४ न्यायाधीशमाथि छानबिन गर्न समिति गठन

काठमाडौं, साउन १३ । न्यायपरिषद्को बैठकले उच्च अदालत र जिल्ला अदालतमा कार्यरत ४ न्यायाधीशमाथि छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अध्यक्षतामा सोमबार बसेको परिषद्को बैठकले क्षेत्राधिकारविहीन मुद्दामा अन्तरिम आदेश गरेका उच्च अदालत पोखराका ३ न्यायाधीश र काठमाडौँ जिल्ला अदालतमा कार्यरत एक न्यायाधीशमाथि छानबिन गर्न समिति गठन गरेको परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।

याे पनि पढ्नुस  उच्च अदालतका लागि १५ न्यायाधीश सिफारिस

क्षेत्राधिकारविहीन मुद्दामा अन्तरिम आदेश गरेका उच्च अदालत पोखराका न्यायाधीश जीवनहरि अधिकारी, रामचन्द्र यादव र नरबहादुर शाहीमाथि अध्ययन गर्न सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधानको नेतृत्वमा छानबिन समिति गठन गर्ने निर्णय गरेको छ । क्षेत्राधिकार नै नभएको एक निजी कम्पनीको अन्तःशुल्क विवादमा तीन न्यायाधीशलाई काजमा परिषद्का झिकाउने निर्णय गरेको छ ।

याे पनि पढ्नुस  ७ जना जिल्ला न्यायाधीशमा नियुक्त

त्यस्तै जिल्ला अदालतका न्यायाधीश अर्जुन कोइरालामाथि छानबिन गर्न परिषद्ले सर्वोच्चका न्यायाधीश तेजबहादुर केसीको नेतृत्वमा समिति गठन गरेको छ । काठमाडौं जिल्ला अदालतमा रहेका कोइरालाले ललितपुर जिल्ला अदालतमा हुँदा एक मुद्दामा गरेको निर्णय विवादमा परेको थियो ।

यस्तै बैठकले ३ मुख्य न्यायाधीशलाई सरुवा गर्ने निर्णय गरेको छ । पाटन उच्च अदालतका मुख्य न्यायाधीश कुमार चुँडाललाई उच्च अदालत सुर्खेत, सुर्खेत उच्च अदालतका मुख्य न्यायाधीश रमेश पोखरेललाई उच्च अदालत तुलसीपुर र तुलसीपुर उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीलाई उच्च अदालत पाटनको मुख्य न्यायाधीशमा सरुवा गर्ने निणय भएको हो ।बैठकले पाटन उच्च अदालतका न्यायाधीश तेजबहादुर कार्कीलाई सैनिक अदालतको अध्यक्ष तोक्नका लागि सिफारिश गर्ने निर्णय गरेको छ ।

कमेन्ट गर्नुहोस्