विश्वकप छनोटः ९२ रनमै समेटियो मलेसिया (LIVE)

काठमाडौं, साउन १० । सिंगापुरमा जारी आईसीसी टि–२० विश्वकप एसिया क्षेत्र छनोटमा मलेसियाले सिंगापुरलाई ९३ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर ब्याटिङ गरेको मलेसियाले १८.४ ओभरमा सम्पूर्ण विकेट गुमाएर ९२ रन मात्र बनायो ।

उसका लागि मुहदत सहादतले सर्बाधिक २२, विरन्दीप सिंहले १७, शाफिक सरिफ, अमिनुद्दिन रेम्लीले १२–१२ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिङमा सिंगापुरका अम्जाद महाबब, अनान्थ कृष्णले ३–३सेलाडोरी विजयकुमारले २, जनक प्रकाश र विनोध भास्करले एकएक विकेट लिए ।

अंक तालिकामा २ अंकका साथ मलेसिया दोस्रो र ३ अंकका साथ सिंगापुर शीर्ष स्थानमा छ । यदि आज सिंगापुरले मलेसियालाई हराउनसके नेपाललाई फाइदा पुग्ने देखिन्छ । मलेसिया र नेपालको समान अंक भएपनि मलेसिया नेट रनरेटका आधारमा अगाडि छ । आज भएको पहिलो खेलमा कतारविरुद्ध कुवेत १० रनले विजयी भएको छ । प्रतियोगितामा कुवेतको यो पहिलो जीत हो । कुवेतले दिएको १९८ रनको विशाल लक्ष्य पछ्याएको कतारले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८७ रन बनायो ।

उसका लागि फैसल जाभेदले २४, इनामउल हकले २८, मुहम्मद तानबीरले १६, मोहम्मद रिजलानले १३, कमरन खानले ८ रन बनाए । यस्तै कप्तान तमूर सज्जादले नटआउट ४६ र नूउमान सरवार १३ बलमा अविजित ३४ रन बनाए । बलिङमा कुवेतका सिराज खान, जन्दु हामुदले २–२ र मोहम्मद अश्लामले एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको मौका पाएको कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १९७ रन बनायो । उसका लागि अदानन इड्रेसले ५६, कप्तान मोहम्मद काशिफले ४३, मीट भास्वारले ३५, रभिजा सद्धारुवानले २६, उश्मान वाहीदले नटआउट २८, सिराज खानले ६ रन बनाए । बलिङमा कतारका इकबाल हुसैन, नउमान सरवारले २– २, मोहम्मद नदीम र इनाम उल हकले एकएक विकेट लिए ।

यो जीतसँगै कुवेत अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । उसले ३ खेलमा एकमा हार र एक खेलमा जीत हासिल गर्दै ३ अंक जोडेको छ । एक खेल भने वर्षाका कारण अंक बाँडिएको थियो । यस्तै कतार भने तालिकाको पुछारमा गएको छ । उसले ३ खेलमा एकमा जीत र २ खेलमा हार बेहोर्दै २ अंक मात्र बटुलेको छ । कुवेतले कतारलाई हराएपछि नेपाललाई केही राहत पुगेको छ । नेपाल र कतारको समान २ अंक थियो । नेपालले तेस्रो खेलमा भोलि कुवेतको सामना गर्दैछ ।

कमेन्ट गर्नुहोस्