ग्लोबल टि–२० लिगः गेलको टिममाथि सोमपालको विनिपेगको शानदार जीत

काठमाडौं, साउन १३ । ग्लोबल टि–२० क्यानडा लिगअन्तर्गत नेपाली क्रिकेटर सोमपाल कामीआवद्ध विनिपेग हक्सले पहिलो जीत हासिल गरेको छ । आइतबार राति क्रिस गेल कप्तान रहेको भंकाकुर नाइट्सलाई ७ विकेटले हराउँदै सोमपालको टिमले पहिलो जीत हासिल गरेको हो । गेलको नाइट्सले दिएको २०८ रनको विशाल लक्ष्य विनिपेगले १५.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।

उसका लागि जेपी डुमिनीले ५ छक्का र ७ चौकाको मद्दतमा ३८ बलमा नटआउट ७७ रनको विष्फोटक इनिङ खेले । यस्तै क्रिस लिनले ७ छक्का र ४ चौकाको मद्दतमा ३४ बलमा ७४, डिजे ब्रावोले नटआउट १७ बलमा ३६, उमर अकमलले ९ र साइमन अनवारले ४ रनको योगदान दिए । बलिङमा नाइट्सका एन्डीले फेहलक्वायो, सादबीन जफर र अलि खानले एकएक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको मौका पाएको नाइटसले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २०९ रन बनायो । उसका लागि क्रिस गेलले ४५, रस्सी भान डुड्युसनले ३९, चाडविक वाल्टोनले ३०, सोयव मलिकले २८, रिजवान सीमाले १९, टोबीस बीसीले १५ र एन्डीले फेहलक्वायोले नटआउट १६ रन बनाए । बलिङमा कप्तान रायद इमरितले ३, डिजे ब्रावो र उमैर घानीले एकएक विकेट लिए ।

सन्दीप र सोमपालले २ वटा खेल गुमाए
सन्दीप र सोमपालले टि–२० क्यानडा लिगका सुरुवातका २ खेल गुमाएका छन् । उनीहरु आइसीसी टि–२० विश्वकप एसिया छनोटका लागि सिंगापुरमा रहेकाले सुरुवातका २ खेल गुमाका हुन् ।

कमेन्ट गर्नुहोस्