मनसुन सक्रिय नहुँदा किसान मार्कामा

कैलाली, साउन १४ । मनसुन सक्रिय हुन नसक्दा कैलाली र कञ्चनपुर लगायतका जिल्लाका किसाहरु मर्कामा परेका छन्। पर्याप्त सिँचाइ नभएपछि धान बाली प्रभावित भएको छ। भर्खरै रोपाइँ सकेका किसान पनि पर्याप्त पानी नभएर रोपाइँ गरिएको खेतमा चिरा पर्न थालेको गुनासो गर्न थालेका छन्।

‘अहिले सम्म पनि पानी परेको छैन’ धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बडहराका किसान ललुराम चौधरीले भने, ‘पानी नपरेपछि लगाएको खेती पनि सुक्दै गएको छ। खेतमा चिरा पर्न थालेको छ।’ सिँचाइको असुबिधासँगै समयमा पानी नपरेपछि उत्पादन घट्नेमा किसानहरू चिन्तित छन्। ‘पानी परेपछि ढिलो रोपाइ गरियो’ धनगढी उपमहानगरपालिका वडा नम्बर २ का भीम बहादुर कार्कीले भने, ‘रोपाइ पछि पनि पानी परेको छैन, यो वर्ष त उत्पादन घट्ला भन्ने पीर छ।’

जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित फिल्ड कार्यालयले यस वर्ष आजसम्म कैलाली र कञ्चनपुरमा मनसुन वर्षा सक्रिय हुन नसकेको जनाएको छ। ‘यसपालिको वर्षायाममा गएको असार २६ गते सबैभन्दा बढी ८१ दशमलव ९ मिलिमिटर वर्षाको मापन गरिएको थियो’, कार्यालयका मौसम विज्ञान सहायक सिङ्गल चौधरीले भने–‘त्यस यता ठुलो वर्षा हुन सकेको छैन।’ पश्चिमी वायुको प्रभावका कारण जिल्लामा मनसुन सक्रिय हुन नसकेको बताइएको छ।

नेपालमा जुन १० देखि सेप्टेम्बर २३ गतेसम्म मनसुन वर्षा हुने गर्छ। सुदूरपश्चिम प्रदेशमा १ लाख ८१ हजार हेक्टरमा धान खेती गरिने गरिएको छ। जसमध्ये ५० प्रतिशत क्षेत्रमा मात्रै सिँचाइको सुविधा रहेको छ। सिँचाइको सुविधा नभएको क्षेत्रका किसानहरू आकासे पानीको भर पर्न बाध्य छन्।

देशका अन्य भेगमा ठुलो मनसुन वर्षा हुँदा पनि कैलाली कञ्चनपुरमा पर्याप्त वर्षा हुन नसकेपछि किसाहरुलाई समस्या परेको हो। समयमा पानी नपरेपछि यस वर्ष उत्पादनमा पनि कमी आउने सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ। ‘यस वर्ष धान खेतीलाई पुग्नेगरि पानी परेको छैन कृषि महाशाखाका प्रमुख यज्ञराज जोशीले भने, ‘पर्याप्त सिँचाइ नहुँदा उत्पादनमा कमी आउने आशङ्का गरेका छौँ।’

कमेन्ट गर्नुहोस्