बिहे गरेको २ महिनामैं श्रीमतिद्वारा श्रीमानविरुद्ध बलात्कारको मुद्दा

धरान, साउन ९ । दुई महिना अगाडी टेम्के मैयुङ गाउँपालिका भोजपुरकी १७ वर्षीया सुनिता थापासँग प्रेम विवाह गरेका सुनसरी धरान उपमहानगरपालिका-६ का २१ वर्षीय युवराज कार्की आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका छन्।

अन्नपूर्ण पोष्टमा प्रकाशित समाचार अनुसार, सुनिता बिहीबार श्रीमान कार्कीले जबरजस्ती करणी गरेको भन्दै इलाका प्रहरी कार्यालय धरानमा जबरजस्ती करणी गरेको किटानी दिएपछि प्रहरीले कार्कीलाई पक्राउ गरेको हो।

समाचारमा अगाडि उल्लेख छः प्रहरीले सुनिताको वीपी कोइराला स्वास्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण समेत गरेको छ। सुनिता र युवराजले गत वैशाख २७ गते मागी विवाह गरेको स्थानीय आनन्द सुवेदीले बताए।

सुनिताले युवराजले घरमा भित्राइएदेखि नै आफूविरुद्ध कुटपिट गरी जबरजस्ती करणी गरेको भन्दै स्थानीय महिलाको सहयोगमा इलाका प्रहरी कार्यालय धरानमा जबरजस्ती करणी गरेको किटानी जाहेरी दिएकी हुन्।

श्रीमानविरुद्ध मुद्धा दर्ता गरेकी उनी हाल आफन्तकोमा बस्दै आएकी छन्।इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डिराज न्यौपानेले युवराजविरुद्धको जाहेरी दर्ता गरी आवश्यक कारबाही प्रक्रिया अगाडी बढाइएको बताए।

युवराजले श्रीमतीसँगको सामान्य झगडा भएको बताउँदै स्थानीय महिलाको उक्साहटमा लागेर आफूविरुद्ध मुद्धा हाली फसाइएको गुनासो गरे।

कमेन्ट गर्नुहोस्