किन गर्छन मानिसले आत्महत्या ? यस्तो छ कारण

झुण्डिएर, विष सेवन गरेर, उचाईबाट हाम फालेर वा कुनै माध्यमबाट आफैंलाई जानीबुझी हानी पुर्याउने र आफ्नो ज्यानै लिने नियतका सोच, योजना, अभिव्यक्ति, हाउभाउ, व्यवहार, प्रयास र मृत्यूवरण गम्भीर समस्याका रुपमा देखिएको छ ।

आत्महत्याबाट निष्प्राण भएको शरीरले विविध अनुभूति र असर छाडेर जान्छ । निकट आन्तर छन् । तिनमा आएका परिवर्तन र लक्षणहरु समयमा चिन्न नसकेकोमा ग्लानी महसुस गर्लान् । लोकलाज वा आलोचनाको डरले कोही ढाकछोप गर्नतिर लाग्लान् । कानूूनी झमेलाको कारण सम्बन्धित निकायमा उजूरी गर्नु अर्को झन्झट बन्ला ।

छिमेकीहरु कसैस‘गको कटू सम्बन्ध वा उसको जीवनमा आएको उतारचढावलाई पलायनको कारणको रुपमा लेलान् । मन, चरित्र दुर्बल भएको, हुत्तिहारा वा यस्तै शब्दले सम्बोधन गर्न कोहि पछि नपर्लान् । आत्मीय गुमाएर आक्लान्त भएको परिवारजनलाई पनि आलोचनाका छिटाहरु पर्लान् । मर्न मन लागेको कुरा गर्दा उसलाई त्यस्तो कुरै नगर्न आदेश, अनुरोध वा आरोेप लगाउनेहरु अब पराजित मनस्थितिमा पुग्छन् ।

यस्ता व्यवहार र प्रयासले ज्यान नगएको अवस्थामा पनि शारीरिक, मानसिक र सामाजिक असर उत्पन्न भएको हुन्छ । शरीरमा पर्ने असर अक्सर स्पष्ट हुन्छ । तिनमा ध्यान र उपचार पुग्छ । व्यक्ति, परिवार र सम्बन्धित मानिसहरुमा पैदा हुने भय, अनिश्चितता, पीडा, दुःख ज्यादा हुन्छ तर मनोसामाजिक पक्षको प्रायः नजरअन्दाज भएको हुन्छ ।

आत्महत्या र यसको प्रयासका यस्ता विस्मयपूर्ण परिणति वा असरहरु गम्भीर छन् र तिनको आंकलन गर्न गाहारो छ । समाजमा कुनै न कुनै रुपमा विद्यमान रहेको यो समस्या बढ्दै गएको देखिन्छ । यद्यपि यो समस्याबारे चेतनाको भने अभाव खट्किन्छ । यो एक अज्ञानता र अन्धविश्वासले जेलिएको ठूलो समस्या हो । यहाँ, आत्महत्याबारे जान्न आवश्यक तथ्यहरु औंल्याउन खोजिएको छ ।

आत्महत्याको समस्या भयावह छ ।

आत्महत्याको समस्याले धनी, गरीब, जसलाई पनि प्रभावित गर्नसक्छ । यसले समाजका हरेक वर्ग, जाति, तप्का, धर्म वा स्तरका मानिसहरुलाई सताएको देखिन्छ । किशोरकिशोरीहरु लगायत वृद्धहरुमा पनि आत्महत्याको सम्भावना कम देखिँदैन । बरु केही दशकयता यी उमेर समूहमा आत्महत्या अत्याधिक रºतारमा बढेको देखिन्छ । अक्सर यसको प्रयास महिलाले बढी गर्ने र पुरुषले यसमा बढी ज्यान गुमाउने तथ्यांक छ ।

आत्महत्याबाट पीडितप्रति उपयुक्त दृष्टि राखौं ।

यस्तो बिचार, आशय व्यक्त गर्ने वा प्रयास गर्ने ब्यक्तिलाई हेयको दृष्टिले हेर्ने, गाली गर्ने, उपदेश दिन थाल्नेदेखि कानूनी ढाँकधम्की देखाउनेसम्म गरिन्छ । ऊ भित्रको मानसिक पीडा वा रोगप्रति सचेत हुनुको सट्टा जानीनजानी अरु ब्यथा थप्ने गरिन्छ । आत्महत्याकोे पछाडि व्यक्तिको भन्दा पनि मनोरोग, सामाजिक, वातावरणीय वा अन्य कारणहरुको नै बढी हात हुनेगरेको देखिन्छ । अतः कसैलाई आरोप लगाउन अघि समस्याको सही जानकारी हुन जरुरी छ । आत्महत्या गर्नेलाई प्रोत्साहन दिन नभै यसकोे कारण बुझेर समाधानतिर लागौं भन्न खोजिएको हो ।

