विद्यालय बन्द हुने अवस्थामा

भक्तपुर, साउन ८ । समुदायमा आधारित पुनःस्थापना (सीबीआर)द्वारा अपाङ्गता भएका व्यक्तिका लागि सञ्चालित विद्यालय बन्द हुने अवस्थामा पुगेको छ ।

विगत २३ वर्षदेखि सञ्चालन भइरहेको विद्यालयमा शिक्षकको दरबन्दी कटौती भएपछि बन्द हुने अवस्थामा पुगेको हो । श्रवण शक्ति नभएका तथा बहुअपाङ्गता विशेष विद्यालयमा अध्यापन गराउँदै आएका ७ जना राहत शिक्षकको दरबन्दी सरकारले काटेको छ । विद्यालयले मङ्गलबार पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएको छ ।

याे पनि पढ्नुस  क्यानाडा फेरि विद्यालय खोल्ने तयारीमा, प्रधानमन्त्री ट्रूडोद्वारा सहयोग कोष घोषणा

विद्यालयले शिक्षक शिक्षिकालाई तलबभत्ता दिन सक्ने अवस्था नरहेको पनि बताएको छ । विभिन्न चरणमा गरी तत्कालीन शिक्षा विभागले विद्यालयलाई सातवटा राहत शिक्षक दरबन्दी प्रदान गरेको थियो । शिक्षा स्थानीय तहको अधिकार क्षेत्रभित्र गएपछि गत दुई वर्षदेखि विद्यालयमा शिक्षक दरबन्दी काटिएको संस्थाका संस्थापक अध्यक्ष सूर्यभक्त प्रजापतिले जानकारी दिए ।

प्रजापतिका अनुसार साविक जिल्ला शिक्षा कार्यालय भक्तपुरले उक्त विद्यालयका शिक्षकको दरबन्दी भक्तपुर नगरपालिकामा पठाएको जवाफ दिएको छ तर भक्तपुर नगरपालिकाले भने शिक्षा कार्यालयले नगरपालिकामा शिक्षाको दरबन्दी नपठाएको जानकारी दिएको उनले बताए ।

याे पनि पढ्नुस  नयाँ शैक्षिक सत्रका लागि भर्ना अभियान शुरू

विद्यालयमा १५ जना बहिरा र ६३ जना बौद्धिक अटिजम तथा बहुअपाङ्गता भएका व्यक्ति गरी ७८ जना बालबालिकाले शिक्षा लिइरहेका छन् । प्रजापतिले भने, ‘बालबालिकाका अभिभावकले मासिक शुल्क तिरेर पढाउन सक्ने अवस्था छैन । सरकारले भने भएको शिक्षकको दरबन्दी पनि काटिदिएपछि अहिले विद्यालयको अवस्था दयनीय बन्दै गएको छ ।’

याे पनि पढ्नुस  १३ बालिकाको विद्यालय पढ्न जंगलमै वास

सीबीआरले शिक्षकको दबन्दीका लागि शिक्षा मन्त्रीदेखि सचिव, शिक्षा तथा मानव विकास स्रोत केन्द्र, जिल्ला शिक्षा समन्वय एकाइ, स्थानीय राजनीतिक दललगायतलाई आग्रह गरे पनि कसैले सुनुवाइ नगरेको बताइएको छ । विद्यालयले पाउँदै आएको शिक्षक दरबन्दीका लागि अदालत जानुपर्ने अवस्था आएको सीबीआरका संयोजक रमेशराम श्रेष्ठले बताए । गोरखापत्रदैनिकबाट

कमेन्ट गर्नुहोस्