आज नेपाल–भारत पारवहन सहजीकरण सम्मेलन

काठमाडौं, साउन १२ । नेपाल–भारत पारवहन सहजीकरण सम्मेलन आइतबारदेखि काठमाडौंमा हुने भएको छ । दुईदिने सम्मेलनको तयारी पूरा भएको जनाइएको छ । सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ । सम्मेलनमा दुवै देशका व्यापार तथा वाणिज्य क्षेत्रका विज्ञ, सरकारी पदाधिकारीबाट पारवहन, आयात निर्यातलगायतका विषयमा कार्यपत्र प्रस्तुति तथा छलफल हुने कार्यक्रम छ ।

नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासङ्घ र मेरिटाइम गेटवे इन्डियाद्वारा संयुक्त रूपमा हुने सम्मेलनमा सहभागिताका लागि भारतका उद्योग तथा वाणिज्य मन्त्रालयका विशेष सचिव (लजिस्टिक) एन। सिभासैलामको नेतृत्वमा भारतीय टोली काठमाडौं आएको छ । सम्मेलनकै पूर्वसन्ध्यामा नेपाल उद्योग वाणिज्य महासङ्घले शनिबार एक छलफलको आयोजना गरेको छ ।

नेपाल र भारतबीचको पारवहनका विद्यमान चुनौती तथा व्यावहारिक समस्याका विषयमा भएको छलफलमा भारतका विशेष सचिव एन। सिभासैलामले नेपाल–भारत पारवहनका विषयमा प्रत्यक्ष रूपमा नेपाली उद्यमीसँग बसेर छलफल गर्ने मौका प्राप्त भएकोमा खुसी व्यक्त गर्दै स्थलगत रूपमा रहेका समस्या समाधानमा आफूले सक्दो सहयोग गर्ने विश्वास दिलाउनु भएको नेपाल उद्योग वाणिज्य महासङ्घले जनाएको छ ।

भारत–नेपालबीच व्यापारको दृष्टिकोणले मात्र नभई पारिवारिक सम्बन्धसमेत रहेकाले आपसी लाभका लागि संयुक्त रूपमा सहकार्य गर्न भारत सरकार तयार रहेकोसमेत उनले स्पष्ट पारे । छलफलमा उठेका नीतिगत, पूर्वाधार तथा स्थलगत सबै प्रकारका समस्या समाधानमा सहयोग गर्ने पनि उनले प्रतिबद्धता जनाए ।

विशेष सचिव एन। सिभासैलामलाई स्वागत गर्दै महासङ्घका अध्यक्ष भवानी राणाले भारत, नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार रहेको र अधिकांश व्यापार भारतीय भूमि भएर हुने गरेको स्थितिमा पारवहनका विषयमा देखापरेका समस्याको समाधान गरी निर्वाध व्यापार व्यवसायको वातावरण बन्नु पर्नेमा नेपाली निजी क्षेत्रको धारणा राखे ।

अध्यक्ष राणाले विशेष सचिवसँग भएको महìवपूर्ण अन्तक्र्रियाबाट पारवहन क्षेत्रमा देखिएका विद्यमान समस्याका विषयमा स्पष्ट पार्ने मौका मिलेको र समस्या समाधानमा विशेष सचिवबाट पहल हुने विश्वास प्रकट गरे ।

उक्त भेटवार्ता कार्यक्रममा भारतीय सरकारको वाणिज्य मन्त्रालयका सहसचिव अनन्त स्वरूप, नेपालस्थित भारतीय राजदूतावासका द्वितीय सचिव (वाणिज्य) कपिध्वजप्रताप सिंह, महासङ्घको कार्यकारिणी समितिका सदस्यहरू अशोककुमार तोदी, भरतराज आचार्य, प्रकाशसिंह कार्की, प्रबलजङ्ग पाण्डे, कार्गो व्यवसायमा आबद्ध उद्यमी व्यवसायी, महासङ्घका निमित्त महानिर्देशक गोपालप्रसाद तिवारीसहितको सहभागिता रहेको थियो ।

छलफलमा नेपाली उद्यमी व्यवसायीका तर्फबाट नेपालले पैठारी गरेका सामान बन्दरगाहमा जहाजबाट झार्ने, गोदाममा राख्ने, रेलका डिब्बाको अपर्याप्ततालगायतका कारण नेपाल पठाउने क्रममा विभिन्न समस्या रहेको, त्यसले अनावश्यक खर्च बढाइरहेको जनाएका थिए । त्यस्तै, गोदाममा रहेका सामान नेपाल पठाउन अनावश्यक ढिलाइ हुँदा ठूलो रकम विलम्ब शुल्कबापत तिर्नु परेको, कतिपय ठाउँमा पूर्वाधारसमेत अत्यन्त कमजोर रहेका कारण समस्या उत्पन्न भएको र यसबाट समग्रमा नेपालको व्यावसायिक लागतसमेत बढ्न गएकाले समस्या समाधानका लागि सचिव एन। सिभासैलामको ध्यानाकर्षण गराइएको महासङ्घले जनाएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा टापिएको छ ।

कमेन्ट गर्नुहोस्