याे पनि पढ्नुस  यौन शोषणका आरोपी डोनाल्ड ट्रम्पका अर्बपति साथीद्वारा जेलभित्रै आत्महत्या

आत्महत्याको पछाडि धेरै तत्वहरु हुन्छन् ।

सतही रुपमा कुनै घटना वा कसैसँगको शत्रुतालाई नै उसको आत्महत्याको कारणको रुपमा अक्सर औंल्याइन्छ । यसरी औंल्याइने कुराले केहि हदसम्म भूमिका खेलेपनि आत्महत्या भनेको वास्तवमा अत्यन्त जटिल प्रक्रिया हो । यसमा जैविक, मनोवैज्ञानिक, सामाजिक, शारिरीक लगायत अन्य कैयौं परोहरुको अन्तरक्रिया हुने गर्छ । प्रतिकूल खालका जीवन परिस्थिति, हालै आइपरेका ठूला तनाव, व्यक्तिको तनाव बहन गर्ने अनुपयुक्त तरिका, परिणामबारे नसोची झडंग आवेगमा आउने, निराशावादी र समस्या निम्ट्याउने खालका प्रवृत्तिहरु (मनोसामाजिक) लगायत मूलतः व्यक्तिको मानसिक क्षमतामा ह्रास र बिचलन ल्याउने मनोरोग र नशालु पदार्थको दुव्र्यसन कारकतत्वका रुपमा देखिएका छन् ।

जाँचमा फेल भएपछि आत्महत्या गर्नुको पछाडि परीक्षा, नतिजा प्रतक्ष्य रुपमा औंल्याइएपनि अरुपनि धेरै कारक तत्वहरु अन्तरनिहित हुने गर्छन् । तिनको पहिचान र सम्बोधन आवश्यक छ, सम्भव छ, यसो नगरी यसको व्यवस्थापन हुन सक्दैन । अतः, आत्महत्यासँग नजीकबाट जोडिएर आउने यस्ता कारकतत्व र असरहरुको अध्ययन आत्महत्या र यसका प्रयासका केसको व्यवस्थापनको अभिन्न अंश हो ।

मनोरोग आत्महत्याको महत्वपूर्ण कारण हो ।

धेरै कारणहरुले मनमस्तिष्कमा स्नायु रसायनहरु, विशेष गरि सिरोटोनिन र नरएड्रिनालिनमा गडबडी आउने गर्छ । यसबाट ब्यक्तिको अनुूभूति, सोंच, भावना, व्यवहार लगायत शरीर र मन मस्तिष्कका अनेकौं कार्यहरुमा समस्या उत्पन्न हुनपुग्छ । भविष्य अन्धकार लाग्नु, बेसहारा वा बेकार लाग्नु, आत्महत्याको बिचार आउनुमा मनमस्तिष्कमा आउने यस्ता समस्याहरु उत्तरदायी हुने कुरा अध्ययनले पुष्ट्याएको छ ।

आत्महत्या र प्रयास गर्ने ९० भन्दा बढी मानिसहरुमा उदासिन मनोरोग, आत्तिने रोग, नशा वा लागू सेवन, व्यक्तित्वको गम्भीर गडबडी जस्ता कुनै न कुनै मनोरोगहरु देखिन्छन् । थोरैमा पागलपनको रोग हुन्छ । नेपालमा कतिपय आत्महत्या र यसको कोसिस गर्ने मानिसमा प्रष्टरुपमा यस्ता मनोरोग नखुटिएपनि आवेगमा आउने जस्तो मानसिक विचलन र यस्तो मनोदशा ल्याउने समस्याभित्र छिपिरहेको देखिन्छ । यी मानसिक रोगहरुमा सम्बन्धित मनोचिकित्सकको सेवा लिनु उपयुक्त हुन्छ । आजभोलि सबैजसो मनोरोगका सुरक्षित र प्रभावकारी उपचार उपलब्ध छन् । सही कारण, परिस्थिति वा रोगको पहिचान र समाधानको लागि सबैले मनोरोग र आत्महत्याप्रतिको साँघुरो नकारात्मक सोचाईबाट माथि उठ्नुपर्ने हुन्छ ।

