गुल्मीको पहिरोमुनि सँगसँगै भेटियो चार छोराछोरी र चार आमाको शव

काठमाडौं, साउन ९ । सत्यवती गाउँपालिकामा गएको दुईवटा पहिरोमा परी मृत्यु भएकामध्ये चार आमा र तिनका चार सन्तानको शव भेटिएको छ । एकएक छोराछोरीका साथ आमाहरूको शव उद्धार टोलीले भेट्टाएको छ । यसरी दुवै गाउँका पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १२ पुगेको छ । एक अझै बेपत्ता छन् ।

मंगलबार सत्यवती गाउँपालिकाको लिम्घा र ठूलोलुम्पेकमा पहिरो गएको हो । पहिरोमा लिम्घाका निर्मला विक र उनका छोरा सञ्जुको मृत्यु भएको छ । छोरी तारा बेपत्ता छिन् । लिम्घाकै पम्फा विक र उनका छोरा हिमांशु विकको मृत्यु भएको छ । त्यस्तै, ठूलोलुम्पेकका तिलकुमारी तरामुमगर र उनका छोरा दर्शनको शव भेटिएको छ । त्यही गाउँकै माया विक र उनका छोरा बबीको पनि मृत्यु भएको छ । उद्धारमा संलग्न स्थानीय बासिन्दाका अनुसार आमा र सन्तानका शव सँगसँगै भेटिएका थिए । मृत्यु हुनेको संख्या १२ पुगेको सशस्त्र प्रहरीका डिएसपी दिनेश रायमाझीले बताए ।

पहिरोमा परी ठूलोलुम्पेककी करिश्मा तरामुमगर र धनी तरामुमगर घाइते भएका हुन् । दुवैजनालाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लगिएको छ । पहिरोको जोखिममा रहेका लिम्घा र ठूलोलुम्पेकका ६ सय परिवारले बुधबार घर छाडेका छन् । लुम्पेकका चार सय परिवारलाई घरडाँडा, अस्लेवा रामबारी, धर्मपुर मावि, ढुंगाचाल्ने, भानु प्रावि र धर्मपुर प्राविमा राखिएको सशस्त्र प्रहरीका डिएसपी दिनेश रायमाझीले बताए ।

त्यस्तै, लिम्घाका दुई सय परिवारले पनि घर छाडेका छन् । उनीहरूलाई सरस्वती माविमा राखिएको छ । वडाध्यक्ष दानबहादुर रानाका अनुसार पहिरो नै गएको गाउँका र अन्य जोखिम भएका गाउँका परिवारले घर छाडेका हुन् । उनीहरूको व्यवस्थापन गरिएको उनले बताए ।

सबै सडक बन्द हुँदा सास्ती
पहिरो प्रभावित क्षेत्र सत्यवती गाउँपालिका जोेड्ने सडक अवरुद्ध भएका छन् । जसले गर्दा राहत वितरणमा समस्या भएको गुल्मीका सिडिओ यदुनाथ पौडेलले बताए । पहिरोले सबैभन्दा बढी मानवीय क्षति भएको लिम्घा पुग्ने सडक अवरुद्ध छ । जसका कारण मंगलबार उद्धारका लागि गएका सुरक्षाकर्मी, सरकारी तथा गैरसरकारी संघसंस्था प्रतिनिधि साढे दुई घन्टा हिँडेर गाउँमा पुगेका थिए । राहत बोकेका गाडी भने शाहघाट र रुद्रवेणीमै दुई दिनदेखि रोकिएको सिडिओ पौडेलले बताए ।

सडक अवरुद्ध भएपछि पीडित परिवारलाई खानपिनको व्यवस्था गर्न समस्या भएको सत्यवतीका प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले बताए । जसले गाउँमा रहेको दाल, चामल, चाउचाउ, बिस्कुटलगायतका सामग्री सकिएकाले समस्या भएको उनले बताए । यो समाचार नयाँ पत्रिकाबाट साभार गरिएको हो ।

कमेन्ट गर्नुहोस्