गर्मी मौसममा पेट दुख्ने समस्याः कारण र उपचार

जाडो मौसमको तुलनामा गर्मी मौसममा अन्य विभिन्न रोगजस्तै पेटका बिरामी पनि बढ्ने गर्छन् । गर्मी मौसममा मानिसको रोग प्रतिरोधात्मक क्षमता पनि कमजोर हुने गर्छ । चिकित्सकहरुका अनुसार गर्मी मौसममा ब्याक्टेरिया र भाइरसको वृद्धि तीव्ररुपमा हुन्छ । यसकारण भाइरस यसरी नै बढी फैलिन्छ । पेटसम्बन्धी रोगको एउटा मुख्य कारण भाइरस र ब्याक्टेरिया हो ।

पाचन प्रणाली, पेट, आहारनलीसँग सम्बन्धित रोगलाई ग्यास्ट्रोइन्टेस्टाइनल रोग भनिन्छ । यसअन्तर्गत, वाकवाक लाग्ने, पेट पोल्ने, कब्जियत हुने, ग्यास बढ्ने, पेट दुख्ने, इरिटेबल वावेल सिन्ड्रोम हुनेलगायतका समस्या हुन्छन् । ग्यास्ट्रोइन्टेस्टाइनलको समस्या सामान्य पेट दुखाइबाट शुरु हुन्छ । बिस्तारै लगातार उल्टी हुने, भोक नलाग्ने, पेट गह्रौँ हुने, ग्यास बढेर आउने आदि हुन्छ । यो रोग जुनसुकै उमेरका मानिसलाई पनि हुनसक्छ । तर गर्मी मौसममा पेट सम्बन्धि रोगले बालबालिका र बँढाबँढीलाई बढी सताउने गर्छ ।

गर्मीमा पेटको समस्याबाट बच्ने उपायः–

भाइरस र ब्याक्टेरिया खाना, पानी, फोहोरको माध्यमबाट मानिसमा सर्ने र ग्यास्ट्रोइन्टेस्टाइनल समस्या गराउने भएकाले यसमा विशेष सावधानी अपनाउन अत्यावश्यक छ । मानिसले खानपानमा सावधानी नअपनाए छिटो–छिटो रोगको सिकार हुनुपर्ने स्थिति आउँछ । यसकारण पेटसम्बन्धी समस्याबाट बच्नका लागि व्यक्ति स्वयं सतर्क हुनपर्छ ।

पेटसम्बन्धी समस्याबाट बच्नको लागि विशेषज्ञका निम्नलिखित सुझाव ग्रहण गर्नु आवश्यक छ ।

–खाना र पिउने पानी सधैँ छोपेर राख्ने, बाहिर खाना खानुपर्ने अवस्थामा खाना नछोपेको छ भने नखाने ।

–राति तरकारी वा फल काटेर फ्रिजमा राखी बिहान नखाने । यसका साथै साँझमा मुछेको पिठो भोलिपल्ट प्रयोग नगर्ने ।

–चार–पाँच घन्टाअघि बनाएको वा पाकेको खाना खाँदा पेटसम्बन्धी समस्या आउन सक्छ त्यसकारण तत्कालै पकाएको खाने ।

– दैनिक तीन–चार लिटर पानी पिउने । शारीरिक श्रम बढी गर्ने र घाममा काम गर्नेले दैनिक पाँच लिटरसम्म पानी पिउने गर्नुपर्छ ।

– घाम लागेको बेला बाहिर जानका लागि टाउको ढाकेर मात्र निस्कने । यसका लागि टोपी, छाता, कपडा आदिको प्रयोग गर्न सकिन्छ ।

– बाहिर खुला ठाउँमा राखिएका सर्वत, उखुको जुस, बेल वा आँपको जुस, मिल्क सेक, सोडा वा चिसो पेयपदार्थ आदि नपिउने ।

– धेरै तेल, मसला प्रयोग भएका र जीउमा गर्मी पैदा गर्ने किसिमका खाना नखाने ।

– खानामा प्रायः दही, मही, ताजा फलको रस, कागती–पानी, ग्रीन टि आदि तरल खाद्यवस्तु खाने ।

– मौसमअनुसारका फल, तरकारी, आँप, खरबुजा, मेवा, काँक्रो, गाजर, लौका, रामतोरिया आदिमा जोड दिने ।

कमेन्ट गर्नुहोस्