याे पनि पढ्नुस  मध्यरातमा परपुरुषसँगको सम्बन्ध आमाजूले देखिपछि आत्महत्या

आत्महत्याका खतरासूचक लक्षणबारे सतर्क रहौं ।

उनीहरुलाई पनि ज्यानको माया हुन्छ । अरु उपाय नदेखेर मात्र अन्यौलकै मनस्थितिमा आत्महत्यातिर लागेका हुन्छन् । बहुसंख्यक (७० भन्दा बढी) मानिसहरुले आत्महत्या वा हानी गर्न अघि प्रशस्त खतरासूचक लक्षणहरु देखाउँछन् । चिकित्सकको सेवा लिने, नजीकको विश्वासपात्र वा परिवारलाई कुनै रुपमा जानकारी गराउने जस्ता हल कतिपयले आ˚ैं पनि खोजेका हुन्छन् । त्यसैले, यसका खतरासूचक लक्षणहरुप्रति सजग रहन आवश्यक हुन्छ ।

मिलाएर आत्महत्या सम्बन्धी कुराकानी गर्नुपर्छ ।

आत्महत्या वा हानीको बारेमा मिलाएर कुराकानी गर्दा त्यसको सम्भावना बढ्दैन । बिरामीभित्र गुम्सिइरहेको कुण्ठा ब्यक्त हुँदा बरु उसलाई राहत् महसूस हुने गर्छ । नसुल्झिएको समस्या सुल्झिने बाटो निस्कने गर्छ । सुन्ने व्यक्ति पनि उसलाई सहायता पुर्याउनुपर्ने कुरामा प्रष्ट हुन सकिन्छ ।तरिका पुर्याएर आत्महत्या सम्बन्धी सोधपूछ गर्दा हानी हुँदैन ।

आत्महत्या पिडाजनक कदम हो ।

आत्महत्या समस्याको पीडारहित समाधान वा सुखद् सुरुवाट होइन । बरु कतिपय तरिकाबाट आत्महत्या गर्दा अत्यन्त कष्ट हुन्छ । आत्महत्या समस्याको समाधान नभै असंख्य प्रश्नहरु अनुत्तरित अवस्थामै छाड्नु हो ।

आत्महत्याको व्यवस्थापन सम्भव छ ।

आत्महत्या र हानीको कुनैपनि खतरासुचकलाई बेवास्ता नगरौं । आत्महत्या–हानी गर्नमा प्रयोग हुने विष, डोरी, हतियार तथा खतरनाक स्थानहरु खुल्ला राख्नाले त्यसको पहुँच सरल हुन जान्छ । ब्यक्ति, समाज र राज्यस्तरमै यस्ता कुराहरुमा सतर्कता रहनुपर्छ । आत्महत्या गर्ने आवेग बढेको बेला यस्ता कुराहरु पहुँचबाट टाढा राख्न, एक्लै नछाडी साथमा रहन र एकछिन अरुले कुरा गरेर भविष्यको यथार्थपरक योजना गर्न हौसला दिनसके त्यो खतरा टरेर जान सक्छ । उसलाई परामर्शको जरुरत हुन्छ । त्यस्तो सल्लाहको लागि वरिष्ठ मनोवैज्ञानिक, साइकोथेरापिष्ट नै चाहिन्छ भन्ने छैन । अरुले पनि भावनात्मक सहारा र हौसला दिएर अन्तरक्रिया गरी सघाउन सक्छन् । परिवार र आफन्तजनको यस्तो पहुँच उसको उपचारको दिगो आधार हो ।

