विदेश पठाउने भन्दै ७० लाख ठग्नेहरु पक्राउ

विराटनगर : वैदेशिक रोजगारको नाममा ठगी धन्दा मौलाइरहेको बेला लाखौं रूपैयाँ ठगी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

वैदेशिक रोजगारमा पठाउने भन्दै रोजगारमा जानेहरूसँग पैसा लिएर ठगी गरेको आरोपमा बर्दियाको ठाकुरबाबा नगरपालिका–३ का राम थारू र सुनसरी बराहक्षेत्र नगरपालिका–६ का प्रजापति काफ्ले पक्राउ परेका हुन् ।

श्रम तथा रोजगार कार्यालय विराटनगरले पक्राउ पूर्जी जारी गरेपछि थारूलाई काठमाडौंको वानेश्वर र काफ्लेलाई उनकै निवास बरहा क्षेत्रबाट प्रहरीले पक्राउ गरी आइतबार श्रम कार्यालय उपस्थिति गराएको वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले जानकारी दिए ।

उनले पक्राउ परेका थारूले आकर्षक तलब हुने भन्दै विभिन्न देशमा पठाइदिने भन्दै धरानका दुईजना युवाबाट १७ लाख रूपैयाँ ठगी गरेको बताए ।

धरान–१५ का पिण्डेश्वरी चोकका प्रकाश तामाङ र सुरज श्रेष्ठलाई पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको खुलेको छ । पक्राउ परेका थारू एजेन्डको रूपमा काम गर्ने गरेको बताइएको छ । उनले वेरोजगार युवाहरूलाई विदेश पठाइदिने भन्दै रकम असुली गर्ने धन्दामा लागेको पीडितहरू बताउँछन् ।

काफ्लेलाई साउन ९ गते इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीले र थारूलाई पनि सोही दिन महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरी श्रम कार्यालयमा आवश्यक कारवाहीको पठाएको थियो ।

यस्तै प्रजापतिले १३ जनालाई विभिन्न देश पठाउने भन्दै ७० लाख रूपैयाँ ठगी गरेको आरोपमा पक्राउ गरेको सञ्जेलले बताए । प्रजापतिका छोरा आशिषले ग्रिसमा बसेर रोजगारको नाममा ठगी धन्दा चलाएको खुलेको उनले बताए ।

अन्नपूर्ण पाेष्टबाट

कमेन्ट गर्नुहोस्