को हुन् नवनियुक्त पर्यटनमन्त्री भट्टराई? (जीवनी)

काठमाडौं, साउन १५ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई ताप्लेजुङका नेता हुन् । ताप्लेजुङको एउटा दुर्गम गाउँमा जन्मिएका भट्टराई नेकपाभित्र जुझारु, इमान्दार नेता हुन् । उनको जन्म २०२३ भदौ २१ गते ताप्लेजुङको साँघु मैवाखोला गाउँपालिका–३० मा भएको थियो ।

आमा महेन्द्रादेवी र बुबा स्व. भीमलालका कान्छा छोरा योगेशका तीन दिदी, एक दाजु र एक बहिनी छन् । दुुई वर्षको हुँदै नै बाबु वियोगको पीडा खेपेका योगेशमा आफ्ना बाबुको समाजसेवी कामको अमिट छाप परेको थियो ।

बाल्यकालदेखि नै विद्रोही स्वभावका उनी पञ्चायती व्यवस्थाविरुद्ध २०३७ चैत १४ मा पहिलोपटक अनेरास्ववियुले हामहडतालमा सरिक भएपछि राजनीतिक रुपमा वामपन्थी आन्दोलनमा उत्रिए । यो हड्ताल नेपालकै पहिलो ऐतिहासिक हड्ताल थियो । जुन सफल पार्न उनले सक्रिय योगदान गरेका थिए ।

याे पनि पढ्नुस  नेकपामा आएको ज्वरो मत्थर भयो, कुनै हालतमा पार्टी फुट्दैन : मन्त्री भट्टराई

एसएलसीपछि उच्च शिक्षाका लागि २०४० सालमा राजधानीको ताहाचलस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसमा भर्ना भएका योगेशले पञ्चायती व्यवस्थाविरोधी आन्दोलनमा सहभागी भएका थिए ।

यस क्रममा उनी १८ वर्षमैँ जेलमा थुनिन पुगे । २०४१ सालमा महेन्द्ररत्न क्याम्पसको स्ववियु निर्वाचनमा उपसभापति र २०४३ सालमा सभापति पदमा अत्यधिक मतले विजयी भएका योगेशले पञ्चायती व्यवस्था विरुद्ध आन्दोलन गर्दा पटक पटक जेलमा पुग्नुपर्यो ।

याे पनि पढ्नुस  पोखरा विमानस्थलको काम ६ महिना अगाडि नै सकिने

जेल बसाइका बेला झापा संघर्षका चर्चित अगुवाहरू वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, आरके मैनाली, मोहनचन्द्र अधिकारीलगायत राजनीतिक बन्दीहरूसँग नजिकबाट अन्तर्क्रिया गर्ने अवसर पाएका योगेशले अनेरास्ववियुको काठमाडौं जिल्ला कमिटीको सदस्य तथा बाग्मती अञ्चल कमिटीको सचिवको जिम्मेवारी संगै आफ्नो पढाइलाई पनि निरन्तरता दिए ।

त्यहीबीचमा त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्ररमानवशास्त्रमा स्नातकोत्तर गरे । जनआन्दोलनका जुझारु नेता योगेश २०४६ सालको जनआन्दोलनमा सक्रिय रूपमा सहभागी भए। योगेशले २०५१ सालमा ताप्लेजुङ ढुंगेसाँघु निवासी विन्दा घिमिरेसँग विवाह गरे ।

२०४६ सालदेखि अनेरास्ववियुको केन्द्रीय कमिटीमा काम गरेका योगेश संगठनको कार्यालय सचिव, प्रचार विभाग प्रमुख, सचिव र महासचिव हुँदै २०५१ देखि २०५६ सालसम्म अध्यक्ष भएका थिए ।

याे पनि पढ्नुस  मन्त्री योगेश भट्टराईलाई सफलताः एयरलाइन्सले दिन थाल्यो ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट

२०६५ फागुनमा बुटवलमा सम्पन्न नेकपा (एमाले) को आठौं महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित उनी पार्टीको नवौं महाधिवेशनबाट पार्टीको सचिव पदमा निर्वाचित भए । हाल उनी नेकपाको स्थायी कमिटी सदस्य छन् ।

उनले भारत, चीन, अमेरिका,रसिया क्युबा, दक्षिण अफ्रिका, बेल्जियम, पोर्चुगल, जर्मनी, लक्जम्बर्ग, फ्रान्स, बेलायत, जापान, कोरिया, मलेसिया, सिंगापुर, न्युजिल्यान्ड, स्विजरल्यान्ड, चेक रिपब्लिक, अस्ट्रिया, रुस, ब्राजिल, कतार, साउदी अरब, दुबई, बहराइन, साइप्रसलगायत देशको भ्रमण गरेका छन् ।

कमेन्ट गर्नुहोस्