अष्ट्रेलियामा सडक दुर्घटनामा परी २ नेपालीको मृत्यु

सिड्नी, साउन १२ । अष्ट्रेलियाको सिड्नीबाट स्नोई माउन्टेनतर्फ जाँदै गरेको कार सडक दुर्घटना हुँदा त्यसमा सवार दुईजना नेपालीको मृत्यु भएको । यस्तै घटनामा तीन जना घाइते भएका छन् ।

प्रहरीका अनुसार मृत्यु हुनेमा एक पुरुष र एक महिला रहेका छन् भने २२ वर्षीय चालक तथा १९ वर्षीय दुई यात्रुहरूको टाउकोमा चोट लागेको छ । घाइते चालक र दुई यात्रुलाई न्यूसाउथवेल्स एम्बुलेन्सका रामेडिक्सले घटनास्थलमा प्राथमिक उपचारपश्चात् नजिकैको कुमा अस्पतालमा पुर्‍याएका थिए ।

त्यहाँबाट चालक र एक यात्रुलाई थप उपचारका लागि हेलिकप्टरबाट क्यानबेरा अस्पताल लगिएको प्रहरीले जनाएको छ । घाइतेहरू खतरामुक्त रहेको र उनीहरूलाई सामानय वार्डमा सारिएको जनाइएको छ ।

दुर्घटनामा परेकामध्ये भट्टराई, देवकोटा, सुवेदी, कँडेल र भण्डारी थरका युवाहरू रहेको बताइएको छ भने पूरा विवरण प्रहरीले अझै सार्वजनिक गरेको छैन ।

दुर्घटनामा परेकाहरूसँगै अन्य १० जनाको समूह पनि हिउँ खेल्नका लागि अर्को दुईवटा कारमा गएको बताइएको छ । तीव्र गतिमा रहेको उक्त कारले सडक छोडेर पल्टिएपछि उक्त घटना भएको जनाइएको छ । सडक छोडेर एउटा रूखसँग ठोक्किएपछि पछिल्लो सिटमा रहेकी महिला केही मिटर पर हुत्तिएकी तथा गाडीले करिब १ सय ६० मिटरसम्म चिप्लिएर घस्रिएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्