विषादी परीक्षणः तरकारी र फलफूलको आयातमा कमी

काठमाडौं, साउन ९ । वीरगञ्ज भन्सार हुँदै ल्याइने तरकारी र फलफूलमा अनि भैरहवा र नेपालगञ्ज भन्सार हुँदै ताजा तरकारी आयातमा कमी आएको विवरण ती भन्सार कार्यालहरूले दिएका छन्।

विषादीका अवशेष दूर्त विश्लेषण प्रयोगशालामा जाँच गर्दा विषादीको मात्रा धेरै भेटिएका केही तरकारी र फलफूल नेपाल आउनबाट रोकिएको बताइएको छ।भारतबाट आयात हुने तरकारी र फलफूलमा विषादीको अवशेषको जाँचको विषयलाई लिएर असार महिनाको दोस्रो साता सर्वसाधारण र सांसदहरू सरकारको आलोचनामा उत्रिएका थिए। नाकाहरूमा तरकारी र फलफूलका गाडीका लाइन लागे।

पन्ध्र लाखको प्रयोगशालाबाटै विषादी जाँच सम्भव

विषादी मापन नेपालमा स्थगित, भारतमा यथावत

असर
आफ्नै निर्णयबाट सरकार पछाडि हटेपछि उक्त विषय अदालतसम्म पुगेपछि अहिले नेपालमा भित्रिने मुख्य २ प्रकारका विषादीको अवशेष जाँचको काम ७ वटा ठाँउमा भइरहेको अधिकारीहरूको भनाइ छ।

पहिला १५ गाडी जति तरकारी अनि २० गाडीसम्म फलफूल आउँथ्यो। आजकाल यसमा कमी आएको छ

मनिष महतो, सूचना अधिकारी, वीरगञ्ज भन्सार कार्यालयतर त्यसको असर तरकारी तथा फलफूलको आयातमा देखिएको छ जसका कारण तरकारीको भाउ आकाशिएको छ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी मनिष महतोले भने, पहिला १५ गाडी जति तरकारी अनि २० गाडीसम्म फलफूल आउँथ्यो। आजकाल यसमा कमी आएको छ। ८र९ गाडी मात्रै तरकारी फलफूल विषादीको अवशेष परीक्षणका लागि आउँछन्। विषादीको अवशेष जाँच पास गराउन नमुना लिएर सर्लाहीको नवलपुर पुग्नुपर्ने भएकाले पनि आयातमा कमी आएको हुनसक्ने उनको भनाइ छ।

अहिले विषादीको अवशेष जाँचपासको प्रमाणपत्र बिना भन्सार जाँच पास नहुने हुँदा भारतबाट आयात हुने तरकारी र फलफूल मूल नाका भएरै ल्याउने गरिएको छ। त्यसका कारण साना नाकाहरूबाट आयात पूर्ण रुपमा रोकिएको र विषादी जाँच हुने मूल नाकाहरूमा भने आयातमा त्यति धेरै असर नपरेको अधिकारीहरू बताउँछन्।

नेपालकै तरकारीमा विषादीको प्रयोग, जाँच क्षमता कमजोर

सर्वोच्चको आदेशपछि विषादी मापन फेरि सुरु

गुनासो
भैरहवा भन्सार नाकामा ताजा तरकारीको आयातमा केही कमी आए पनि अन्यको आयात पहिले जस्तै रहेको भैरहवा भन्सार कार्यालयका प्रमुख कमलकुमार भटराईले बताए।

परीक्षण भएर प्रमाणपत्र प्राप्त भइरहेको छ। पहिलेको ट्रेन्ड हेर्दा अहिले ताजा तरकारीको मात्रा घटेको देखिन्छ
कमलकुमार भट्टराई, प्रमुख, भैरहवा भन्सार कार्यालय
उनले भने, परीक्षण भएर प्रमाणपत्र प्राप्त भइरहेको छ। पहिलेको ट्रेन्ड हेर्दा अहिले ताजा तरकारीको मात्रा घटेको देखिन्छ । नेपालगञ्ज भन्सारबाट तरकारी र फलफूल आयातको अवस्था पनि भैरहवाको जस्तै छ। ताजा तरकारी आयातमा कमी आएको र अन्यको आयात उस्तै रहेको उक्त भन्सारले उपलब्ध गराएको तथ्याङ्कमा देखिन्छ।

मेची भन्सारबाट आयातमा केही फरक नआएको र महेन्द्रनगर भन्सारमा रोकिएको तरकारी र फलफूल आयात मंगलवारदेखि पुनः सुरु भएको बताइएको छ। विषादी जाँच पासका क्रममा आलु केरा जस्ता केही तरकारी र फलफूलमा विषादीको मात्रा भेटिएको र ती वस्तुलाई नेपाल ल्याउन रोकिएको बताइएको छ।तर त्यही निहुँमा अहिले बजारमा तरकारीको मूल्य भने निकै बढेको उपभोक्ताहरूको गुनासो छ।

छिट्टै भारतको गुणस्तर मापन निकायसँग सम्झौता गरिने त्यसपछि अधिकांश जाँच भारत नै गरेर ल्याउने र नेपालतर्फ छड्के जाँच मात्र गर्न सकिने बताइएको छ। तर त्यसका लागि नेपालतर्फको पूर्वाधार छिट्टै निर्माण गर्नुपर्ने अवस्था छ। बिबिसीबाट साभार

कमेन्ट गर्नुहोस्