अस्पतालमा सुत्केरीको मृत्युपछि तनाव, ८ जना घाइते

काठमाडौँ, साउन १० । पोखराको एउटा अस्पतालमा उपचारका क्रममा सुत्केरीको मृत्यु भएपछि सुरु भएको तनावमा प्रहरीले हस्तक्षेप गर्दा ८ जना घाइते भएका छन् ।

अन्नपूर्ण गाउँपालिका ७ लान्द्रुककी ३३ वर्षीय निशाकुमारी थापालाई सुत्केरी व्यथाले च्यापेपछि पोखराको पृथ्वीचोकस्थित पश्चिमाञ्चल सामुदायिक बिहिबार बिहान ८ बजेतिर अस्पतालमा भर्ना गरिएको थियो ।

थापाले बिहीबार साँझ ७ बजेर ४५ मिनेट जाँदा उनले नरमल डेलीभरीबाट ४ केजीको छोरा जन्माएकी थिइन् । बच्चा जन्मिसकेपछि रक्तश्रावको समस्या आएको र त्यसको कारणले नै उनको ज्यान गएको उनका भाइ बसन्त थापा मगरले सुनाए।

थापाको मृत्यु भएपछि परिवारजनले उपचारमा संलग्न चिकित्सकहरूको लापरवाहीले उनको ज्यान गएको भन्दै अस्पताल परिसरमा नाराबाजी गएका थिए ।

दोषीलाई कारवाहीको माग राख्दै आक्रोशित भएका आफन्त र प्रहरीबीच झडप हुँदा ८ जना घाइते भएका छन् । झडपमा मृतकका आफन्त ३ जना र प्रहरीतर्फ ५ जना गरी ८ जना घाइते भएको प्रहरीले जनाएको छ।

थापाको रक्तश्राव नरोकिएपछि चिकित्सकले राति सवा १२ बजेतिर रक्तश्राव रोक्न पाठेघरको अप्रसन गरेको मृतकका आफन्त हरिबहादुर थापाले बताए ।

मृतकका भाइ वसन्त थापाले अप्रेसनका क्रममा ४ पोका रगत उपलब्ध गराएको बताएका छन् । सवा २ बजे अप्रेसन सकिएको र बिरामीको अवस्था क्रिटिकल रहेको चिकित्सकले जानकारी दिएको पनि उनले बताए । तर, शुक्रबार बिहान ५ बजेतिर सुत्केरीको मृत्यु भएको चिकित्सकले नै खबर गरे।

अस्पताल प्रशासनले नर्मल डेलिभरी भएपनि बिरामीको समयमै उपचार सुरु गरेको जनाएको छ । उपचारमा कुनै कमी नभएको अस्पताल प्रशासनको दावी छ ।

कमेन्ट गर्नुहोस्