धनगढीमा कपडा बैंक सञ्चालन

कैलाली, साउन ११ । धनगढी उपमहानगरपालिका–४ शिवपुरी धाममा कपडा बैंक सञ्चालन हुने भएको छ । धनगढीका व्यवसायी गोपाल हमाल, श्याम हमाल र देवेन्द्र हमालको १५ लाख लगानीमा कपडा बैंक सञ्चालन गरिने भएको हो । मंसिरदेखि बैंकको भवन निर्माण सुरु भएकोमा अहिले सम्पन्न भईसकेको छ भने भोलिदेखि लगाउन मिल्ने पुराना कपडा, शिरक, डसना, तन्ना, जुत्ताचप्पल, भाडा लगायतका मानव जीवनमा प्रयोगमा आउने सामान संकलन गर्न सुरु गरिने भएको हो । अनाथ तथा गरिब व्यक्तिले त्यस्ता कपडा सित्तैमा लैजान पाउनेछन् ।

आइतबारदेखि कपडा संकलन सुरु गरिने र केही दिनपछि औपचारिक उद्धघाटन गर्दै कपडा वितरण गरिने कपडा बैंक सञ्चालक मध्येका एक गोपाल हमालले बताए । जो कोहीले पनि कपडा लगायतका सामान ल्याएर दिनसक्ने भएकाल बैंकले असहाय, असक्त तथा आर्थिक अवस्था न्यून भएका व्यक्तिहरूलाई मौसम अनुसार कपडा उपलब्ध गराउन मद्दत पुग्ने उनले दाबी गरे।

‘एउटै लुगा वर्षौंसम्म वा धेरै पटक नलगाउने सहरमा धेरै मान्छे छन्, नच्यातिएका र लगाउन मिल्ने लुगा त्यस्तै फालिएका हुन्छन्,’ हमालले भने, ‘हामीले त्यसैलाई व्यवस्थापन गरेर असहाय, असक्त तथा आर्थिक अवस्था न्यून भएका व्यक्तिहरूलाई वितरण गर्ने सोच बनाएका हौं ।’ बाढी, पहिरो, आगलागि पीडितलाई पनि यस्तो सहयोग प्रभावकारी हुने उनको धारणा छ । स्वयसेवी कार्य भएकाले बैंकको बारेमा सवै नगरवासीलाई प्रचार–पसार गरिदिन समेत हमालले अपिल गरेका छन् ।

कमेन्ट गर्नुहोस्