जनयुद्धका प्राविधिक कमरेड तेजाबको उपराष्ट्रपति भेट्ने धोको

वि.सं. २०५२ साल देखि वि.सं. २०६३ सालसम्म माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वमा जाजरकोटमा कमरेड तेजाब निकै चर्चित नाम हो । भेरी नगरपालिका–१ डौरीकाँडाका लाले कामीलाई युद्धताका यही नामले चिनिन्थे । निरक्षर तेजाबले विगत युद्ध समयमा आधुनिक हतियारका नक्सा कोर्दै पार्ट्स निर्माण गरेर नयाँ हतियार समेत बनाए ।

उनी जनयुद्धमा प्रयोग गरिने हतियार निर्माण तथा मर्मत गर्नसक्ने एक प्राविधिक थिए । घरमा बाल्यकालदेखि नै फलामको काम गर्दै आउनु भएका उनले युद्धमा हतियार निर्माण र मर्मत गरेर आफ्नो क्षमता प्रदर्शन गरे । आफू ३४ बर्षको उमेरमा भूमिगत हुँदा जनयुद्ध भर्खर शुरु भएको उनले आफ्नो अनुभव सुनाए ।

वि.सं. २०५२ सालमै भूमिगत भएसँगै २०५५ सालदेखि हतियार निर्माण गर्न थालेको उनी स्मरण गर्छन् । उनी भन्छन्, ‘भरुवा बन्दुकबाट हतियार बनाउन शुरु भयो, टुवेल्भर, थ्रि–नट–थ्रि राइफल, एसएलआर, एसएमजी, एलएमजी, जिपीएमजी, टु–ईन्च मोर्टार, रकेट लन्चर, ८१ एमएम जस्ता हतियारका विभिन्न पार्ट्सहरु आवश्यकता अनुसार निर्माण र मर्मत गर्ने काम गरिएको हो ।’ टुवेल्भर हतियारलाई नयाँ रुपमा आविष्कार गरेको उनको दाबी छ ।

माओवादी जनयुद्धको उद्गम स्थल रोल्पा, रुकुम, सल्यान, जाजरकोटमा आर्टलरी हतियारका विभिन्न पार्ट्स निर्माण गर्ने व्यक्तिहरुमा तेजाव अगुवा थिए । युद्धमोर्चामा प्रयोग गर्दा टुटफुट र भाँचिएका कयौं आधुनिक हतियारहरु आफूले निर्माण तथा मर्मत गर्ने गरेको अनुभव तेजावले सुनाए ।

वि.सं. २०६३ साल मंसिर ५ गते बृहत शान्ति सम्झौता भएपछि घर फर्किएका उनी अहिले बेकामे भएका छन् । उनले आफूलाई पार्टीबाट कुनै पनि प्रकारको सहयोग नभएको दुःखेसो पोखे । घरमा गरेको खेती किसानीबाट तेजाबको परिवारलाई बाह्रै महिना खाना–लगाउन मुस्किल पर्दै आएको छ ।

हाल आरन व्यवसायबाट आम्दानी हुन छाडेपछि जहान परिवारको लालनपालनको जोहो गर्न उहाँ कहिले कालोपहाड त कहिले भूकम्प प्रभावित क्षेत्रमा गएर काम गर्छन् ।

बेला–बेलामा सिन्धुपाल्चोक गएर कमाएको पैसाले घरका जहान परिवार पाल्ने गरेको उनको भनाई छ । ५७ बर्षीय तेजावले परिवारको खर्च धान्ने गरी कमाई गर्न नसकिएको बताए ।

विगत जनयुद्धमा लागेर ब्यवस्था परिवर्तनको लागि निकै महत्वपूर्ण योगदान गरेको दाबी गर्दै उनी भन्छन्, ‘हामीले योगदान गरेको जनयुद्धले राजनीतिक ब्यवस्था त परिवर्तन गऱ्यो तर अहिले हामी बेकामे मान्छे भएका छौं । हाम्रो अवस्था परिवर्तन भएन, अवस्था हाम्रो उही पुरानै छ ।’

आफ्नो जीवनयापनका लागि कुनै व्यवसाय गर्ने सोच बनाएका उनले तत्कालीन युद्धका सैन्य कमाण्डर तथा वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनलाई भेट्ने धोको रहेको बताए । उनले भने, ‘गाडीको भाडा र भेटाईदिने मान्छे भए पासाङ्ग सरलाई काठमाडौं गएर भलाकुसारी गर्ने ठूलो धोको रहेको छ ।’ गोरखापत्रबाट

कमेन्ट गर्नुहोस्