कविकुञ्जमा गुठीको दाबी

काठमाडौं, साउन ११ । महाकवि लक्ष्मीप्रसाद देवकोटाले अधिकांश जीवन व्यतित गर्नुभएको मैतिफाँट (मैतिदेवी) स्थित मागडोल कविकुञ्जलाई सङ्ग्रहालय बनाउँदा निर्धारण गरिएको मुआब्जामा गुठी संस्थानले तीन भागमध्ये दुई भाग दाबी गर्ने भएको छ ।

साविक वडा नं ३३ (हाल ३०) को १२ आना १ दाम जग्गासहितको कविकुञ्जलाई मुआब्जा निर्धारण समितिले एक मुष्ट पाँच करोड १२ लाख रुपियाँ मूल्य निर्धारण गरिसकेको छ । काठमाडौं महानगरपालिका वडा नं ३० का अध्यक्ष दलबहादुर कार्कीका अनुसार वडा कार्यालयबाट प्रतिआना ३८ लाख रुपियाँ पर्छ भन्ने सर्जिमिन गरी घरजग्गा मूल्याङ्कन सिफारिस गरिएको हो ।

समितिको छलफलमा सहभागी गुठी संस्थान काठमाडौं शाखा प्रमुख बैकुण्ठ रेग्मीका अनुसार, मन्त्रिपरिषद्ले मोहीलाई सन्तुष्ट गरेर मात्र जग्गा अधिग्रहण गर्नु भनेअनुसार मुआब्जा निर्धारण भएको छ । जग्गा धनी पशुपतिनाथ महास्नान गुठी रहेको यो जग्ग्गाको पूर्जाका मोही महलामा स्व. देवकोटाका छोरा पद्मप्रसाद देवकोटा र दीपक देवकोटाका नाम हाल कायम छ ।

साविकमा छोरी मीरा देवकोटाका नाममा मोही जनिए पनि उनको निधनपछि भने मोही नामसारी देवकोटाका दुई छोरामा सरेको हो । शाखा प्रमुख रेग्मी भन्छन्, ‘‘गुठी संस्थान ऐन २०३३ ले मोहीलाई एक भाग र जग्गा धनीलाई दुई भाग मुआब्जा दिनुपर्छ, यो राजगुठीअन्तर्गत पशुपतिनाथ महास्नान गुठी जग्गाधनी जनिएको घरजग्गा हो । संस्थानले आफ्नो भाग दाबी गरेको छ । नेपाल सरकारले देवकोटाको ११०औं जयन्तीका अवसरमा कविकुञ्जको घरजग्गा अधिग्रहण गरेर सङ्ग्रहालय बनाउने निर्णय गरेको थियो ।

संस्कृति पर्यटन एवं नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता एवं सहसचिव घनश्याम उपाध्यायका अनुसार, नेपाल प्रज्ञा प्रतिष्ठानको सिफारिस अनुसार नेपाल सरकारले नै कविकुञ्ज भवन निर्माण गर्ने छ ।

कविकुञ्ज बाहिरबाट हेर्दा राम्रो देखिए पनि भूकम्पका कारण भित्री भाग भने जर्जर छ । देवकोटाको कोठामा उनले प्रयोग गरेका बेतका कुर्सी, भित्ते दराज र श्रीमती मनदेवीसँग खिचिएका तस्बिर मात्रै छन् । कविकुञ्ज भवनको मूल प्रवेश बाटोको नाम शास्त्री मार्ग हो । ।

देवपत्तनमा कविप्रसाद गौतमको आश्रम कविकुञ्जसँग नाम मिले पनि यसको लोकप्रियता अहिले पनि उत्तिकै छ । नेपाल प्रज्ञा प्रतिष्ठानको एक विभागको रूपमा रहने गरी कविकुञ्जको व्यवस्थापन हुने बताइएको छ । गोरखापत्र दैनिकबाट साभार

कमेन्ट गर्नुहोस्