गाउँपालिका कार्यालयमै वडा अध्यक्षको मदिरा पसल !

बैतडी, साउन ९ । बाँयातिर नेपाली झण्डा गाडिएको छ । भवनमाथि गाउँपालिकाको साईनबोर्ड छ । एउटा कोठामा स्थानीय सरकार र अर्कोमा मदिरा पसल बेजोडले चलेको छ भन्दा पत्याउन मुश्किल पर्छ । तर, सबैलाई चकित पार्ने यो यथार्थ बैतडी जिल्लाको सिगास गाउँपालिकामा दिनानुदिन चलिरहेको छ ।

सिगास गाउँपालिका केन्द्र गर्जेमा खानेपानीको धारा छैन । सडक र बिजुली पनि पुग्न सकेको छैन । यहाँ दूध, तरकारी र फलफूल पनि पाइन्न । तर खच्चरमा ढुवानी गरेर त्यहाँ छ्यापछ्याप्ती मदिरा उपलब्ध गराइएको छ । गाउँपालिकाको यही भवनमा सिगास गाउँपालिका वडा नं. ८ का अध्यक्ष कर्णबहादुर ऐरले मदिरा पसल संचालन गरेका छन् ।

गाउँपालिका कार्यालयको प्राङगणमा रक्सीका सिसीहरू छरपस्ट देखिन्छन् । यहाँ जनप्रतिनिधि, सेवाग्राही र कर्मचारी दिउँसै मदिरा सेवन गरी लठ्ठिएको अवस्थामा भेटिने गरिएको स्थानीयको जनगुनासो छ । मदिरा पसल बन्द गर्न स्थानीयबासीले पटक पटक माग गरे पनि कुनै सुनुवाई नभएको स्थानीय युवा राजेन्द्र साउदले बताए ।

गाउँपालिकाले मदिरा नियन्त्रण र नियमन गर्न निर्देशिका जारी गरिए पनि नियन्त्रण र नियमन गर्ने निकायका जनप्रतिनिधिले नै यस्तो धन्दा गरेपछि स्थानीय दिक्क भएका छन् । कुनै पनि सार्वजनिक स्थलमा मदिरा बिक्री गर्न पाईने छैन भनेर निर्देशिकामा उल्लेख भए पनि गाउँपालिका भवनमै मदिरा पसल सञ्चालन गरेर जनप्रतिनिधिले नै निर्देशिकाको खिल्ली उडाएको स्थानीयले गुनासो गरेका छन् । ‘ठूलालाई चैन, सानालाई ऐन’ भन्ने उखान वास्तविक अर्थमा त्यहाँ चरितार्थ भएको छ ।

सार्वजनिक स्थलमा मदिरा बिक्री गरिएको प्रमाणसहित मदिरा नियन्त्रण निर्देशिका बमोजिम वडाध्यक्षको मदिरा पसललाई कारबाही गरी जरिवाना गरिएको सिगास गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले बताए ।

मदिरा पसल रहेको वडाध्यक्षकै घरमा भाडामा गाउँपालिकाको भवन लिएकाले संयोगवश एकापट्टी गाउँपालिकाको कार्यालय र अर्कोतिर मदिरा पसल भएको अधिकृत रघुनाथ अवस्थीले दाबी गरे । जरिवानासहित मदिरा पसल हटाउन वडा अध्यक्षलाई बारम्बार पत्राचार गरेको र अन्य जनप्रतिनिधिले कर्मचारीलाई साथ नदिएकाले वडा अध्यक्षले पसल बन्द गर्न आनाकानी गरेको अवस्थीले बताए । गाेरखापत्र दैनिकबाट

कमेन्ट गर्नुहोस्