अचम्मः सेक्स कमेडी फिल्ममा सोनाक्षी सिन्हा, सबै छक्क

मुम्बई, बलिउडकी बेग्लै पहिचान भएकी नायिका हुन सोनाक्षी सिन्हा । शत्रुघ्न सिन्हाकी छोरी सोनाक्षीले खेल्ने अधिकांश चलचित्रमा उनले सामान्य मेकअप र पहिरन लगाएको पाइन्छ ।

पारिवारिकरुपमा निकै कडा अनुशासनमा हुर्केकी सोनाक्षीले विकिनीमा समेत चलचित्र खेलेको देखिन्न ।

तर यिनै सोनाक्षी अहिले भने एउटा सेक्स कमेडीमा खेलेकी छिन् । बलिउड मात्रै होइन, सोनाक्षीका सबै प्रशसंक पनि छक्क परेका छन् ।

खानदानी शफाखाना हो चलचित्रको नाम । नेपालीमा शफाखाना भनेको आर्युवेदिक उपचार हुने औषधीपसल भन्न सकिन्छ । भारतका गल्ली गल्लीमा यौन क्षमता र यौन रोगको उपचार गर्ने भन्दै यस्ता हजारौं शफाखाना भेटिन्छन् ।

अरु बेला सेक्सका बारेमा कुरै गर्न नचाहने सोनाक्षी यो चलचित्रमा भने बेबी बेदीको भूमिकामा छिन् । बेबी बेदीलाई उनका मामाको खानदानी शफाखाना चलाउनु पर्ने जिम्मेवारी आइलाग्छ । यो शफाखानामा मानिसहरु सेक्ससम्बन्धी समस्याको उपचारका लागि जाने गर्दछन् ।

बिबिसीमा प्रकाशित आलेख अनुसार, यो चलचित्रमा काम गर्ने प्रस्ताव आउँदा सोनाक्षी आफै छक्क परेकी थिइन । “मैले सोच्थे, सेक्स जस्तो विषय भए मैले कसरी गर्नेछु, म त पारिवारिक चलचित्र मात्रै गर्दै आएकी, मेरा बुवाआमाले के सोच्लान् । तर स्क्रिप्ट पढेपछि मलाई लाग्यो, यो चलचित्र त मैले गर्नैपर्छ । यस्तो चलचित्र जसले अहिलेको समयको बयान गर्छ ।”

सोनाक्षीका अनुसार आज पनि भारतमा सेक्सको कुरा गर्नु कठिन काम हो । मानिसहरु यसबारे बोल्न चाहँदैनन ।

तर यौनका बारेमा सही जानकारी नहुँदा लाखौं मानिस समस्यामा पनि परेका छन् । त्यसैले यो विषयलाई शिक्षामा समावेश गर्नुपर्ने उनको मत छ ।

सेक्स कमेडी भएपनि सोनाक्षी भने यो चलचित्र परिवारका सदस्य सबै बसेर हेर्न सकिने दावी गर्छिन् ।
चलचित्रको निर्देशन सिल्पी दास गुप्ताले गरेका छन् ।

सोनाक्षीसँगै अनु कपुर, बरुण शर्मालगायतले पनि चलचित्रमा अभिनय गरेका छन् । चलचित्र २६ जुलाईमा रिलिज हुँदैछ ।

कमेन्ट गर्नुहोस्