तरकारीको मूल्य आकाशियो, दुई सय प्रतिशतसम्म मूल्यवृद्धि

काठमाडौं, साउन १२ । केही दिनपहिलेको वर्षाले क्षति पुर्याएको बहानामा व्यापारीले तरकारीको मूल्य आफूखुसी बढाएका छन् । मूल्य अस्वाभाविक रूपमा वृद्धि भएपछि उपभोक्तालाई भान्सा चलाउनै कठिन भएको छ । दुई साताका बीचमा तरकारीको मूल्य दोब्बरले वृद्धि हुँदा पनि नियमनकारी निकायले बजारमा हस्तक्षेप गरेको छैन ।

हरियो तरकारीको बजार मूल्य प्रतिकेजी १ सय २० देखि १ सय ५० रुपैयाँसम्म पुगेपछि सर्वसाधारणले हरियो तरकारी र सागपात खानै छाडेका छन् ।गोलभेंडाको बजार मूल्य प्रतिकेजी १ सय ३० रुपैयाँसम्म पुगेको छ । गत वर्ष प्रतिकेजी ३० देखि ४० रुपैयाँ सम्म पर्ने हरियो तरकारीको यसवर्ष दोब्बर मूल्यवृद्धि भएर प्रतिकेजी १ सय ५० रुपैयाँसम्म पुगेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार पछिल्लो समय सबैभन्दा धेरै मौसमी हरियो तरकारीको मूल्य वृद्धि भएको छ । घिउ सिमी, बोडी, लौका, तितेकरेला, परबल, घिरौला, हरियो फर्सी, इस्कुस, गोलभेंडालगायतका मौसमी तरकारीको मूल्य अकासिएको छ ।

गत आर्थिक वर्षको ११ साउनमा कालीमाटीमा गोलभेंडाको प्रतिकेजी न्यूनतम मूल्य ४० रुपैयाँ थियो । चालू आर्थिक वर्षको सोही अवधिमा गोलभेंडाको मूल्य न्यूनतम १ सय रुपैयाँ र अधिकतम मूल्य १ सय १० रुपैयाँ पुुगेको समितिले जनाएको छ ।

कालीमाटी बजारभन्दा अन्य ठाउँमा सोही गोलभेंडाको मूल्य प्रतिकेजी १ सय ५० रुपैयाँसम्म पर्ने गरेको उपभोक्ता बताउँछन् । यसैगरी, गत वर्ष घिरौलाको न्यूनतम मूल्य ६० रुपैयाँ थियो । चालू आर्थिक वर्षको सोही अवधिमा घिरौलाको प्रतिकिलो मूल्य १ सय २० रुपैयाँ पुगेको छ । यो गत वर्षको तुलनामा दोब्बरले वृद्धि भएको हो ।

कमेन्ट गर्नुहोस्