Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

प्रधानमन्त्री ओली भने, ‘यो सरकारले बालुवाटारको जग्गा छानबिन गरेको हो, हडपेको होइन’

काठमाडौं, साउन १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित ललिता निवासको जग्गा यही सरकारले छानबिन गरेको तर मान्छेहरू यही सरकारले हडपेको जस्तो गरेर कराइरहेको टिप्पणी गरेका छन् ।

मंगलवार राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री चित्र बहादुर केसी नेतृत्वको प्रतिनिधिमण्डलसँग आज कुरा गर्दै प्रधानमन्त्री ओलीले अहिले भ्रष्टाचारीहरू धमाधम पक्राउ परिरहेको बताए ।

‘ललिता निवासको जग्गा पनि वर्तमान सरकारले छानबिन थालेको हो । तर यही सरकारले जग्गा हडपेको जस्तो गरी मान्छेहरु कराइरहेका छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘यो भन्दा अघिका सरकारहरू के हेरेर बसेका थिए । त्यती बेला सरकारमा बसेका मान्छे नै अहिले ठुला ठुला कुरा गर्छन् ।’

‘सरकारले भ्रष्टाचार गर्नेलाई अहिले धमाधम पक्राउ गरिरहेको छ,’ ओलीले भने, ‘अहिले भ्रष्टाचार बढेको होइन गिरफ्तारी बढेको हो । भ्रष्टाचारमा संलग्नलाई सानो ठूलो भनेर हेरिँदैन । सबैलाई कारवाही हुन्छ ।’

प्रधानमन्त्री ओलीले सरकारी जग्गा अतिक्रमण गर्नेलाई पनि सरकारले नछोड्ने बताए । विभिन्न ठाउँमा अतिक्रमण भएका र भू– माफियाले कब्जा गरेका सरकारी जग्गाहरु पनि सरकारले विधि पुर्‍याएर फिर्ता लिने प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रतिनिधि मण्डलले बाग्लुङको गल्कोटमा इलाका प्रसाशन कार्यलय स्थापना गर्न प्रधानमन्त्री ओलीसमक्ष माग गर्दै एक ज्ञापन पत्र पनि बुझाएको छ । ज्ञापन पत्र बुझेपछि प्रधानमन्त्री ओलीले जनतालाई सहज रुपमा सेवा दिने आफ्नो नीति भएकोले ईलाका प्रसाशन कार्यलय स्थापना गर्न आफू सकारात्मक रहेको बताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: