधा र जीवनस्तर तुलना गर्नेहो भने नेपालका शिक्षकहरुको अवस्था सहजै अनुमान गर्न सकिन्छ । अहिलेका सबै पत्रकार, वुद्धिजीवि, सामिजिक अगुवा, पेशाकर्मी, अधिकारकर्मी कुनै न कुनै विद्यालयमा अध्ययन गरेरै माथि उठेका हुन । र उनीहरुका सन्तान पनि अवस्य कुनै विद्यालयमा अध्ययन गर्छन, जहाँबाट उनीहरु गुणस्तरीय शिक्षा र प्रभावकारी जीवनोपयोगी शीपको अपेक्षा गरिरहेका हुन्छन । जहाँबाट उनीहरु यस्तो अपेक्षा गर्छन त्यो सँस्थाभित्र दक्ष, उर्जावान, सुविधासम्पन्न र तनावमुक्त जनशक्ति होवस भन्नेतर्फ उनीहरु कैले सोच्छन ? अझ उदेकलाग्दो कुरा त के छ भने तिनै सामाजिक अगुवा मानिएका व्यक्तिहरुले नै समाजमा शिक्षकहरुलाई सबैभन्दा बढी अपहेलना, उपेक्षा र अपमान गरिरहेका हुन्छन ।

कुनै किसानले मेहनत गरी खेती किसानी गरेर सफलता पाएमा उसको आकर्षक ‘स्टोरी’ बनाइन्छ । कुनै उद्यमीले उद्यममा सफलता पाएमा, कुनै अधिकारकर्मीले अधिकारको लडाईमा सफलता पाएमा, कुनै सामाजिक अगुवाले देखिने गरी सामाजिक कार्य गरेमा, कुनै प्रशासकले दुईचार राम्रा कार्य गरेमा, कुनै राजनीतिक नेताले थोरै राम्रा आचरण देखाएमा, कुनै कलाकारले राम्रो कला देखाएमा, कुनै गायकले राम्रो गीत गाएमा, कुनै लेखकले राम्रो पुस्तक लेखेमा उनीहरुका आकर्शक स्टोरी बन्छन, सञ्चार माध्यममा प्रकाशन प्रशारण हुन्छन, मानसम्मान चर्चापरिचर्चा हुन्छ । तर कुनै शिक्षकले जतिसुकै राम्रो मेहनत गरेर जतिसुकै राम्रो नतिजा देखाए पनि शिक्षकको बारेमा कही केही लेखिदैन । जिल्ला र राष्ट्रिय स्तरका परिक्षाहरुमा राम्रो नतिजा ल्याउने विद्यार्थी र विद्यालयको बारेमा चर्चा चल्छ, समाचार बन्छन, विज्ञापनहरु बन्छन तर नतिजा राम्रो ल्याउन मेहनत गर्ने शिक्षकलाई कुनै मिडियाले चिन्दैन ।

अझ अतिरिक्त क्रियाकलापमा राम्रो नतिजा आउँदा त झन शिक्षकको कतै नामनिशानै जोडिदैन । तर नतिजा राम्रो नआएमा, विद्यालयमा कुनै घटना घटेमा या शिक्षकबाट कुनै सानो पनि गल्ती कमजोरी भएमा हतारहतार अतिरन्जित अपुष्ट समाचारहरु प्रकाशन प्रशारण हुन्छन, गाली वेइज्जती हुन्छ, जागिरबाट बर्खास्ती देखी ज्यान खतराको धम्कीसम्म सुनाइन्छ ।
विद्यलयमा राजनीतिकर्मीहरुलाई खेल्ने प्रशस्त ठाउँ दिएको छ राज्यव्यवस्थाले । शिक्षक नियुक्ती गर्दादेखि नै प्रभाववालाहरुले आफ्नो दल निकटका, आफ्नो इसारामा काम गर्ने र आफ्नो स्वार्थका लागि सहयोग गर्ने व्यक्तिलाई नै नियुक्त गरिन्छ । विद्यलयभित्रका गतिविधीमा पनि त्यस्तै व्यक्तिको हालीमुहाली र मानमर्यादा हुन्छ । अवसर र नेतृत्व पनि त्यस्तै व्यक्तिका हातमा पुग्छ । जसले गर्दा दक्ष, इमान्दार, आफ्नै क्षमतामा विश्वास गर्ने र आत्मसम्मानका साथ काम गर्न खोज्ने व्यक्तिहरु किनारा लाग्दै जान्छन भने मूलधारमा आएका शिक्षकहरुले कुनै न कुनै दल संगठनको सदस्यता लिनैपर्ने, पठनपाठनमा मेहनत गर्नुभन्दा बढी दल र शक्तिकेन्द्र रिझाउनमा मेहनत गर्नुपर्ने परिस्थिति सिर्जना हुन्छ ।

शिक्षहरुको व्यक्तित्व, आत्मसम्मान र क्षमतामा गिरावट आउनुको एक महत्वपूर्ण कारण यो पनि हो । भीडमा धेरै शिक्षक दक्ष इमान्दार र मेहनती पनि छन । कुनै पनि दलीय संगठनको सदस्यता नलिएका पनि छन । आफ्नै क्षमता, इमान्दारिता र आत्मसम्मानका साथ काम गर्ने सवल नेतृत्व पाएका विद्यलयले तुलनात्मक रुपमा राम्रो नतिजा दखाएको र प्रगति गरिरहेका उदाहरण पनि हाम्रै समुदायमा छन । तर यस्ता विविध आयाम र बस्तुस्थितिलाई र समाज र सञ्चारका बुद्धिजीविहरुले नजरअन्दाज गरिरहेका छन । उनीहरुले शिक्षकहरुलाई एकतर्फी रुपमा आलोचना, अवहेलना र गालीवेइज्जतीको साधन मत्र सम्झिरहेका छन् ।

राज्यको तल्लो तह, गाउँटोलमै सहजै उपलब्ध हुने, भेटघाट हुने निकाय विद्यालय र शिक्षक नै हुन । यस कारण सबै प्रकारका सामाजिक र गैरसामाजिक कार्यका लागि उनीहरु पहिलो र महत्वपूर्ण चन्दा स्रोत हुन । राजनीतिक दल, तिनका भातृ संंगठन, विद्यार्थी संगठनहरु, सामाजिक, साँस्कृतिक, धार्मिक संगठनहरु, अशक्त अपाङ्ग देखि भूमिगत गिरोह र टोलेगुण्डाहरुसम्मले चन्दाको लागि शिक्षकहरुलाई पहिलो टार्गेट बनाएका हुन्छन । हरेक हप्ता चन्दा सहयोग माग्न कोही न कोही विद्याय प्रवेश गरेको हुन्छ । आफ्नो न्युन पारिश्रमिक बाट निरन्तर चन्दा दिदा दिदा शिक्षकहरुले चरम हैरानी खेपिरहेका छन ।

देशमा शैक्षिक विकासका नाराहरु खुव सुनिन्छन । सरकारले वर्षेनी शिक्षा क्षेत्रका लागि वजेटको ठूलो अंश विनियोजन गरेको ढोङ फुक्छ । गैरसरकारी सँस्थाहरुले वर्षेनी अर्बौ रकम शिक्षाका नाममा खर्च गर्छन । तर यी सब कुराभित्र शिक्षकको बृत्तिविकास र पेशागत सुरक्षा अटाएको हुदैन । शिक्षकको शीप र क्षमता विकासका प्रभावकारी कार्यक्रमहरु केही छैनन । ज्यादै न्यून शिक्षकहरुले मात्र विरलै प्राप्त गर्ने सरकारको तालिम नाम मात्रैको हुन्छ । पर्याप्त शिक्षक दरवन्दी छैनन ।

देशभर दश हजार भन्दा बढी माध्यमिक विद्यालयका लागि विज्ञान विषयका स्थायी दरवन्दी १७५ भन्दा कम मात्रै छन भँन्ने तथ्यबाट धेरै कुरा अनुमान गर्न सकिन्छ । त्यसमा पनि समयमा आयोग खुल्दैन, समयमा नतिजा आउदैन, समयमा नियुक्ती हुदैन । शिक्षक सेवा आयोगको बाटो कुर्दाकुर्दै धेरै उर्जावान युवाहरुको उमेर ढल्किसकेको हुन्छ । कार्यरत शिक्षकहरु र शिक्षणमा जान चाहनेहरुलाई पनि कैले अनुमती पत्र, कैले सिकाइ उपलव्धी मुल्याङ्कन, कैले नतिजा मापदण्ड आदी विभिन्न वहानामा तर्साईन्छ, तनावमा राखिन्छ । अझ त्यसमा यी सामाजिक अगुवा, वुद्धिजीवी, विश्लेषक, पत्रकार, राजनीतिज्ञ, सचेत नागरिक भनिने व्यक्तिहरुले शिक्षकका मुद्दाबारे लेख्ने बोल्ने र प्रचार गर्ने अमर्यादित प्रसङ्गहरुले शिक्षकहरुलाई झनै भयभित बनाईरहेको हुन्छ ।

केही दिन अघी मात्रै लण्डनस्थीत एक सँस्थाले एक सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । वेलायतमा राष्ट्रका सबै प्रकारका जनशक्तिमध्ये शिक्षक सवैभन्दा वढी तनावमा हुने गरेको, नयाँ पुस्ता शिक्षणमा जान नचाहेको र निकट भविष्यमै देशमा शिक्षकहरुको अभाव हुन सक्ने प्रतिवेदनले जनाएको छ । प्रतिवेदनबाट सरोकारवालाहरु चिन्तित बनेका छन । हामी सहजै अनुमान गर्न सक्छौं की वेलायत जस्तो देशमा त शिक्षकहरुको अवस्था त्यो छ भने नेपालका शिक्षकहरुको अवस्था कस्तो होला ?

केही दिन अघी धनगढी स्थित एक मन्त्रालयमा अनौपचारिक कुराकानीका क्रममा अधिकृत तहका एक कर्मचारी यो पंंक्तिकारलाई आफ्नो भोगाई अनुभव सुनाउदै थिए – “दश वर्ष शिक्षणमा विताए, छाक टार्नै मुश्किल हुन्थ्यो, तर निजामती सेवामा आएको चार वर्षमै धनगढीमा घडेरी जोडें, घर बनाएँ । जीवनका उर्जावान दश वर्ष शिक्षणमा खेर फालेर पछुतो लागेको छ । आजकल शिक्षकहरुको अवस्था देखेर दया लाग्छ ।” अनुमान गरौं एक निजामती कर्मचारीलाई दश वर्ष शिक्षणमा विताएकामा पछुतो छ भने इमान्दारी पूर्वक सिंंगै जीवन शिक्षणमा विताएका व्यक्तिहरुको मनस्थिति र जीवनस्तर कस्तो होला ?

दशौं हजार शिक्षकहरु आफ्नो पेशाप्रति एक्कै पटक पछुताए भने देशको अवस्था के होला ? आज विद्यालय कलेज तहका उत्कृष्ट विद्यार्थीहरुको पेशागत लक्ष शिक्षण किन भैरहेको छैन ? भविष्यमा रोजगारीका अन्य अवसरहरु सहजै उपलब्ध हुने अवस्था आएमा क्षमतावान जनशक्ति शिक्षणमा जाने छैन, त्यो वेला समाजले दक्ष शिक्षकहरु कहाँबाट ल्याउला ? गुणस्तरीय विद्यालय शिक्षाविना राष्ट्रको भविष्य कस्तो हाेला ? आज सिङ्गै समाज शिक्षकहरुप्रति त्रसित भैरहेका समाचार लेखिरहेका अग्रज निश्पक्ष र सम्मानित मानिएका पत्रकारहरु दिनहुँ शिक्षक त्रसित भइरहेका समाचार कहिले लेख्छन् ? दिनेश खबरबाट साभार

कमेन्ट गर्नुहोस्