एकपटक कम भएको आत्महत्याको सम्भावना सधैंको लागि हट्यो भनेर ढुक्क रहनु वा सधैं नै खतरामा छ भनी सोच्नु दुवै ठीक नहोला । कतिपय बिरामी उपचारद्वारा अलि ठीक भै शारिरीक स्फुूर्ति आउन थालेपछि आत्महत्या गर्न पुग्छन् । बेलाबेला आत्महत्याको सम्भावनाको आंकलन सम्बन्धित विशेषज्ञबाट गराएर परामर्श गर्नु श्रेयस्कर हुन्छ । कारक वा प्रभावका रुपमा अन्तरनिहित मनो÷रोगको उपचार व्यवस्थापनका लागि सम्बन्धित तालिमप्राप्त स्वास्थ्यकर्मिको सेवा लिनुपर्छ ।

याे पनि पढ्नुस  ११ वर्षीय बालकले गरे घरभित्रै झुन्डिएर आत्महत्या

आत्महत्याको रोकथाम सम्भव छ ।

आत्महत्या र यसको प्रयास धेरै हदसम्म रोक्न सकिने देखिन्छ । हृदयघात भएको मानिसलाई समयमा उपचार गरेर बचाउन सकिएझैं उपयुक्त उपाय र प्रयत्नद्वारा आत्महत्याबाट पनि बचाउन सकिन्छ । कतिपय अवस्थामा भने जति नै कोसिस गर्दा पनि आत्महत्या रोक्न गाह्रो हुन्छ ।

मनोरोग र आत्महत्या सम्बन्धी अज्ञानता हटाऔं ।

मनोरोगबारे ब्याप्त धारणाहरु कति सही र गलत भनी केलाएर मात्र निर्णय लिँँदा मानसिक रोग ढाकछोप गर्ने प्रवृत्ति धेरै हदसम्म हट्छ । पहिचान र उपचार भएमा मनोरोगको कारण हुने आत्महत्या घट्ने देखिन्छ । आत्महत्याको आशय, बिचार वा प्रयत्न भएका व्यक्तिहरुलाई समाजमा हेयको दृष्टिले हेर्नुभन्दा सामाजिक जीवनकै अंगको रुपमा सहभागी गराउनुपर्छ । यसको लागि समाज र राष्ट्रले मूलरुपमा सामाजिक समन्वय, विकास, रोजगारी, अवसर, चेतना, सुरक्षा, कानूनी ब्यवस्था तथा मनोरोगको स्वास्थ्य सेवाको बिस्तार गर्ने प्रयास जारी राख्नुपर्ने हुन्छ ।

यो वर्ष २०१८ को नारा के भन्छ सुनौः

सबै मिलेर आत्महत्याको रोकथाम गरौं ।

बहुआयामिक रुपमा भयावह बन्दै गएको आत्महत्याका विविध तहमा रोकथाम गर्नका लागि हामी सबै पीडित, परिवारजन, साथीसंगी, सहकर्मी, छरछिमेक, नातागोता, समाज, राज्य र सिंगो विश्वको हातेमालो जरुरी भएको छ । आत्महत्याको समस्या प्रत्यक्ष आफैंले झेलेर पीडा र संघर्षबीच बाँचेका अनगिन्ति दाजुभाई, दिदीबहिनीहरुको अनुभव सुनौं ।

यसका खतरासूचक लक्षणहरुप्रति चनाखो रहौं ।

सबैले आफू वा अरु पीडित व्यक्तिको कसरी सहयोगी बन्ने, यसको रोकथाम र उपचारमा केकस्ता साधनश्रोत, सेवासुविधा र तौरतरीकाहरु छन् भनी सचेत रहौं । तनाव व्यवस्थापन र मानसिक रोगको उपचार व्यवस्थापन अंगालौं । दया, करुणा र सहानुभूतिपूर्ण कसैको मन नै निरासा र असमर्थ अर्को मनको आशा जगाउने माध्यम हो । यसवर्ष सन् २०१८ को आत्महत्या रोकथाम दिवसले सबैलाई आत्महत्या रोकथामको लागि एकछिन मनन् गर्न आव्हान गरेको छ ।

याद गर्नुहोस्ः आफू, आफ्नो परिवारजन, साथीसंगी वा कोहि परिचित आफन्तलाई के भइरहेको छरु केहि फरक भैरहेको भए, सम्पर्कमा जानुहोस् र कुरा गर्नुहोस् । यस्तो परिस्थितिमा के गर्न सकिन्छ, के सेवा लिन सकिन्छ, बुझ्नुहोस् । हाम्रोडाक्टरबाट

कमेन्ट गर्नुहोस्