ग्लोबल छनोट पुग्ने नेपालको सपना अपूरो

काठमाडौं, साउन १२ । आईसीसी टि–२० एसिया विश्वकप छनोट क्षेत्र अन्तर्गत अन्तिम खेलमा सिंगापुरसँग ८४ रनले पराजित भएसँगै ग्लोबल छनोटमा पुग्ने नेपालको सम्भावना समाप्त भएको छ । अन्तिम खेलमा सिंगापुरले दिएको १९२ रनको विशाल लक्ष्य पछ्याएको नेपालले १५ ओभरमा सम्पूर्ण विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि ज्ञानेन्द्रम मल्लले सर्बाधिक ३९ रन बनाएसँगै नेपालको लगातार विकेट पतन भयो । विनोद भण्डारी ९, रोहित कुमार पौडेल ५, शरद भेषावकर ७, कप्तान पारस खड्का १२, दीपेन्द्रसिंह ऐरी २३, सोमपाल कामी ११ रनमा आउट भए ।

बलिङमा सिंगापुरका सेलादोरे विजयकुमारले ४, विनोध भास्कर्णले २, जनक प्रकाश, अम्जाद महबूब र अनन्थ कृष्णाले एक–एक विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९१ रन बनायो । उसका लागि रोहन रंगराजनले ४९, टिम डभिडले ७७, मनप्रीत सिंहले ४२ रन बनाए । बलिङमा अविनाश बोहराले ४ र करण केसीले २ विकेट लिए ।

सिंगापुरविरुद्ध नेपालका अनुभवी स्पिनर बसन्त रेग्मीले करियरकै खराब प्रदर्शन गरे । अघिल्लो खेलमा उत्कृष्ट प्रदर्शन गरेका उनले आज भने ४ ओभरमा बिनाविकेट ५४ रन खर्चिए । त्यसक्रममा बसन्तले ३ छक्का र ५ चौका दिएका थिए । यस्तै सन्दीप लामिछानेले पनि ३ ओभरमा बिनाविकेट ३४ रन खर्चिए ।

स्पिनर महंगाबन्दा विशाल लक्ष्य
अघिल्लो खेलमा उत्कृष्ट प्रदर्शन गरेका नेपाली लेग स्पिनरले सिंगापुरविरुद्ध भने निकै खराब प्रदर्शन गरे । विश्वका चर्चित लिग खेलिसकेका सन्दीप लामिछानेले आज ३ ओभरमा बिनाविकेट ३४, बसन्त रेग्मीले ४ ओभरमा ५४ रन दिएर बिनाविकेट ५ र शरद भेषावरले ३ ओभरमा बिनाविकेट ३५ रन खर्चिए ।

आज नेपालले टस हारेर बलिङको मौका पाएको हो । नेपालले आजको खेलमा कुनै खेलाडी परिवर्तन गरेको छैन । कुवेतसँगको टोलीनै निरन्तरता उतारेको थियाे ।

नेपालको प्लेइङ ११ः पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, वसन्त रेग्मी, सोमपाल कामी, अभिनाश बोहरा, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, करण केसी, रोहितकुमार पौडेल ।

कमेन्ट गर्नुहोस्