विप्लवका ब्यूरो सदस्यसहित दर्जन नेता तथा कार्यकर्ता नेकपामा प्रवेश

काठमाडौं, साउन १३ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका ब्यूरो सदस्यसहित दर्जन जति नेता तथा कार्यकर्ता सत्तारुढ नेकपामा प्रवेश गरेका छन् । सोमबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनीहरुलाई स्वागत गरेका हुन् ।

सत्तारुढ नेकपा प्रवेश गर्नेमा विप्लवका ब्यूरो सदस्य तथा बारा जिल्लाका पूर्व सचिव रमण घिमिरे लगायतका नेता तथा कार्यकर्ता छन् । अध्यक्ष प्रचण्ड निवास खुमल्टारमा एक कार्यक्रममा बीच विप्लव परित्याग गरी रमण घिमिरे, आवास मन्सुरी, सुरेश कुमार यादव, विनोद केसी, सुवास तिवारी, राजकुमार केसी खत्री, सन्दिपकुमार कार्की र नमराज शर्मा सत्तारुढ नेकपामा प्रवेश गरेका छन् ।

विप्लव सच्चिनुको विकल्प छैनः प्रचण्ड

नेता तथा कार्यकर्तालाई नेकपामा प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले परिवर्तन चाहने सबै इमान्दार नेता तथा कार्यकर्ता एक ठाउँमा हुनुपर्ने बताए । सो अवसरमा अध्यक्ष प्रचण्डले विप्लवको पनि अन्ततः आउने ठाउँ नेकपा नै भएको भन्दै क्रान्तिकारी शक्तिहरुको एकता बिना समाजवाद सम्भव नभएको बताए ।

अध्यक्ष प्रचण्डले रहरले क्रान्ति नहुने भन्दै विप्लव सच्चिनुको विकल्प नरहेको बताएका छन् । हामीले खोजेको यो भन्दा धेरै थियो, अहिलेको देश, विश्व र शक्ति सन्तुलनले गर्दा प्राप्त उपलब्धीमा टेकेर अगाडि जाने भनेर आएको हो’, अध्यक्ष प्रचण्डले भने । प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र रहँदासम्म आफुहरु कमजोर नहुने पनि दाबी गरे ।

कार्यक्रममा नवप्रवेशी नेता रमण घिमिरेले आफुहरुले बाटो बिराएको महशुस भएपछि विप्लव समुह परित्याग गरेको बताएका थिए ।

कमेन्ट गर्नुहोस्